डोटी, बझाङ र बाजुराको फनफनी भूस्वर्ग खप्तडको यात्रा: पाटन र झोतीको बेजोड मोहनी

डोटी, बझाङ र बाजुराको फनफनी भूस्वर्ग खप्तडको यात्रा: पाटन र झोतीको बेजोड मोहनी

डा. सदानन्द कडेल  |  दृष्टिकोण  |  माघ ७, २०७८

जागिर पाएको दोस्रो दिनमै जिन्दगीमै पहिलो पटक हवाई जहाज चढेर दिपायल पुग्दा निकै मज्जा आएको थियो । तर, डोटीको राजपुरस्थित सेती शिक्षा परियोजनाको मुख्य कार्यालयमा फिल्ड कोअर्डिनेटरका रूपमा हाजिर भएको सातौँ दिनमा नै लगातार अढाइ महिनाभन्दा बढी समयका लागि ‘फिल्ड भिजिट’ सुरु गर्दा भने मेरो अगाडि ‘चुनौती’ र ‘अवसर’का २ पहाड ठिंग उभिएजस्तो लाग्यो ।

ठ्याक्कै ३३ वर्षअघि गरिएको यात्रा हो यो । सेती परियोजनाका स्रोत केन्द्र विशेषज्ञ नवेन्द्र दहाल र एक जना भरिया दाइको साथमा मेरो यात्रा सुरु भयो । हरेक कर्मचारीले आफ्नो रुकस्याक आफैँ बोक्नुपर्ने नियम थियो । तालिमका सामग्रीहरू लैजानुपर्ने भएकाले मात्र भरियाको व्यवस्था गरिएको थियो । त्यति बेला डोटी जिल्लाको दिपायलसम्म मात्र सडक पुगेको थियो । पैदल हिँड्नु वा घोडा चढ्नुबाहेक अर्को विकल्प थिएन बझाङ, बाजुरा र अछाम जानका लागि ।

देहीमाण्डौंको उकालो चढिरहेको बेला महसुस गरेँ । स्पष्ट वक्ता, फरासिला र मिजासिला नवेन्द्र सर ठट्टा मज्जा गर्दै हिँड्न रुचाउनुहुँदो रहेछ । पहिलो भेटदेखिकै उहाँको ‘सेन्स अफ ह्युमर’ एकदम मनपरेको थियो मलाई ।  

गिरीचौकाको उकालो एकदम ठाडो भएकाले हिँड्न सकस भइरहेको थियो । ‘घुमाउरो बाटोभन्दा सिधा उकालो चढ्नुपर्छ, हिँड्न गाह्रो भए पनि प्रगति छिटो देखिन्छ’ भन्नुहुन्थ्यो उहाँ । हामीले तुम्लेटमा बोकेको पानी पनि सकियो । नजिकै कतै खानेपानीको धारो पनि थिएन । मुख सुकेर प्याकप्याक भइरहेका बेला उहाँले झोलाबाट ह्याजलनट्सवाला क्याडबरी झिकेर ढुंगामा टुसुक्क बस्दै भन्नुभयो, ‘आउनुहोस् कडेलजी, ह्याजलनट्स खाऔँ । तत्काल शक्ति दिन्छ यसले उकालो चढ्नका लागि ।’

क्याडबरी मुखमा हाल्दै मैले भनेँ, ‘असाध्यै मिठो पो छ त सर ! मैले अहिलेसम्म यस्तो खाले क्याडबरी खाएकै थिइनँ । कहाँ किन्नुभयो ?’

