संसद् भवनको डिजाइन अन्तिम चरणमा १० अर्बमा संसद् परिसर बन्ने

संसद् भवनको डिजाइन अन्तिम चरणमा १० अर्बमा संसद् परिसर बन्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७६

काठमाडौं । अबको करिब तीनवर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन निर्माण गर्ने गरी डिजाइनलाई अन्तिम रुप दिने काम भइरहेको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६५ सालदेखि भाडा तिरेर संसद् सञ्चालन हुँदैआएको छ ।

सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले सिंहदरबारमा निर्माण हुने प्रस्तावित संसद भवन परिसरको डिजाइनलाई अन्तिम रुप दिने कार्य भइरहेको जानकारी दिनुभयो । 

सहरी मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर संसद् परिसर निर्माण प्रक्रियालाई अगाडि बढाएको बताउँदै उहाँले जेठको दोस्रो हप्ताभित्र डिजाइन कार्यलाई अन्तिम रुप दिएर ‘टेन्डर’ प्रक्रियामा जाने जानकारी दिनुभयो । यसका लागि ग्लोबल ‘टेन्डर’ आह्वान गरिने छ । 

प्रवक्ता दवाडीका अनुसार, २०७८ सालको असारसम्म संसद् परिसर निर्माण गरिसक्ने लक्ष्य रहेको छ । निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको अवस्थामा बढीमा ६ महिनाको समयावधि थप गरिने छ । अन्तर्राष्ट्रिय स्तरको यो भवन परिसर नेपालको अहिलेसम्मकै अत्याधुनिक र बलियो हुने बताईएको छ ।उहाँले भन्नुभयो, “प्रस्तावित संसद परिषद्को नक्सा तथा डिजाइनबारे अहिले छलफल भइरहेको छ, यसअघि नक्सा र डिजाइनबारे भएको छलफल गर्‍यौँ, तयार पारिएको नक्सा र डिजाइनमा संशोधन गर्ने अवस्था आएकाले अहिले नक्सा र डिजाइनलाई अन्तिम रुप दिने कार्य भइरहेको छ ।”  यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।