लेबोरेटरी स्कुल: अस्तित्व रक्षाको प्रश्न, के अब लेबोरेटरी स्कुल रहँदैन त ?
फर्कलान् र ती दिनहरू

भन्छन् नि, कुनै पनि कुनै पनि कुरा न समयभन्दा पहिले हुन्छ, न त समयभन्दा पछि हुन्छ, ठिक त्यही बेलामा हुन्छ, जुन हुने बेला भएको हुन्छ ।

मानिस र संस्थाको, मानिस र देशको या ठाउँको भाग्य या नियति हुन्छ रे ! भाग्यका बारेमा के मान्ने ? भाग्य अचानक हुने कुनै कुरालाई अघिल्लै जुनीबाट तयारीका साथ भएको र मात्र अहिले त्यो हुनका लागि कुनै निहुँ पारेको ठान्ने कि ? अचानक कुनै कुरा हुँदै जाँदा क्रिया, प्रतिक्रिया र अतिक्रिया ठान्ने हो ? अतिक्रिया कुन अर्थमा कि धेरै नै त्यसबारेमा कुरा गिजोलियो भने जे हुन्छ, त्यसलाई मैले अतिक्रियामा लिएको हुँ । जानाजान कुनै कुरा गिजोलियो भने त्यसले परिणाम कस्तो दिन्छ होला भन्ने कुराको कुनै आधार हुँदैन । जे पनि हुन सक्छ, जे नहुनुपर्ने हो, त्यो हुन सक्छ । अर्थात्, जुन कुरा बचाउनका लागि धेरै कोसिस गरिएको हुन्छ, एक दिन त्यसैको अस्तित्व विनिर्माण हुन सक्छ ।

अर्थात्, जुन स्वरूपमा त्यसको क्रिया प्रतिक्रिया सुरु भएको हो, त्यसको अतिक्रियाले गर्दा त्यसकै विनिर्माण भएर अर्कै अस्तित्वमा देखिन सक्ने भय हुन्छ भन्ने तर्कलाई कुतर्क नै भन्न त पाइएन होला । मात्र फरक के होला भने, यौगिक परिवर्तन भएको हो कि रासायनिक परिवर्तन हुन थालेको हो भन्ने कुराको अर्थ विज्ञानको प्रयोगशालामा अर्थ राख्ला तर मानवीय सिकाइको, लेखाइ र बोलाइको प्रयोगशालामा भने त्यसको बेला कहिले आउने हो भन्ने उच्चाटलाग्दो पर्खाइ छ क्या रे त्यो संस्थाको । त्यसो त संस्था बोल्दैन, संस्थालाई भन्न त कृत्रिम मानवको रूपमा लिइन्छ तर । 

किन कृत्रिम रूपमा मानिससरह मान्ने रे भने, संस्थाको अस्तित्वका अघिल्तिर मानिस गौण हुन्छ रे ! जबकि, त्यो संस्थाको अस्तित्व तयार गर्ने त आखिर मान्छे नै हो अनि चलाउने पनि त मानिसले नै हो । मानिस आफू गौण बनेर पनि संस्थाको अस्तित्व बचाउने काम गर्छ भन्ने अर्थ त्यसले दिएको हुन्छ । कतिपय संस्थाको अवस्था मैले देखेको छु, आफैँले संस्था स्थापना गरेर अरूलाई चलाउन दिँदा ती संस्थाहरू जुन उद्देश्यका लागि खोलिएका हुन्थे, ती सबै बिलाएर संस्था कसैको कब्जामा पुगेको हुन्छ । संस्था कसैको कब्जामा परोस् या संचालन गरोस्, तर, संस्थाको उद्देश्यलाई आत्मसात् गरेर चलाए सायद संस्थापक या संस्थापकहरूको मन झन खुसीले गद्गद् हुँदो हो । जस्तो कि कुनै बच्चा जिम्मा लिएको मानिसले बच्चाकोे राम्रो रेखदेख गरेर, पढाएर, लेखाएर असल मानिस बनाएको पाउँदा जन्माउने बाबुआमाको मन खुसीले गद्गद् हुने गर्छ । 

मैले केही समयदेखि आफ्नो अनुभवका कुराहरू लेख्दै गर्दा आफूले २२ वर्षसम्म पढाएको र त्यस बेलाको त्यो विद्यालयको अस्तित्वका लागि आफ्नो क्षमताले सहयोग गरेको व्यक्तिका नाताले र आफ्ना हजारौँ विद्यार्थीहरूसँगको निकटताका कारणले पनि लेबोरेटरी स्कुलका बारेमा लेखेको हुँ ।  एक प्रकारले मेरो नितान्त निजी  अनुभव हो तर कहिलेकाहीँ त्यस्ता निजी अनुभवहरूले पनि कुनै संस्थाको अस्तित्व जोगाउने बारेमा प्रश्न र त्यसको उत्तर खोजिन्छ भने मैले मान्नै पर्ने हुन्छ, समय आएपछि सबै कुराको खोजीनीति हुने रहेछ । 