बिहानीको झुल्के घामको स्पर्शले हाँसेको हिमालझैँ मुस्कान दिँदै उहाँले भन्नुभयो, ‘मेरो विशेष मान्छेले विदेशबाट पठाएको विशेष खालको ह्याजलनट्स हो क्या, यो ।’ मुस्कानै काफी थियो ‘विशेष मान्छे’ को होला भनेर अनुमान गर्नका लागि ।  

पहिलो रात डोटीकै एउटा गाउँमा बितायौँ । देउराबाट अगाडि बढेपछि कालंगागाढको तीरमा अवस्थित एउटा सानो गाउँमा दोस्रो रात बास बस्यौँ । जस्तै चिसोलाई पनि छेक्ने खालको फिदरको स्लिपिङ ब्याग र म्याट्रेस हामीसँग भएकाले कुनै चिन्ता थिएन सुत्नका लागि ।  

घरभेटीले पिँढीमा फेर्‍या ओच्छ्याइदिनुभयो । ढोका नै नलगाई सबै सुतेपछि मैले घरभेटीलाई भनेँ, ‘ढोका लगाएर सुत्नुहोस् है, राति चोरी होला फेरि ।’

घरभेटी दाइले हाँस्दै उहाँको गाउँमा ढोका खुलै राखेर सुत्दा पनि चोरी नहुने जानकारी दिनुभयो । आँगनमा तामाका गाग्री तथा केही अन्य भाँडाकुँडा पनि असरल्ल थिए । ‘कस्तो रामराज्य रहेछ यो गाउँमा त !’ भनेर गम खाँदै निद्रादेवीको शरणमा पुगेँ म ।  

३ दिन लगातार हिँडेपछि बल्लबल्ल बझाङ जिल्लाको पश्चिम भागमा रहेको अठपालीस्थित महादेव माविको प्रांगणमा पुग्यौँ । प्रधानाध्यापक वीरबहादुर ठगुन्नाले न्यायो स्वागत गर्नुभयो ।

भोलिपल्टदेखि एक हप्तासम्म नवेन्द्र सर, म र ठगुन्ना सर मिलेर पुनर्ताजगी तालिम संचालन गर्‍यौँ । अठपाली स्रोत केन्द्रअन्तर्गतका मावि, निमावि र प्राविका २२ जना शिक्षकहरूको सहभागिता रहेको उक्त तालिममा महिला शिक्षकको सहभागिता विल्कुलै थिएन । महादेव माविमा २५० जना विद्यार्थीहरूमध्ये १५ जना मात्र छात्रा थिए । कक्षा ४ भन्दा माथि त केवल ३ जना छात्राहरू थिए । बालिका र शिक्षिकाको संख्या कसरी बढाउने होला ? भन्ने गम्भीर प्रश्नले मलाई सोचमग्न बनायो ।   

बिहान र बेलुका एक जना ब्राह्मण भान्सेले धोती फेरेर तालिमका सहभागीहरूलाई खाना पकाउनुहुन्थ्यो । अनिवार्य रूपमा धोती फेरेर मात्र खाना खानुपर्ने ५ जना ब्राह्मण शिक्षकहरूका लागि त्यस किसिमको व्यवस्था गरिएको थियो ।    

बुकी दह, चोयागाढ्ने हुँदै हामी ५.१० बजे झिग्राना पुग्यौँ । निकुन्जका सैनिकले हाम्रो रुकस्याक भरपर्दो किसिमले जाँच गरे । साँझ ६.३० बजेपछि त यो बाटो हिँड्न पनि नपाइने रहेछ । भरियासँग घडी थिएन । ढिला गरे भने बर्बाद हुने भयो भनेर हामीलाई तनाव भयो ।

तालिममा मैले सेसन लिने क्रममा ‘गाँठी कुरो के हो भने’ भनेको थिएँ । मेरा शब्दहरू भुइँमा खस्न नपाउँदै सबै शिक्षकहरू गलल्ल हाँस्नुभयो । ‘अन्यथा अर्थ लागेछ कि के हो !’ भन्ने सोचेर थप स्पष्ट पार्न खोज्दै ‘मेरो भनाइको आशय यसको खास कडी के हो भन्ने हो’ भनेको त झन् मरीमरी खित्का छाडेर सबै जना हाँस्न थाल्नुभयो । म अलिक असमन्जसमा परेँ ।  

