जय छाङ्छा राई: नियात्रा, नियति, कूटनीतिदेखि खजुर खेतीसम्म

जय छाङ्छा राई: नियात्रा, नियति, कूटनीतिदेखि खजुर खेतीसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  माघ ८, २०७८

उहाँका हरेक शनिबार पशुपतिका बाँदरलाई बिस्कुट खुवाउँदैमा बित्छन् । यसलाई कतिपयले 'धेरै भएको' अर्थमा पनि लिने गरेका छन् । तर, उहाँ भने आफूलाई धेरै भएको नभएर कमसेकम खान, लगाउन पुगेकाले केही गरौँ भन्ने भावनाले काम गरेको बताउनुहुन्छ । 

'बाँदर भनेको हिर्काउन र जिस्क्याउनलाई मात्र होइन, त्यसको खेतीपाती छैन, आम्दानी छैन, दिने कोही हुँदैन भने तिनलाई नदिए कसलाई दिनू ?', उहाँ प्रष्टीकरण दिनुहुन्छ । 

कतिपय साथीले उहाँलाई 'हामी पनि बाँदरलाई बिस्कुट दिन्छौँ' भनेर नभन्नुभएको होइन । तर, ती साथीलाई उहाँको सुझाव छ, 'नियमित गर्न सक्छौ भने ठीक छ अन्यथा सुरु नगर !'

बाँदरलाई बिस्कुट दिने क्रममा उहाँले पशुपतिको जंगलमा २ वटी सुत्केरी कुकुर देख्नुभयो । एउटाले ६-७ वटा बच्चा पाएको छ भने अर्कोले २-३ वटा । पहिले पहिले भने उहाँलाई बच्चा लिन आएको ठानेर होला, जानेबित्तिकै भुक्थ्यो रे !

पछि सुत्केरी देखेपछि उहाँले ती कुकुरलाई पनि बिस्कुट दिन थाल्नुभयो । अहिले भने ती कुकुरले उहाँलाई भुक्न छाडेका छन् । छाउराहरू पनि सँगै आएर खेल्छन् । 

उहाँ अहिले वनकालीमा ३ वटा खजुरका बिरुवा पनि हुर्काइरहनुभएको छ । ती हुर्केर फल दिए भने सबैले नयाँ फल चाख्न पाऊन् मान्छेले भन्ने उहाँको उद्देश्य हो । यी सबैको पछाडिको कारक तत्त्व भने हजुरबाको त्यो सामाजिक सेवाको चेतन तत्त्व हो भन्ने लाग्छ जय छाङछा राईलाई । 

साथै, आफूमा साहित्यप्रतिको अनुरागसमेत आजभन्दा करिब सय वर्ष अगाडि देखिएको हजुरबाको चेतनाको अंश रहेको विश्वास छ छाङछालाई । 

०००

कृषि पेसामा आधारित भए पनि सम्पन्न नै थियो उहाँको परिवार । उहाँका हजुरबा समाजसेवी । गाउँमा खाने पानीका लागि कुवा तथा गाईबस्तुका लागि पोखरी बनाउने गर्नुहुन्थ्यो हजुरबाले । त्यो पनि जुवामा जितेको पैसाले । 

हुनत हजुरबा अलिक जुवाको दुर्व्यसनी  हुनुहुन्थ्यो । तर, उहाँले जुवामा जितेको पैसा जग्गा किन्ने, सम्पत्ति जोड्ने अनि घर व्यवहारमा खर्च गर्नुभएन बरु सधैँ समाजसेवामा नै प्रयोग गर्नुभयो । हजुरबाको यो मनोविज्ञान उहाँले धेरैपछि मात्र बुझ्नुभएको हो । 

गाउँमा अरू पनि धनीमानी नभएका होइनन् । तर, धनी भईकन पनि अरूहरू यस्तो सामाजिक काममा सरिक हुँदैनथे बरु आफ्नालागि गरगहना जोडेर बस्थे । 

अहिले पनि उहाँहरू हजुरबाले बनाइदिएको चिनो भनेर कुवा, पोखरी वर्ष-वर्ष दिनमा सफा गर्नुहुन्छ । शीतले भन्ने ठाउँको पानीचाहिँ सुकेको छ । अरूले जुवाडे भने पनि जुवा मारेको पैसा जाँड, रक्सी नखाई अरू काममा नखर्ची सामाजिक काममा लगाउनुलाई सामान्य लिन नसकिने लाग्छ उहाँलाई । 

