४ दिनदेखि अत्यधिक बढेकाे चिसोले मधेस प्रदेशकाे जनजीवन प्रभावित

४ दिनदेखि अत्यधिक बढेकाे चिसोले मधेस प्रदेशकाे जनजीवन प्रभावित

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ५, २०७८

पछिल्लो ४ दिनदेखि मधेस प्रदेशमा चिसो अत्यधिक बढेको छ । दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर तथा बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ । हुस्सु र शीतलहरले जनकपुरधामसहित मधेस प्रदेशबाट हुने हवाई सेवासमेत प्रभावित भइरहेकाे छ । चिसोको कारण ३ जनाको मृत्यु भएको छ ।

चिसोको कारण बिरामी हुनेको संख्या उच्च रहेको छ । प्रादेशिक अस्पताल जनकपुर र यहाँका निजी हस्पिटल तथा निजी क्लिनिकहरूमा बिरामी भएर आउनेको संख्या बढी देखिएको प्रदेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक केडी दासले बताए । 

उपचारका लागि चिसोका कारण स्वास प्रस्वासमा समस्या भएका, हाडजोर्नी दुख्ने, रुघा-खोकीलगायतका बिरामी बढी आउने गरेको उनले बताए । निजी क्लिनिकहरूमा चिसोले बिरामी भई आउने बालबालिकाको संख्या बढिरहेको छ । चिसोमा शारीरिक गतिविधि कम हुने भएकाले खानपिन बढी, तौल बढ्नेलगायतका कारण रक्तचाप र मधुमेह जस्ता रोगको समस्या बढी हुने उनले बताए ।

यसैबीच अत्यधिक चिसो बढेपछि जनप्रतिनिधिहरूले ठाउँठाउँमा दाउरासमेत वितरण गरेका छन् । जनकपुरधाम उपहमनगरपालिका- १ का वडा अध्यक्ष शत्रुधन साहले चिसोका कारण वडाभित्र दाउरा वितरण गरेकाे बताए । चिसो छल्न आगो ताप्ने क्रममा आधा दर्जनजति मानिस घाइते भएका मधेस प्रदेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

त्यसैगरी चिसो बढेपछि मधेस प्रदेश सरकारले गरिब र विपन्नहरूलाई कम्बल वितरण गरेको प्रदेश आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले बताए । मन्त्री साहका अनुसार प्रदेश सरकारले पहिलो चरणमा २ हजार १०० वटा कम्बल वितरण भइसकेको छ भने दोस्रो चरणका लागि खरिद भइरहेको छ ।

केही दिनअघि मधेस प्रदेश सरकारले चिसो र कोरोना भाइरसको रोकथाक तथा औषधि उपचारमा सहज प्रदान गर्न मुख्यमन्त्री लालबाबु राउतले पनि सबै सरोकारवाला निकायलाई निर्देशनसमेत दिएका थिए ।