‘यसको ‘मुख्य आशय’, ‘सेन्ट्रल आइडिया’ वा ‘क्रक्स अफ द म्याटर’ भन्न खोजेको हुँ मैले’ भन्दै थप स्पष्ट पार्न प्रयत्न गर्दा पनि अझै हाँसो रोकिएको थिएन । पछि प्रधानाध्यापकलाई सोधेपछि थाहा भयो- बझाङी भाषामा ‘गाँठी’ र ‘कडी’ दुवै शब्द अश्लील रहेछन् । ठगुन्ना सर पनि मज्जैले हाँस्नुभयो । मचाहिँ लाजले भुतुक्कै भएँ ।  

आठौँ दिनमा अठपालीकै बोहरा दाइलाई साथमा लिएर हामी बिजगढातिर । बिजगढा माविका प्रधानाध्यापक धनशेरबहादुर सिंहसँग एकछिन छलफल गरेर पुनः यात्रालाई अघि बढायौँ ।  

हिँडाइमा रफ्तारकै कमीले गर्दा अरूले सल्लाह दिएअनुसारको बास पाइने गन्तव्यमा हामी पुग्न सकेनौँ । फल स्वरूप रनलेकमै बास बस्नुपर्ने अवस्था आयो । खानेकुरा केही पाइने संभावना थिएन । आफ्नो भन्दा पनि भारी बोक्ने बोहरा दाइ भोकै पर्ने हुनुभयो भनेर उल्कै पिर पर्‍यो । उहाँले खानेकुरा घरबाटै ल्याउनुभएको थाहा पाएपछि हाम्रो चिन्तामा मह्लम-पट्टी त लाग्यो तर भोकले गर्दा सारंगीको तारझैँ र्‍याइँर्‍याइँ आवाज निकाल्न खोजिरहेका हाम्रा आन्द्रालाई कसरी सान्त्वना दिने भन्ने कुराले पिरोली नै रह्यो ।  

रात छिप्पिन लागिरहेको थियो । आगोको भुंग्रो भएको खुला ठाउँमा गएर ताप्दै कुटुकुटु बिस्कुट खाइरहेको देखेपछि एक जना दाइले ६ वटा काँचो आलु र एक अन्जुली भुटेको भटमास दिनुभयो । उहाँ पनि आफ्ना सामान ढुवानी गर्ने एक हुल भेडाबाख्रासँगै त्यहीँ नै बास बस्नुभएको रहेछ । भटमास खाँदै हामीले भुंग्रोमा आलु पोल्यौँ । खुब मज्जा आयो । त्यो साँझको आलु र भटमासजति मीठो अहिलेसम्म कुनै आलु र भटमास खान पाइएको छैन । यसले ‘भोजन होइन, भोक मीठो’ भन्ने भनाइलाई सही साबित गरिदिएजस्तो लाग्यो मलाई । 

भटमास, आलु र बिस्कुटको डिनरपश्चात खुला आकाशको छानोमुनि धरतीको मझेरीमा म्याट्रेस ओच्छ्याएर स्लिपिङ ब्यागभित्र पसेपछि कति बेला भुसुक्कै निदाइयो, पत्तै भएनछ । बिहान खच्चड र भेडाबाख्राको सवारी चल्न थालेपछि घन्टीको आवाजले ब्युँझाइदिएछ । त्यस्तो मीठो निद्रा त अहिलेसम्म न आफ्नो घरमा लागेको छ, न त पाँचतारे होटेलमा नै । त्यो रातको सुताइले ‘ओच्छ्यान होइन, निद्रा प्यारो’ भन्ने कुरालाई पनि पुष्टि गरिदियो ।  

डडेल्धुराबाट नुन र चामल बोकेर आएका ४०० भेडाबाख्राको बथानलाई उछिनेर हामी काँडाचउर पुग्यौँ । बाटैभरि ओइरिएका हिउँमा बसेर फोटो खिच्दा हाम्रो थकान केही कम भएजस्तै लाग्यो ।  

चुवावनमाथिको डाँडोमा पल्टिएर आराम गर्दै थियौँ । घाँस काटेर फर्किएका हातमा हिउँ बोकेका दुइटी महिलाहरूले भने, ‘हिउँ खाऊ, बिँडी देऊ’ । न हामी हिउँ खान चाहन्थ्यौँ, न त बिँडी नै थियो हामीसँग । हाँस्दैहाँस्दै ओरालो झर्यौं ।  

