नेकपा पोलिटब्यूरो सदस्यको नाम तयार

नेकपा पोलिटब्यूरो सदस्यको नाम तयार

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७६

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आठ जनवर्गीय संगठनको नेतृत्व बाँडफाँड टुंगो लागेको छ । साबिक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने गरी नेतृत्व टुंगो लागेको हो । जनसंगठनको नेतृत्व बाँडफाँडमा सहमति जुटे पनि संयोजक र सहसंयोजकको मोडलमा जाने कि अध्यक्ष र सचिवको मोडलमा जाने विषयमा अन्तिम टुंगो लागेको छैन । साबिक अध्यक्षमध्येबाटै नेतृत्व बनाउने कि केही संगठनका अध्यक्षलाई बिदा गरेर नयाँ अध्यक्ष बनाउने भन्नेबारे सहमति हुन बाँकी रहेको उच्च स्रोतले जनायो । 

पूर्वएमालेको भागबन्डामा परेको विद्यार्थी संगठन अनेरास्ववियुमा नवीना लामा र ऐन महरमध्ये अध्यक्ष ओलीले महरको नाम अघि सारेका छन् । तर, उपाध्यक्ष रश्मि आचार्यसहित अरू पनि दाबेदार रहेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले व्यक्तिभन्दा पनि विधिमा आधारित भएर टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले युवा संगठनमा रामप्रसाद सापकोटालाई संयोजकका रूपमा अघि सारेका छन् । मजदुरमा पूर्वएमालेले विनोद श्रेष्ठ, माओवादीले महेश्वर दाहालको नाम अघि सारेको छ ।

महिला संगठनमा अध्यक्ष प्रचण्डले उर्मिला अर्यालको नाम अघि सारेपछि प्रधानमन्त्री केपी ओलीले विकल्पमा अर्को व्यक्ति अघि सार्न दबाब दिएका छन् ।इन्जिनियर, मानवअधिकार र कानुन क्षेत्रका जनसंगठनको भने यसअघि नै एकता भइसकेको छ । इन्जिनियरको जनवर्गीय संगठन संयोजकमा शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा हरि पराजुली चयन भएका छन् । श्रेष्ठ पूर्वएमाले र पराजुली पूर्वमाओवादीनिकट हुन् । त्यस्तै, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल सर्वसम्मत भएका छन् । शाही तत्कालीन एमालेनिकट हुन् भने पोखरेल माओवादीनिकट । यस्तै, नेपाल कानुन व्यवसायी संगठन संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेलको नाम सिफारिस भएको छ । नेपाल तत्कालीन एमालेनिकट र पोखरेल माओवादीनिकट हुन् ।

जनसांस्कृतिक महासंघ, मधेसी संगठन, मुस्लिम संगठन, दलित संगठन, भूतपूर्व सैनिक संगठन, खेलकुद संगठन, सुकुमबासी संगठन, उद्योग व्यवसायी संगठन, बुद्धिजीवी, कर्मचारी संगठनमा नेतृत्व टुंगिन बाँकी छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।