प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ ६, २०७८

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएकोे छ । पश्चिमी वायुको प्रभावले बिहानैदेखि देशभरको आकाशमा बाक्लो तुवाँलो र हुस्सु/कुहिरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने अन्तर्राष्ट्रिय उडान नियमित संचालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंका अनुसार विशेषगरी देशको पूर्वी तराई भेगका विमानस्थलमा उडान प्रभावित भएका छन् । अहिले विराटनगर, जनकपुर र सिमरामा उडान हुन सकेको छैन ।

विमानस्थलको पछिल्लो विवरणमा नेपालगंज, भैरहवा र पोखरा विमानस्थलमा उडान सुचारु भएको छ । एयरलाइन्स कम्पनीका अनुसार प्रतिकूल मौसमले कतिपय विमानस्थल अझै खुलेका छैनन् । केही विमानस्थल ढिलो गरी खुलेकाले ३ घण्टासम्म उडान ढिलो भइरहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । उहाँका अनुसार भरतपुर विमानस्थल बिहान ११ः३५ बजे र विराटनगर विमानस्थल २ बजे मात्र खुलेको छ । खुलेका विमानस्थलमा भने नियमित उडान भइरहेको जनाइएको छ ।