साँझमा चौघानपाटामा पुगेपछि अफिसकै फिल्ड कोअर्डिनेटर साथीहरू सिद्धराज लेखक र भानुभक्त जैसीसँग पहिलो पटक भेटघाट भयो मेरो । उहाँहरूले त्यहाँ तालिम चलाइरहनुभएको थियो । दुवै जना राम्रो हार्दिकता पस्किन सक्ने हुनुहुँदो रहेछ ।  

भोलिपल्ट बिहानैको सेसनमा एकछिन बसेर हामी बाटो लाग्यौँ । दिउँसो मालुमेलाको चिया पसलमा सेती परियोजनाकै साथीहरू कुसुम श्रेष्ठ र दुर्गा ओझासँग पहिलो जम्काभेट भयो । उहाँहरू अठपालीतिर जाँदै हुनुहुन्थ्यो ।    

सन्ध्यामा जवानी चढिरहेको थियो । हाम्रा पाइलाहरूले विश्राम खोजिरहेका थिए । यसै बीच एउटा छाप्रोबाट ‘सर, म यहीँ छु’ भन्ने आवाज हामीतिर हुर्रिएर आयो । उहाँ हुनुहुँदो रहेछ, खप्तड मावि कालुखेती छान्नाका प्रधानाध्यापक लोकराज लेखक । उहाँकी श्रीमती पनि शिक्षिका हुनुहुँदो रहेछ । मीठो भलाकुसारी गर्दै माछा र दहीसहितको साह्रै स्वादिष्ट भोजन गराउनुभयो उहाँहरूले ।  

भोलिपल्ट बिहान १० बजेतिर बिडागाउँमा बालबालिकाहरूले बाटोमा घडा, रुमाल, टोपी र स्याउला राखेर बाटो छेक्दै बिँडी मागे । ‘बिँडी खाने बानी राम्रो होइन’ भन्दै घडामा केही पैसा राखिदियौँ । बिडा गाउँमा एउटा पसलेले ‘म भात पकाइदिन्छु’ भन्नुभयो । नवेन्द्र सर उपन्यास पढ्न थाल्नुभयो । मचाहिँ डायरीको पाना पल्टाउँदै लेख्न थालेँ ।  

‘हजुर, भान्सा तयार भयो । सवारी होस्’ यस्तो अनुरोध सुन्नेबित्तिकै हामी हौसिएर खाना खान थाल्यौँ । ‘पहिलो गाँसमै ढुंगा’ भनेझैँ अत्यधिक खुर्सानीले हाम्रो सात्तो लियो । केही बुकुल्टो भातले पिरो कम गराएर हामीले खाना छाडिदियौँ । पसलेले कुकुरलाई खाना दिनुभयो तर कुकुरले पनि त्यो खाना नखाएपछि हामी झन् लज्जित भयौँ ।  

यही भातको सम्झना गर्दै पछि नवेन्द्र सरले मेरो डायरीमा लेखिदिनुभएको थियो, ‘कुकुरले पनि नखाने भात सँगै खाएर कमाएको मित्रता गरिष्ट भोजन गर्ने भइएछ भने पनि नटुटोस् ।’

त्यो दिन हामी बाजुराको पाटागाउँमा एउटा घट्टमा अरू ढाक्रेहरूसँगै बास बसेर भोलिपल्ट बिहान १० बजे बाजुराको सदरमुकाम मार्तडी पुग्यौँ । शिक्षा कार्यालयमै रहेको परियोजनाको बाजुरा शाखामा साह्रै मिलनसार विद्यालय निरीक्षक रामप्रसाद उपाध्याय, फिल्ड कोअर्डिनेटर नन्दकिशोर सिंह र धादिङ घर भएका लेखापाल ऋषि पाण्डेसँग छलफल गरेर मार्तडी बजारमा आवश्यक सरसमानहरू किनेपछि हामी कोल्टीतर्फ लाग्यौँ । अर्का फिल्ड कोअर्डिनेटर गौरीप्रसाद दवाडी पनि हामीसँग मिसिनुभयो । उहाँ निकै अनुभवी हुनुहुँदो रहेछ । अफिसमा भन्दा फिल्डमा पो बढी सहकर्मी साथीहरू भेटिएकामा म दंग परेँ ।