०००

२०००/०३/०६/०९/०१२ यी हरेक तीनका बीच उहाँको गहिरो रगत नाताको सम्बन्ध छ । यसमा सबैभन्दा पछिल्लो नम्बर भने उहाँको हो अर्थात् २०१२ साल । भोजपुरको वास्तिमा । रातो माटोको डाँडा भएको हुनाले सिन्दूरे डाँडा पनि भनिन्थ्यो । 

उहाँ बाजेकहाँ जाँदा बजूले बाजेले खाने ठूलो थालमा खाना पस्केपछि तानेको तान्यै गर्ने । पिरा पनि ठूलो । बजूले 'अहिले कुरौनी खान पाउँदैनस्' भनेपछि बल्ल छाड्ने । 

खाना खाएपछि बाजे हुक्का तान्दै चुवाको रूख नजिकै पल्टिने अनि कपडामा बाँधेर चुवाको रूखमा कुरौनी राखिदिने । त्यो उहाँले उफ्रेर भेट्नुपर्ने । थाकेर कहिले त बाजेसँगै सुत्ने । कुरौनी खाने त छँदै छ, नाति-बाजेको रमाइलो पनि चल्थ्यो सँगसँगै । 

अहिले त्यो हुक्का उहाँले आफूसँगै राख्नुभएको छ । यसो कहिलेकाहीँ बेलुका बाजेको सम्झनामा तान्नुहुन्छ । 

०००

उहाँकी ठूलीआमाको घर र उहाँको घर खोला वारिपारि । खोलासम्म जाने बाटो आफ्नोपट्टि बिग्रिए उहाँले अर्कोपट्टि बिग्रिए उहाँको ठूलीआमाको छोराले कुटो लिएर बनाउने अलिखित सहमति थियो । भेटेपछि खुब जम्थ्यो दोहोरी । यसैगरी बित्यो उहाँको बाल्यकाल । गणेश चौथीमा हुने उपद्रो पनि कहाँ छुटाउन मिल्छ र यो रमाइलोमा !

०००

बाह्रखरी घरमै पढेर अक्षर छिचोल्नुभएको हो उहाँले । लेख्ने काम भने अँगारले सिलोटमा भयो । पछि भने सिमीको पातको मसी बनाएर बाँसको कलम जिन्दावाद !

प्राथमिक तह उहाँको लक्ष्मीनारायण स्कुलमा बित्यो । घरबाट करिब ४५ मिनेटको दूरीमा रहेको स्कुल ढुंगा-माटोले बनेको थियो । जंगलमा गएर झेल्नाको पातको बिँडी खाने उपद्रो पनि भयो । 

५ कक्षासम्मको गृहकार्य उहाँको धुलोमै लेखेर बित्यो । गृहकार्यका लागि निश्चित सीमा तोक्ने काम हुन्थ्यो आफैँले स्कुलमा, कापी कम चलाउनका लागि । अर्को बाध्यता भनेको बजार टाढा पनि थियो । पैसाको सकस उस्तै हो फेरि । 

५ कक्षासम्म पढ्दा राई चौथोभन्दा पर पुग्नुभएन । स्कुल जंगलको बीचमा भएको हुनाले डेस्क, बेन्चको अभाव थिएन । पुस, माघमा पढाइ बाहिरै बसेर हुन्थ्यो । कक्षामा २०-२५ जना हुन्थे । छात्राहरूको सहभागिता ५-७ जनाको संख्यामा हुन्थ्यो ।०००

निमाविको पढाइका लागि २-३ घण्टाको बाटो हिँड्नुपर्थ्यो । बरु त्योभन्दा त पढाइ झापातिरै ठिक होला भनेर उहाँ झापा झर्नुभयो । झापा उहाँको मामाघर तथा दाइ पनि उता झापामै हुनुहुन्थ्यो । 

मामाघरमा काम खासै गर्नु नपर्ने हुनाले पढ्ने समय प्रशस्तै पाउनुभयो जयले । फुर्सदको समयमा मामा-माइजूलाई सघाउनु पनि हुन्थ्यो । लालटिन बालेर पढ्दा पनि आपत्ति हुँदैनथ्यो, जसले गर्दा पढाइ राम्रो भयो । 