२१ चैत २०३७ देखि नै विद्यालयको अस्तित्वको संकट देखिएको हो तर आकाशमा कुनै पिण्ड आफैँ अडिएझैँ गरेर घुमिरहेको देखिन्थ्यो । लेबोरेटरी विद्यालयले अब एउटा निश्चित स्वरूपमा आफूलाई लिन्छ कि भन्ने आशा लागेको छ किनभने मेरो अनुभवका कारणले, नितान्त अनुभवका कारणले केही अभिभावकहरूले मलाई सोध्न थाल्नुभएको छ- वास्तवमा भएको के थियो लेबोरेटरी स्कुलका बारेमा ? अहिले विद्यालय त्यही ठाउँमा देखिन्छ, पहिले जहाँ थियो कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको गेटनेर नै । विद्यार्थीहरू भित्र/बाहिर गरेकै देखिन्छन्, विद्यालयको विशेषताको चुच्चोवाला छाना आकाशतिर फर्केर बसेकै पाइन्छ र भूकम्प प्रतिरोधी भुइँतले भवन उभिएकै छ भूकम्पहरूसँग जुध्दै ।

अमेरिकी शिक्षाविद्हरूको संरचनामा विद्यालयको स्वरूप जुन तयार भएको थियो, भौतिक रूपमा बाहिरबाटै त्यो छ भन्ने अनुमान गर्न सकिन्छ । तर, त्यो अमेरिकी सरकारको सहयोगकोे र नेपालका शिक्षक शिक्षाका लागि कोसेढुंगोको रूपमा रहेको लेबोरेटरी स्कुल भिल्लका देशमा मणि जस्तै मिल्किएको छ कोही पनि अभिभावक नरहेको अवस्थामा भन्ने कुरा अहिले आएर मानिसहरूलाई थाहा हुन थालेको अवस्था छ । 

हजारौँ अभिभावकहरूको चिन्ताको विषय पनि त हो, जसका बच्चाबच्चीहरूले त्यो विद्यालयबाट एसएलसी, एसईई र १२ कक्षा पास गरे, विद्यालय यदि रहेन भने तिनमा पर्ने मानसिक तनावको कुरा पनि त रहेछ भावानात्मक रूपमा । हामी शिक्षकहरूका लागि पनि एउटा मानसिक तनाव हुने रहेछ आफूले पढाएको विद्यालयको अस्तित्वका बारेमा कसैले प्रश्न उठाउँदा ।

२ दशकअघि नै विद्यालय छाडेर  जाने मानिसबाट, त्यो पनि अर्को विद्यालयमा पढाउन गएको मानिसबाट ? मेरो गुनासो त अझ तिनै पत्रकार तथा खोजी पत्रकारहरूसँग छ, किन आजसम्म यी कुराहरू बाहिर ल्याउन सकेनन् ? अझै किन त्यसका बारेमा सोधखोज गर्ने कोसिस गर्दैनन् ?

अहिले लेबोरेटरी विद्यलयमा फेरि कसको जग्गा हो, कसको अपनत्वमा चल्नुपर्ने हो र अहिलेको विद्यालय व्यवस्थापन समितिसँग कति क्षमता छ विद्यालयलाई स्थायित्व दिने ? प्रश्न जस्ताको तस्तै छ तर विद्यालय चलेकै छ, चलिरहन्छ भन्ने मान्यता देखिन्छ । झन् अहिले विद्यालयको जिम्मा लिने व्यक्ति नेपाल सरकारमा पहुँचवाला मन्त्रीको रूपमा हुुनुहुन्छ, उमेश श्रेष्ठजी । सायद उमेशजीका लागि यो विद्यालय धेरै संस्थाहरूमध्ये एउटा संस्था हुनुपर्छ, जसको कुनै अब उपादेयता छैन किनभने न विद्यालयको भवनमा, न जग्गामा, न त विद्यालयको अस्तित्वप्रति नै उहाँको अपनत्व रहेको समाजले स्वीकार गर्छ । जसले सुरुमा जिम्मा लिएका हुन्, ती पनि अहिले कताबाट कता पुगेका होलान् । 

अहिले विद्यालयको जग्गाका बारेमा वास्ता गर्ने भनेको त्रिभुवन विश्वविद्यालयको मात्र जिम्मा रहेको जस्तो लाग्छ । त्यसैले वास्ता गर्ने अभिभावकहरू, दीक्षित विद्यार्थीहरूको जिम्मा हो विद्यालयको अस्तित्व जोगाउने अनि त्यहाँँ काम गरिरहनुभएका शिक्षक तथा कर्मचारीहरूको वास्ता हो आफ्नो कार्यस्थलको अस्तित्व  जोगाएर आफ्ना सुविधाहरूको प्रत्याभूति होस् भन्ने चाहने । 