मान्छे नै उडाउला जस्तो गरी बतास चल्ने ढम्कनेमा बास बसेर बिहान हिउँले ढाकिएको परोख्या लेकमा लौरो टेकेर हिँड्दा निकै मीठो आनन्दानुभूति भयो । पाण्डुसेन हुँदै हामी कोल्टी पुग्यौँ । जनप्रकाश मावि कोल्टीका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर सिंहको आतिथ्यमा ज्यादै नै रमाइयो । 

तालिम इन्चार्जको जिम्मेवारी थियो मेरो यस पटक । नवेन्द्र सर, गौरीजी र प्रधानाध्यापकले प्रशिक्षकको भूमिका निभाउनुभयो । बीचमा जिल्ला शिक्षा अधिकारी चिजकुमार मित्र र प्राविनि रघुवीर चन्दको पनि पर्यवेक्षकको रूपमा उपस्थिति थियो । ३२ जना सहभागीहरू भएको तालिममा महिला शिक्षकको उपस्थिति शून्य थियो । यो शून्यताले अठपालीको गम्भीर प्रश्नलाई फेरि बल्झाइदियो ।  

केही दिनपछि नवेन्द्र सर दिपायल फर्किनुभयो । मेरोचाहिँ मानाकोट र डोगढीमा संचालन हुने तालिममा प्रशिक्षण दिनुपर्ने तथा कोल्टी, पाण्डुसेन, मानाकोट, बाह्रबीस र टाँटे स्रोत केन्द्रअन्तर्गतका विद्यालय, प्रौढ कक्षा र चेलीबेटी कक्षाहरूको सुपरिवेक्षण गरेर मात्र दिपायल फर्किनुपर्ने जिम्मेवारी थियो ।      

बाजुराको मष्टेश्वरी मावि डोगडीमा संचालित ७ दिने तालिम सकिएपछि फिल्ड कोअर्डिनेटर रोहित प्रधान र म खप्तड हुँदै सिलगढीमा बास बस्ने योजना बनाएर आगाडि बढ्यौँ । एकातिर आफ्नो असाध्यै लामो फिल्ड भिजिट सफलतापूर्वक सम्पन्न हुँदै गरेको खुसियाली थियो भने अर्कोतिर खप्तड चढ्नका लागि मनमा चुलिएको रहर पूरा हुँदै थियो । म अत्यन्तै प्रफुल्लित थिएँ ।  

खप्तडको उकालो चढ्दाचढ्दै कान ‘टुइअँ टुइअँ’ बज्न थाल्यो । अनि, स्वास प्रस्वास बढेर चौपट्ट । रिंगटा लाग्न खोजेजस्तो, खै कस्तोकस्तो अनुभूति ! ‘हेर्नुहोस् कडेलजी, बिष फूल भनेको यही हो । हामी धेरै उचाइमा आइसक्यौँ । त्यसैले अल्टिच्युड (लेक) लागेको महसुस भइरहेको छ’, बाटोको छेउछाउमा फुलेका फूलहरू देखाउँदै रोहितजीले भन्नुभयो । उहाँ पहिला पनि खप्तडको बाटो हिँडिसकेको व्यक्ति हुनुहुन्थ्यो । उहाँको गतिमा हिँड्न मलाई हम्मेहम्मे परिरहेको थियो ।  

उकालो चढ्ने बेलामा क्याडबरी वा चकलेटले मुख सुक्नबाट बचाउने, केही हदसम्म प्यास मेटाउने तथा तत्काल शक्ति दिने सिकाइ यही यात्राको क्रममा भएकाले मैले मार्तडी बजारमा गतिलो क्याडबरी नभेटे पनि केही चकलेट किनेको थिएँ ।  