पहिले चौथोबाट वर नआएको उहाँ अब भने दोस्रोबाट टाढा नपुग्ने हुनुभयो, जसले गर्दा मामा-माइजू तथा दाइ पनि खुसी हुनुभयो । आधा छात्रवृत्ति पनि पाउनुभयो, जसले गर्दा पढाइ खर्च पनि कम लाग्यो । उहाँ झापामा पढेको स्कुल थियो- महेन्द्र रत्न मावि । 

विद्यालय एकदमै राम्रो थियो । पढ्ने, पढाउने वातावरण पनि उपयुक्त थियो । पहिले गाउँमा एउटै शिक्षकले धेरै विषय पढाउँथे भने झापामा विषयगत शिक्षकहरू थिए । यी विविध कारणले पनि उहाँको पढाइ राम्रो हुन गयो । 

०००

उहाँको बसाइ प्रायः पहिलो बेन्चमा नै हुने गर्थ्यो । कहिले कहिले जान्ने मान्छे अन्तिम बेन्चमा बस्नुपर्छ भनेर उहाँ अन्तिम बेन्चमा पनि बस्नुहुन्थ्यो । तर, उहाँहरू अन्तिम बेन्चमा बस्दा पनि दोस्रो बेन्चका साथीहरू पहिलो बेन्चमा सरले केही सोध्नुहोला भनेर बस्न धकाउँथे । 

पहिलो बेन्चमा बस्ने वैज्ञानिक, दोस्रो बेन्चमा बस्ने प्रशासनिक तथा अन्तिम बेन्चमा बस्ने राजनीतिज्ञ हुन्छन् भनेर अमेरिकी लेखकले भनेको पनि उहाँले स्मरण गराउनुभयो । 

०००

उहाँका अक्षर छापा जस्ता थिए । अक्षरका कारण संस्कृत शिक्षक नारायणबहादुर कार्कीको स्याबासी सधैँ पाउनुहुन्थ्यो उहाँले । कविता लेख्न पनि प्रेरित गर्नुहुन्थ्यो नारायण सर । 

२०२८ सालमा नयाँ शिक्षा लागू भएपछि नयाँ शिक्षा र नेपाल भन्ने शीर्षकमा देशव्यापी माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता भएको थियो । नारायण सरले त्यसका लागि एउटा निबन्ध लेख्न आग्रह गर्नुभयो । उहाँले लेखेर नारायण सरलाई पठाउनुभयो । उहाँले खासै त्यस्तो धेरै सच्याउनुभएन । 

२०५२ सालमा उहाँ अस्ट्रेलिया जानुभयो । अनि कंगारुको देशमा हराउँदा भन्ने एउटा नियात्रा लेखेर गोरखापत्रमा पठाउनु भयो । सँगै भएका साथीले कोही नचिनीकन कसरी छापिएला र भनेर नाक खुम्च्याए । तर, छापा जस्तो अक्षरमा लेखेर पठाएको उहाँको नियात्रा साँच्चै छापियो पो त !

पठाएपछि उहाँले उक्त निबन्ध पठाएको पनि बिर्सिसक्नुभएको थियो । पछि निबन्ध रेडियो नेपालबाट प्रसारण भयो । चितवनका सत्यमोहन लामाले त्यस निबन्धका बारेमा लेखेर पठाएपछि मात्र उहाँलाई निबन्ध रेडियोबाट प्रसारण भएको थाहा भयो । उक्त चिठी हेरेपछि कहिले र कसरी आयो होला भन्ने एक किसिमको कौतूहल जाग्यो छाङ्छामा पनि । 

पछि उहाँले काठमाडौँ आएपछि रेडियोमा कुनै अभिलेख छ कि भनेर खोज्न पनि लगाउनुभयो । तर, कुनै नामोनिशाना भेटिएन ! 

आखिर उत्कृष्ट नभई त्यो रेडियोबाट यसै प्रसारण भएन भन्ने उहाँको तर्क छ । उसो भए केही पुरस्कार, सम्मान पनि थियो कि भन्ने उहाँलाई लाग्यो । तर, कहीँ केही पनि नभेटिँदा भने उहाँलाई यसले निराश पनि बनायो । 

०००

निबन्ध रेडियोबाट प्रसारण भएपछि उहाँलाई चितवनका एक जना सत्यमोहन लामा नाम गरेका साथीले तपाईँ माविमा पढ्ने भए पनि तपाईँको निबन्ध सुनेर प्रभावित भएका कारण पत्र मित्रताको लागि भनेर चिठी लेखेर पठाउनुभयो । 

उहाँ लंकालाइन भरतपुरमा बस्ने तथा भरतपुरकै वीरेन्द्र क्याम्पसमा पढ्नुहुने रहेछ त्यस बेला । आफ्नो निबन्ध सुनेर, चिठी लेखेर पठाउने भनेको त्यो निबन्धको गहिरो प्रभाव नपरी हुँदैन । त्यस कारण त्यस्ता प्रशंसक लामालाई उहाँले भेट्न धेरै कोसिस गर्नुभयो । तर, आजसम्म लामासँग उहाँको भेट हुन सकेको छैन । 

त्यस्तै, एक जना अर्की पात्र हुनुहुन्छ, जो उहाँले चाहेर पनि त्यसपछि कहिल्यै भेट्न सक्नुभएको छैन । 

कुरो उहाँ पहिलो पटक धरानबाट काठमाडौं आउँदाको हो । त्यस बेला उहाँलाई यात्रा नौलो हुनु स्वाभाविक थियो । उहाँ पूर्वाञ्चल बस ड्राइभरको नाता पर्ने जस्तो लाग्यो । उहाँलाई बाटोमा खानुपर्ने नपर्ने र अरू केही गर्नुपर्ने केही पनि जानकारी थिएन । उहाँले बस यति बजे हिँड्छ, यति बजे पुग्छ, लिन आउने मान्छे छ कि छैन भनेर बडो अभिभावकीय भूमिका निर्वाह गर्नुभयो । 

ती अभिभावक त्यस बेला ल क्याम्पसमा पढ्नुहुन्थ्यो । उहाँले ती अभिभावकका बारेमा पत्ता लगाउन निकै कोसिस गर्नुभयो । तर, आजसम्म पत्ता लागेको छैन । अहिले पनि यी मानिसले कतै उहाँका लेख हेरेर वा अरूले भनिदिएर भए पनि भेट हुन्छ कि एक पटक भन्ने तृष्णा छँदै छ । 

यी २ जना सहृदयी मानिस आजसम्म भेट्न नसकेकामा उहाँलाई अहिले पनि खेद छ । यी २ जना मानिसलाई भेटेर धन्यवाद भन्न पाए अनि बसेर सँगै एक कप चिया मात्र पिउन पाए कृतज्ञ महसुस हुने बताउनुहुन्छ राई । 

०००

उहाँले २०३१ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याचमा करिब ४७-४८ जना थिए एसएलसी दिने । त्यस्तै, २६-२७ जना उत्तीर्ण भए होलान् । उहाँ दोस्रो श्रेणीमा उत्तीर्ण हुनुभयो । त्यस बेला ५०० नम्बर ल्याउनुपर्थ्यो प्रथम श्रेणीका लागि उहाँको भने ४८० नम्बर आएको थियो । 

कलेज पढ्न त्यसपछि उहाँ भोजपुर आउनुभयो, भोजपुर क्याम्पसमा । अर्थशास्त्र तथा नेपाली लिएर मानविकी पढ्नुभयो । उहाँलाई फुड टेक्नोलोजी पढ्ने मन थियो तर व्यावहारिक कठिनाइले त्यो संभव भएन । 

उहाँले भोजपुर पढ्छु भनेपछि घरमा बाबुआमालाई पनि अप्ठ्यारो पर्‍यो । अप्ठ्यारो यस अर्थमा कि भोजपुर आएर पढ्दा खर्च कति लाग्ने हो ? कहाँ बस्ने, खाने भन्ने समस्या थियो । त्यसमाथि यसअघि गाउँका उहाँहरूभन्दा सम्पन्न मान्छे पनि त्यसरी भोजपुर आएर पढेका थिएनन् । उहाँ नै पहिलो हुने छाँटकाँट थियो । र, भयो त्यस्तै पनि । 

‘म मेरो अंश बेचेर भएर पनि पढ्छु । होइन भने कलेजको शुल्क र डेरा भाडा तिर्दिनुहोस्, अरू घरमा जे छ, त्यही लगेर खाएर पढ्छु’, उहाँले घरमा एक प्रकारको विद्रोहको आवाज नै निकाल्नुभयो । बाबुआमा पनि हच्किनुभयो यो विद्रोहको आवाजले । कसरी निस्कियो त यो विद्रोहको आवाज भन्दा सायद आफूभित्र रहेको जसरी भए पनि पढ्नुपर्छ भन्ने हुटहुटी हुनुपर्छ उहाँले भन्नुभयो । 

त्यसो भन्दै गर्दा उहाँले घरमा सकभर म शुल्क पनि आधा मात्र भए पनि छात्रवृत्ति मिलाउँछु भन्नुभएको थियो । त्यसपछि भने बाबुआमा राजी हुनुभयो । 

उहाँले 'करिब ७०-८० रुपैयाँजति खर्च होला तपाईँहरूको' भनेर बाबुआमालाई खर्चको फेहरिस्त पनि दिनुभयो । उहाँ आएर पढ्न थालेपछि गाउँमा अरू सम्पन्नलाई पनि 'ए, पढ्न सकिँदो रहेछ' भन्ने लाग्यो । त्यसपछि अरूहरू पनि पढ्न आउन थाले । यस काममा पनि उहाँ अगुवा नै हुनुभयो । 

अरूहरूले घरमा आमालाई सोध्दा रहेछन् 'के लिएर जान्छ, के खान्छ ?' भनेर । आमाले गुन्द्रुक, मकैको चामल घरमा जे छ त्यही त हो नि भन्ने जबाफ दिनुहुँदो रहेछ । त्यसले अरूहरूलाई पनि घरमा भएको खानेकुरा लिएर गएर पनि पढ्न मिल्दो रहेछ भन्ने एक प्रकारको ढाडस नै दियो । 

उहाँको यस्तै अर्को उदाहरण छ । उहाँ पोस्टिङ भएर अमेरिका जानुभयो । लाइब्रेरी अफ कंग्रेसमा स्वयंसेवक हुनुभयो । त्यस बेलासम्म कोही नेपाली त्यहाँ त्यसरी स्वयंसेवक भएको थिएन । जो नेपाली जान्छ, माग्छ, पैसा माग्छ भन्ने धारणा थियो । त्यसलाई उहाँले चिरिदिनुभयो ।

०००

यति गाह्रो गरेर पढेको फेरि त्यस बेला नै कम्प्रिहेन्सिभ परीक्षा पास गरेपछि मात्र आईए पास हुने नियम आयो । अरू ४ सेमेस्टर पास हुँदा आईए पास हुन्थे । उहाँले भने कम्प्रिहेन्सिभ पनि पास गर्नुपर्ने भयो । ४७ जनाले कम्प्रिहेन्सिभ दिएकामा ८ जना मात्र पास भए । त्यसमध्ये उहाँ एक जना हुनुहुन्थ्यो । 

उहाँ अब बीए पढ्न काठमाडौँ हानिनुभयो पूर्वाञ्चल यातायात चढेर । पहिलो पटक काठमाडौं सुनधारा झर्दा उहाँलाई अत्यास लाग्यो । नयाँ ठाउँ कता पूर्व, कता पश्चिम, कता जाने, के गर्ने, केही अत्तोपत्तो थिएन । 

यहाँ काठमाडौं उहाँको काकाको छोरा हुनुहुन्थ्यो । डेरा थियो धोबीधारामा । 

त्रिचन्द्र कलेजमा बीएमा भर्ना गरेपछि सुरु भयो उहाँको अर्को तहको पढाइ । कलेज थियो दिउँसो । पछि महालेखा नियन्त्रकको कार्यालयमा अस्थायी जागिर खाएपछि कलेज राति सार्नुभयो । त्यस बेला हाल भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ पनि उहाँहरूको सहपाठी हुनुहुन्थ्यो ।बीए पास भएपछि उहाँले पढाइ अगाडि बढाउन त खोज्नुभएको हो तर जागिर तथा अन्य कुराले साथ दिएन । अर्को कुरा भनेको उहाँलाई पढ्ने भन्दा पनि त्यसको कुनै न कुनै रूपमा उपयोग हुनुपर्छ भन्ने लाग्थ्यो । प्रयोग नहुने डिग्री थुपारेर के काम भन्ने उहाँको सिद्धान्त नै बन्यो । 

०००

जागिरको क्रममा महालेखा नियन्त्रण कार्यालयको जागिर पहिलो बन्न पुग्यो । तलब थियो २५० रुपैयाँ । त्यो रकमडेरा भाडालगायत अरू आवश्यकता पूर्तिमा सहायक बन्यो । आईए पास भए पनि जागिर भने खरिदारको थियो । उहाँले करिब ५ महिना काम गर्नुभयो महालेखामा । 

त्यसपछि चिनजानको एक जना भूप राईले 'के खरिदारको जागिर खाइरहेको, नगर विकासमा नासु सरहको जागिर हुन्छ' भनेर सहअञ्चलाधीश तेजप्रसाद उपाध्यायकहाँ लिएर जानुभयो । अनि, उहाँको जागिर भयो नगर विकास ललितपुरमा नासु सरह । तर, त्यहाँ स्थायी पदपूर्ति भएपछि उहाँ फेरि बेरोजगार । 

भक्तपुरको बालकोटका एक जना माधव रानाभाट उहाँको चिनजानको हुनुहुन्थ्यो । उहाँको स्कुललाई ४-७ कक्षासम्म पढाउने विज्ञान शिक्षक चाहिएको रहेछ । नपढाएको भए पनि पढाउँछु भनेर उहाँले आँट गर्नुभयो । 

जागिर दिने भएपछि भने उहाँलाई तनाव भयो- पढाउने पो कसरी ! उहाँले ४-७ सम्मको विज्ञान तथा गणितका किताब किनेर पढ्न थाल्नुभयो । उहाँलाई लाग्यो- शिक्षक हुनु भनेको विद्यार्थी हुनु पो रहेछ ! उहाँलाई यो काम ठिकै लाग्यो मनमनै । करिब एक-डेढ वर्ष पढाउनुभयो महेन्द्र रत्न, त्यस बेलाको निमाविमा । 

बीए पास भएको हुनाले एक जना भोजपुरतिरका साथीले खरिदार, नासु, अधिकृत सबैमा दिनू भनेर सिकाउनुभयो । 'खरिदारचाहिँ परराष्ट्र तथा अर्थमा पाए मात्र जानू । नभए नजानू । सुब्बा र अधिकृतमा भने जहाँ गए पनि हुन्छ' भनेर । 

०००

त्यस बेला उहाँले त्रिवि सेवा आयोगमा पनि जाँच दिनुभएको थियो । सहप्रशासकमा उहाँको नाम निस्कियो । त्यसै बेला खरिदारमा परराष्ट्रमा समेत नाम निस्कियो । 

सेवा आयोगमा काम गरिरहेका एक जना अग्रजले खासै यहाँ त्यति राम्रो सेवा, सुविधा नभएका कारण परराष्ट्रमा जानु ठिक हो भन्नुभयो । उहाँको परराष्ट्रमा पहिलो नम्बरमा नाम निस्किएको थियो । त्यसैले उहाँ परराष्ट्रतिर जानुभयो जागिर खानका लागि । यो भनेको २०३८ सालको कुरा हो । 

२०४२ सालको पुसमा राजा वीरेन्द्रको जर्मनी भ्रमण हुने कार्यक्रम थियो । उहाँलाई भने मंसिरको अन्त्यसम्ममा जर्मनी जानुपर्छ भनेर परराष्ट्रले पुर्जी दियो । 

त्यस बेला विदेशमा जुनसुकै पदका लागि जानुपर्दा पनि सबै विवरण राजदरबार पठाउनुपर्थ्यो । दरबारले त्यसमा सहमति दिएपछि मात्र त्यो आधिकारिक हुने प्रचलन थियो । 

उहाँको जर्मन भाषाको ज्ञानले गर्दा उहाँको पहिलो दरबन्दी नै जर्मनी हुन पुग्यो । सायद परराष्ट्रमा यसरी प्रवेश पाउने छाङ्छा नै पहिलो राई हुनुपर्ने उहाँको भनाइ छ । 

