अशोक चाम्लिङ राई | साहित्य | माघ ८, २०७८
जीवन
सुन्दर लाग्छ भरियालाई
जब ऊ भारी बिसाउँछ र गाउन थाल्छ
रातो रिवन.......क्या राम्रो छ हाउ हाम्रो जोबान
सायद उसले दाँज्यो होला जीवनलाई
देउरालीको शीतल बताससँग ।
जीवन
दुखद लाग्छ कुनै करोडपति पुत्रलाई
जब धोका दिन्छे उसको प्रेमीकाले
र गाउँछ
आत्मघाती हंगेरियन गीत ‘लुमी सन्डे’
'यो शरदमा पातहरू सबै झरे
धरतीमा प्रेमको अन्त भो......'
विरक्तिपछिको निष्कर्ष
जीवनको अन्त ।
जीवन
केही अर्कै लाग्छ
कुनै खुँखार अपराधीलाई
जब जेलको चार भित्ताभित्र
बाइबलले भन्छ-
'म तिमीसँगै हुनेछु चाहे गल्ती गर जतिसुकै ।'
तब ऊ भित्रको मान्छेले भन्छ-
'गिभ मी एनोदर चान्स आइ वान्ट टू ग्रोअप वन्स एगेन'।
पन्चानब्बे वर्षका जंगबीरलाई
बाँच्न मन छ अझै
तर अनायास आँसु बर्सन्छ उनको
जब टाढा टाढाका आफन्त आँउछन भेट्न
कि लाग्दो हो उनलाई तेसबेला
ती मानिसहरू
उसको जिन्दगीमा
अन्तिम पटक आएका
दर्शनार्थि हुन् ।
एक्लै खेलिरहेको बच्चा
चिच्याएर रून्छ
जब उसको ठोकिन्छ टाउको पर्खालमा
सहारा नपाएपछि छोड्दिन्छ रुन
थाल्छ खेल्न त्यही ब्याट्री रोबर्टसित
सायद लाग्यो होला उसलाई
रोबोट हुनेछ
उसको असल साथी अब ।
हाल : न्युयोर्क ।