उकालोमा हाम्रो तुम्लेटमा पानी सकिएपछि मैले फ्याट्ट एक मुट्ठी चकलेट झिकेर रोहितजीलाई दिएँ । ‘एक हप्ता डोगडीमा सँगै बस्दा बिर्सेर बल्ल अहिले झिकेको ?’ भन्दै एकै पल्ट दुईवटा चकलेट मुखमा हाल्नुभयो उहाँले । मैले खप्तडको उकालो चढ्दा ‘टनिक’को काम गर्छ भनेर साँचेर राखेको कुरा बताएँ ।  

चकलेट अलिक पग्लिँदै गएपछि रोहितजीले तल देखिने बाजुराको काँडा गाउँतिर हेर्दै ‘काँडाकी बैकिनी’ भन्दै एउटा स्थानीय देउडा गीत गाउनुभयो । मैले पनि प्रतिउत्तरमा एउटा देउडा गीत बनाएर भनिदिएँ ।

‘हट्टा हट्टै गलाई लाग्न्या खप्तडको उकाली
अन्निपन्नी क्यै आच्छिन भोक लाग्या क्या खाउली ?’

हिँड्दा हिँड्दै थकाइ लाग्ने खप्तडको उकालो छ । खाजा पनि केही छैन । भोक लाग्दा के खाउला ? भन्ने आशय हो यो देउडा गीतको ।  

‘हैट कडेलजी ! यति छिट्टै स्थानीय भाषा सिकिदिने ?’, रोहितजीले आश्चर्य मान्दै भन्नुभयो । खासमा मैले अठपालीमा भाषासम्बन्धी ठक्कर खाएपछि आफ्नो एउटा डायरीमा बझाङी भाषाका चलन चल्तीका शब्दहरू लेखेर राख्ने तथा छिटोभन्दा छिटो भाषा सिक्ने प्रयास गरेको थिएँ ।  

हामी बाजुरातर्फबाट खप्तड राष्ट्रिय निकुन्जको घना जंगल हुँदै खप्तड उक्लिँदै थियौँ । बाटो भुलिएको ठाउँमा भरिया भाइले गाइड गर्दै थिए । जंगलमा अनेक किसिमका बोट बिरुवाहरू, देवदारू सल्लाका वृक्षहरू, निगालाका रूखहरू, रंगीविरंगी वनफूलहरू तथा चराचुरुंगीहरू अवलोकन गर्न पाइयो ।  

माथी उक्लिएपछि त रूखहरू केही नभएका नांगा मैदानहरू आउन थाले । त्यसलाई पाटन भनिँदो रहेछ । त्यति बेला नै मेरो घाँटीमा झुण्डिएको पुन्टे नेसनल पानासोनिक रेडियोमा ‘ओ, नीलोनीलो त्यो आकाश, चिसोचिसो यो बतास, हेर रम्यो, कस्तो जम्यो ...’ बोलको गीत बज्न थाल्यो । रोहितजी झम्टिएझैँ गरी मेरो अगाडि आउनुभयो र रेडियोको भोल्युम बढाउनुभयो ।  

पूरा अभिनयसहित उहाँ नाच्न थाल्नुभयो । मैले पनि आफ्नो पातलो ज्याकेट फुकालेर आकाशमा घुमाउँदै नृत्यमा उहाँलाई साथ दिएँ । हाम्रो नाचमा ढंग नपुगेको देखेर उत्तरतिरको अपि र सैपाल हिमाल हाँसिरहेका थिए । आकाश साँच्चिकै नीलो थियो । बतास चिसो थियो । सेता बादलका थुंगाहरू पनि नाचिरहेजस्ता देखिन्थे । पाटनका दृश्यहरू अत्यन्तै सुन्दर र आकर्षक देखिन्थे । 

जिन्दगीमा कुनै दिन आफ्नो ‘विशेष मान्छे’लाई यस्तो मनमोहक वातावरणमा ल्याएर सँगै नाच्ने, नचाउने र रमाइलो गर्ने धोको मनमा अंकुरायो ।

म अलिक कतै हराएछु कि कुन्नि ! ‘हे, कडेलजी ! यति बेला आफ्नी गर्ल फ्रेन्डलाई मिस गर्नु भयो कि क्या हो ?’, ठट्यौलो पारामा हल्का लाठीचार्ज गर्नुभयो रोहितजीले । अनि, उहाँकै जन्मथलो दार्जलिङको शैलीमा थप्नुभयो, ‘मैले त के सारो मिस गरेँ हौ !’