सायद बेला भएको जस्तो छ, लेबोरेटरी स्कुलको अस्तित्वका जगेर्ना गर्ने । यसका हजारौँ विद्यार्थीहरू, सयौँ शिक्षकहरू र हजारौँ अभिभावकहरूको चाहनाबमोजिम यसको अस्तित्व रक्षा गर्न त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकाय डिन कार्यालय, जसले विद्यालयलाई अहिले पनि शिक्षक शिक्षाको प्रयोगशाला विद्यालयको रूपमा विकसित गर्न सक्छ नेपाल सरकारको सहयोगमा । अर्बौं रुपैयाँ खर्च भइरहेको छ शिक्षक प्रशिक्षणमा । नेपाल सरकारसँग त्यस्ता संस्थाहरू धेरै छन्, जसले शिक्षक प्रशिक्षणको काम गरिरहेका छन् तर शिक्षा प्रयोगशालाको रूपमा गरेका पाइँदैनन् । त्यसैलाई अब नयाँ तरिकाले कीर्तिपुरमा फेरि सुरु गरे पनि हुन्छ भन्ने आशा गरौँ । 

अब त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गाका बारेमा पनि स्पष्ट नीति तयार गर्नुपर्छ, जसले लेबोरेटरी स्कुल कसको हो, शरणार्थी संस्था होइन, तर त्यसको अस्तित्व रक्षाका लागि त्रिविविको अहम् स्थान छ भन्ने देखिनेछ । अर्थात्, विश्वविद्यालयको विद्यालयको रूपमा त्यसको विनिर्माण हुनु जरुरी छ । जुन अवस्थामा स्थापना भएको थियो, त्यही अवस्थामा अब नरहला तर आवश्यकता र अस्तित्व रक्षाका लागि स्थानीय सरकार, संघीय सरकार, त्रिविका विभिन्न निकायहरूको समन्वयमा एउटा नयाँ निर्माण हुनुपर्छ र हुन्छ भन्ने मैले सोचेको छु । मेरा अनुभवहरू सार्वजनिक भएपछि धेरै मानिसहरूको जिज्ञासा के रह्यो भने, के अब लेबोरेटरी स्कुल रहँदैन त ? मैले भनेँ, ‘रहन्छ तर अहिलेको अवस्था जुन थियो अस्तित्वको भुमरीको घुमेर बस्नुपरेको, त्यसभन्दा भिन्न अवस्थामा अब स्थायित्वसहितको लेबोरेटरी स्कुल हुनेछ ।’

तर कसरी त ? भन्ने प्रश्नको उत्तर सायद अब छिटै समाजले पाउनेछ भन्ने अपेक्षा गरौँ । २१ चैत २०३७ मा तत्कालीन शिक्षामन्त्री पशुपतिशम्शेर राणाको गल्तीले आवासीय विद्यालय स्वतः निजी अर्थात् प्राइभेट व्यवस्थापनमा संचालन हुने भनिएको थियो, ५ माघ २०५६ मा लेबोरटरी विद्यालयलाई नेपाल शिक्षा समाजलाई लिजमा दिने निर्णय गरिएको थियो र १३ साउन २०५७ मा विधिवत् रूपमा विद्यालयलाई १५ वर्षका लागि लिजमा सुम्पिइएको थियो । 

त्रविविको सम्पत्ति, जनताका छोराछोरी पढ्ने ठाउँ कसरी लिजमा दिन सकिन्छ ? भनेर प्रश्न उठाउँदा हामी जिल्ला शिक्षा समितिका शिक्षकहरू, जो बेतलबी काजमा त्यही विद्यालयमा थियौँ, ती सबैलाई पठाइयो जिल्ला शिक्षा कार्यालयमा । जे भयो, ठिकै भयो होला भन्ने सोचौँ । सायद १२ साउन २०७२ देखि कुनै त्यस्तो तदर्थवाद तयार गरिएको होला, जसले विद्यालय आफैँ चलिरहेको होस् ।

नेपाल सरकारको शिक्षा नियममा नै भनिएको छ, सार्वजनिक भवनमा निजी विद्यालय संचालन हुन सक्दैन । अब आशा गरौँ, जे होला, असलै होला, जे गर्छन् भगवान्, असलै गर्छन् भन्ने चलनझैँ । यसलाई यसैगरी बिट मारौँ होला यस पटकचाहिँ । आवश्यक परे अरू कुराहरू बिस्तारै आउलान् सार्वजनिक रूपमा ।

कतिपय शिक्षा पत्रकार महोदयहरू सोध्नुहुन्छ, अब के आउँछ अर्को पटक ? के आउनू र ! २ दशकअघि नै विद्यालय छाडेर  जाने मानिसबाट, त्यो पनि अर्को विद्यालयमा पढाउन गएको मानिसबाट ? मेरो गुनासो त अझ तिनै पत्रकार तथा खोजी पत्रकारहरूसँग छ, किन आजसम्म यी कुराहरू बाहिर ल्याउन सकेनन् ? अझै किन त्यसका बारेमा सोधखोज गर्ने कोसिस गर्दैनन् ? सायद लेबोरेटरी स्कुलका बारेमा सोधखोज गर्दा नेपाली समाजको शिक्षा विकासका बारेमा, शिक्षक शिक्षाको विकासका बारेमा र अमेरिकी सहयोगमा शिक्षा विकासको क्रममा नयाँ जानकारी पाउने काम हुनेछ भन्ने मेरो विश्वास छ ती खोजी पत्रकारहरूका लागि । कम्तीमा पनि ।

क्रमशः


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।