भारतमा एकै दिनमा थप ३ लाख १७ हजार संक्रमित

भारतमा एकै दिनमा थप ३ लाख १७ हजार संक्रमित

एजेन्सी  |  विदेश  |  माघ ६, २०७८

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप ३ लाख १७ हजार ५३२ जना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरूको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै आइरहेको अधिकारीहरूले जनाएका छन् । गत २४ घण्टामा परीक्षण गरिएका मध्ये १६.४१ प्रतिशतलाई कोरोना पोजिटिभ देखिएको जनाइएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या १९ लाख २४ हजार ५१ रहेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २ लाख २३ हजार ९९० जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरूको संख्या ३ करोड ५८ लाख ७ हजार २९ पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.६९ प्रतिशत रहेको जनाइएको छ ।

पछिल्लो एक दिनमा ४९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या ४ लाख ८७ हजार ६९३ रहेको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ९३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५९ करोड ६७ लाखभन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ ।