पूर्वआयुक्त पाठक ७८ लाख धरौटीमा रिहा

पूर्वआयुक्त पाठक ७८ लाख धरौटीमा रिहा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७६

काठमाडौं । घुस लिएको अभियोगमा मुद्दा चलाइएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक ७८ लाख रुपियाँ धरौटीमा रिहा हुनुभएको छ । मुद्दाको म्याद बुझे पनि लामो समयसम्म थुनछेकमा उपस्थित नहुनभएका पाठक बुधबार विशेष अदालतमा हाजिर हुनुभएको थियो । पाठकको बुधबार नै बयान र थुनछेक बहस भएको थियो । 

संवैधानिक निकायका कुनै पनि बहालवाला पदाधिकारीमाथि भ्रष्टाचार अभियोगमा चलाइएको यो पहिलो मुद्दा हो । थुनछेक आदेशले धरौटीमा रिहा भएसँगै पाठकले अब मुद्दा थप प्रक्रिया कारागार बाहिर नै रहेर गर्न सक्नुहुनेछ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकसँग धरौटी माग गरेको थियो । 

माग बमोजिम ७८ लाख रुपियाँ धरौटीलाई बैङ्क ग्यारेन्टी राखेर उहाँ रिहा हुनुभएको हो । नेपाल बङ्गलादेश बैङ्कको जमानतमा उहाँलाई अदालतले रिहा गरेको हो । पाठकलाई घुस दिएको अभियोगमा न्यौपानेलाई विपक्षी बनाइएको हो । पाठकले इजलासमा उपस्थित हुन पाउँ भन्ने निवेदन बुधबार नै दर्ता गर्नुभएको थियो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले पाठक बिगो बमोजिम धरौटीमा रिहा हुनुभएको बताउनुभयो । पाण्डेले भन्नुभयो, ‘उहाँ आजै अदालतमा उपस्थित हुनुभएको थियो । इजलासले तोकेको धरौटी बैङ्क ग्यारेन्टीमा उहाँ रिहा हुनुभएको हो ।’  गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।