संयोग पनि कस्तो ! यो यात्राका ३ मुख्य सहयात्रीहरू थियौँ, नवेन्द्र सर, रोहितजी र म । तीनै जना सहयात्रीहरू अविवाहित थियौँ । कोही ह्याजलनट्ससम्म पुगिसकेका, कोही ‘हेर रम्यो, कस्तो जम्यो’सम्म पुगिसकेका, आफ्नो भने ठण्डाराम !      

डोटी, बझाङ, बाजुरा र अछाम जिल्लाको संगमस्थल खप्तड राष्ट्रिय निकुन्जको स्थापना २०४२ सालमा भएको रहेछ । २ हजार ४०० देखि ३ हजार ७०० मिटरसम्मको उचाइमा २२५ वर्ग किलोमिटर भूभागमा फैलिएको ४ जिल्लाको ताजको रूपमा अवस्थित साक्षात् भूस्वर्ग खप्तड क्षेत्रमा २२४ प्रजातिका जडिबुटी, ५६७ प्रजातिका वनस्पती तथा २७० जातका चराचुरुंगी रहेको तथ्य थाहा पाउँदा गर्वको महसुस भयो । त्यहाँ भएका अति नै आकर्षक २२ वटा पाटन (घाँसे मैदान) र ५३ वटा थुम्काहरूले (स्थानीय भाषामा झोती) त झन् मोहनी नै लगाउने रहेछन् ।   

खप्तड क्षेत्रमा गंगा दशहरामा सांस्कृतिक मेला लागेका बेलामा वरपरका हजारौँ तीर्थालुहरू आएर देउडा गाउने र नाचगान गर्ने गर्दा रहेछन् । त्रिवेणी नदी, त्रिवेणी मन्दिर, खापर दह (खप्तड ताल), नागढुंगा, जेठी बहुरानी ढुंगा, भीमढुंगा, र्‍याइ घट्ट, छ्याइ पानी, शिव मन्दिर, गणेशस्थान, केदारढुंगा आदि धार्मिक आकर्षणका केन्द्रहरू रहेछन् ।  

वैशाखको अन्त्यमा पनि हातै कठ्यांग्रिने खालको हावा चल्ने रहेछ । हिउँचाहिँ भर्खर मात्र पग्लिसकेको रहेछ । अलिक माथि कतैकतै थोरै मात्र बाँकी देखिन्थ्यो हिउँ ।

हामी १२ बजे राष्ट्रिय निकुन्जको कार्यालय तथा सेनाको ब्यारेक भएको ठाउँमा पुग्यौँ । त्यहाँ एउटा होटल रहेछ । २ दिदी-बहिनीले प्रेसर कुकरमा एकैछिनमा खाना तयार गरिदिए । एक थाली खानाको १७ रुपैयाँ लिने चलन रहेछ । १२ हजार फिट माथिको उचाइमा असाध्यै भोक लागेकाले जस्तो खाना भए पनि मीठो नै हुने रहेछ ।   

अफिसमा पहिलो हप्तामै खप्तड बाबाको खुब चर्चा भएको सुनेपछि मलाई पनि उहाँसँग भेट्न मन लागेको थियो । तर, रोहितजीले ‘आजै सिलगढी पुग्नुपर्ने, भरिया झिग्रानास्थित सेनाको चेकपोस्टमा साँझ ६.३० बजेसम्म नपुगे त्यहीँ रोकिनुपर्ने, सेती प्रोजेक्टमा काम गरेपछि फेरि पनि पटक पटक बाबालाई भेट्न सकिने’ कुरा बताउनुभयो । ख्यातिप्राप्त खप्तड बाबासँग बातचित गर्ने आकांक्षालाई थाँती राखेर बाटो लाग्नु सिवाय मेरो अर्को कुनै उपाय रहेन ।  

