सेतो पन्ना

सेतो पन्ना

धनचन्द्र राई  |  साहित्य  |  माघ ८, २०७८

धरतीमा फुलेको सिमलको भुँवा जस्तै
आकाशमा उडेको सेतो बादल जस्तै
निर्दोषी, निश्चल, निमुखा
म कागजको एउटा 
सफा सेतो पन्ना ।

जब मलाई 
कालो मसिको धब्बा लाग्छ,
तब, सडकका भित्तारूमा
आगोका चित्ताहरुमा
चौतारा ठाँटिहरुमा
सूचना पाटिहरुमा
टाँसिएर सर्वाङ्ग
च्यातिएर धुँजा धुँजा भएसम्म
पिल्सिएर फिका–फिका भएसम्म
मैले बोल्नुपर्छ अर्काको भाषा
मैले पोख्नुपर्छ अर्काको भावना
मैले गाउँनुपर्छ अर्काको गित
घामले टनटली पोलेको
मान्छेले मनपरि बोलेको
पिँडाहुँदोहो त
म किन कागज बन्थ्यें ।


सेतो रहनू 
अस्तित्व नरहनू हो
आवश्यक्ता नरहनू हो
अर्थ नरहनू हो
माने, जीवन नरहनू हो
यहाँ झुपडीको गित बन्नु
भोकाहरुको ब्यथा बन्नु
दरबारको कथा भन्नु
अदालतमा साँक्षि बस्नु
ब्यालेट बनेर ढ्वाङमा खस्नु
बिचित्र बिचित्रको चित्र बन्नु
सगोल सगोललाई टुक्र्याउनु
टुक्रा टुक्रालाई जोड्नु
अबोललाई बोलाउनु 
कालो त पोत्नैपर्छ 
च्यातिएर डस्टबीनमा फालिनु
पिल्सिएर भित्तामा टालिनु
पिँडा हुँदो हो त
म किन कागज बन्थें ।

मजा त 
जो प्रेमको फुल बन्नुमा छ
रंग बदलेर बद्ला लिनु
बद्ला लिएर रंग बदल्नु
जिन्दगीको घामपानिमुनि
यात्राको क्षितिजमा इन्द्रेणि बन्नु ,
मजा त
जो चङ्गा बन्नुमा छ
हावा खाँदै आकाशमा उड्नु
आकाशमा उड्दै हावा खानु
धागो चुटिएर सम्बन्ध छुटेपनि
एकान्तमा आकाशले मजा लुटेपनि
हावाले बाटो बिराए पनि
अन्तरिक्षामै अस्तित्व हराएपनि
निसफिक्रि उड्नु
आफै शुन्य हुनु
आफै बिलिन हुनु ।

इतिहासको ठेलि बन्नु
उपन्यासको कोसेली बन्नु
दिन दिनै पन्नाहरु च्यातिनु
सोहोरिएर फोहोरमा फ्याकिनु
पिँडा हुँदो हो त
म किन कागज बन्थ्येँ ।।

                                                          २०७८ पौष २२ धरान