२७ वर्ष परराष्ट्रमा काम गर्नुभएका छाङ्छाले जर्मनी, अमेरिका, भारत, कतार तथा भारत भने उहाँ कामको सिलसिलामा जानुभयो । त्यसका अलावा उहाँले थुप्रै देशको भ्रमणसमेत गर्नुभएको छ । 

०००

२०३४ सालमा उहाँको एउटा कथा लेख्नुभएको थियो । अफालिएका फूलहरू । निर्माण नेवाको जनजागृति भन्ने पत्रिकामा प्रकाशित उक्त कथा उहाँले हुलाकबाट पठाइदिनुभएको थियो । 

उहाँको नेपाली गुरु टेकप्रसाद घिमिरेले पनि उक्त कथा हेर्नुभएको रहेछ । उहाँले 'तपाईँ गज्जब लेख्नुहुँदो रहेछ नछाड्नुहोस्, तपाईँले केही योगदान दिनुहुन्छ' भन्नुभएको थियो । 

पछि उहाँले रमेशनाथ पाण्डेको 'नयाँ सन्देश' पत्रिकामा पनि एउटा रचना पठाउनुभयो । त्यहाँ पनि छापियो । यसले उहाँमा थप उत्साह थप्यो । उत्साह यस कारण कि कसैलाई नचिनीकन, नभनीकन पनि रचना छापिँदो रहेछ भने आफूमा केही रहेछ भन्ने भयो । 

२०५२ सालमा उहाँ अस्ट्रेलिया जानुभयो अनि 'कंगारुको देशमा हराउँदा' भन्ने एउटा नियात्रा लेखेर गोरखापत्रमा पठाउनुभयो । सँगै भएका साथीले कोही नचिनीकन कसरी छापिएला र भनेर नाक खुम्च्याए । तर, छापा जस्तो अक्षरमा लेखेर पठाएको उहाँको नियात्रा साँच्चै छापियो पो त !

पछि उहाँले साथीहरूलाई 'मेरा तलदेखि माथिसम्म सबै छन्, ल हेर छापिएको' भनेर देखाउनुभयो । त्यो उनीहरूलाई केवल देखाउनका लागि गरे पनि उहाँलाई भने त्यसले मैले लेख्न सक्ने रहेछु भन्ने उत्साह दियो । 

त्यसपछि उहाँले 'रोम बसाइका क्षणहरू' भनेर एउटा लेख लेखेर मधुपर्कमा दिन जानुभयो । तत्कालीन सहायक सम्पादक श्रीओम श्रेष्ठले 'पहिले कतै केही छापिएको छ ?' भनेर सोध्नुभयो । उहाँले गोरखापत्रको रचना देखाउनुभयो । 

श्रेष्ठले 'ल ठिक छ, छाडेर जानुहोस्, हेरेर मिलाउनुपर्छ' भन्नुभयो । पछि त्यो रचना पनि छापियो मधुपर्कमा । यसरी बिस्तारै उहाँ साहित्यमा स्थापित हुनुभएको हो । 

'कंगारुको देशदेखि आइफेल टावरसम्म', 'चाँप फुल्ने पहाड मुन्तिर', 'बादल रुँदाको जुरिच', 'बिँब्लेटो आकाशको धरातलतिर', 'दोहाको सिधा उडान', 'पैदलै काठमाडौं चुलीहरू' नियात्रासंग्रह प्रकाशित भएका छन् । अनुसन्धानात्मक कृति नियात्रा विधा परिचय भने रत्न पुस्तकले प्रकाशन गरेको छ । 

उहाँको लेखनको प्रारम्भ भने कथाबाट भयो । तर, पछि उहाँलाई सशक्त बनाउने काम भने नियात्राले गर्‍यो । पछिल्लो चरणमा उहाँ नियात्रा विधालाई स्थापित गर्नमा लागि परिरहनुभएको छ । 

नियात्रा समाजको संस्थापक सदस्य छाङ्छा शमि साहित्य प्रतिष्ठानको पनि संस्थापक, स्रष्टा समाज, सारांश नेपाललगायत थुप्रै संस्थाहरूमा उहाँको संलग्नता थियो । तर, अहिले धेरै छाडेर सीमित केहीमा भने हुनुहुन्छ । 

कर्ममा विश्वास गर्ने तर पुरस्कार र सम्मानको खासै वास्ता नगर्ने उहाँका साझा पुरस्कारलगायत अन्य पुरस्कार पनि छन् ।