केदारढुंगामा एउटा होर्डिङ बोर्डमा ‘शिकार खेल्न, घोडा चढेर हिँड्न, धुम्रपान गर्न, रेडियो र टेप रेकर्डर बजाउन, गान बजान तथा हल्ला गर्न’ निषेध गरिएको कुरा लेखिएको रहेछ । त्यो पढेपछि मैले भनेँ, ‘रोहितजी, रेडियो ठूलो स्वरमा बजाएर गल्ती पो गरिएछ त !’

तुरुन्तै हाजिरी जबाफ शैलीमा उहाँले भन्नुभयो, ‘यो निषेधभन्दा त्यो मेरो गीत विशेष हो क्या ! कहिलेकाहीँ निषेधको बारलाई भत्काउनुमा पनि मज्जा हुन्छ, बुझ्नुभयो ?’

फेरि त्यही गीत गाउँदै कुद्न थाल्नुभयो उहाँ, ‘तिम्रो मेरो, तिम्रो मेरो, तिम्रो मेरो ... यो प्रीत... ।’ मैलेचाहिँ रेडियो बन्द गरिसकेको थिएँ । 

केदारढुंगादेखि तल्लोपट्टिको धारामा एक तुम्लेट पानी भरेँ मैले । पानी पिउन खोज्दा असिना मुखमा राखेजस्तो चिसो भयो ।

‘उकालोमा हिँड्दा भएको ढिलाइलाई ओरालोमा कभर अप गर्नुपर्छ’ भन्ने रोहितजीको भनाइ औधी मनपर्‍यो मलाई । ओरालोमा त म पनि गुडुङडुङ कुदिहाल्थेँ म ।  

बुकी दह, चोयागाढ्ने हुँदै हामी ५.१० बजे झिग्राना पुग्यौँ । निकुन्जका सैनिकले हाम्रो रुकस्याक भरपर्दो किसिमले जाँच गरे । साँझ ६.३० बजेपछि त यो बाटो हिँड्न पनि नपाइने रहेछ । भरियासँग घडी थिएन । ढिला गरे भने बर्बाद हुने भयो भनेर हामीलाई तनाव भयो ।

एउटा पसलमा चियाको चुस्की लगाउँदै भरियालाई कुर्न थाल्यौँ । धन्न, ६.२७ बजे टुप्लुक्क भरिया आइपुगेपछि मन शान्त भयो ।  

बगलेक पुग्दा झमक्कै साँझ परिसकेको हुँदा चन्द्रमाको झिनो चहक र टर्च लाइटको सहाराले हिँडाइलाई अगाडि बढायौँ । बिजुली चम्केको गतिमा सुरु भएको हाम्रो हिँडाइले अन्तिम अवस्थामा चिप्ले कीराको गति समात्न बाध्य भयो । फल स्वरूप राति पौने १० बजे हामी सिलगढी, डोटी पुग्यौँ । शिक्षा कार्यालयको गेस्ट हाउसमा पुगेपछि गर्लम्म ओछ्यानमा ढल्दाको मिठास वर्णन गरिसाध्य छैन ।  

भोलिपल्ट शैलेश्वरी मन्दिरको दर्शन गरेर, नाचन्थली, इन्द्रचोकलगायत समग्र सिलगढी बजारको अवलोकन गर्दै दिपायलतिर झरियो । दिपायल पुगेपछि यो यात्राले एउटा ठूलो फन्को मारेर सेलरोटी पकाएको महसुस भयो । पैदल यात्रा सुरु गरेको ७७औँ दिनमा दिपायलको पुरानो बजारबाट पारिपट्टि सेती नदीको बगरमा एउटा बस देख्दा बिछट्टै रमाइलो लाग्यो । झिक्कैझिक्कै सौराई (धेरैधेरै न्यास्रो) लागेछ बसको । यात्रा नगरे पनि सिटमा गएर बसूँबसूँ जस्तो लाग्यो मलाई ।