'त्रिवि कर्मचारी परीक्षामा अनियमितता'

'त्रिवि कर्मचारी परीक्षामा अनियमितता'

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

'भेटिएका केही तथ्यांकले गम्भीर अनियमितता संकेत गरेका छन्,' अख्तियार स्रोतले भन्यो, 'प्रारम्भिक छानबिनमा रहेको फाइल तत्काल विस्तृत अनुसन्धानमा गइहाल्छ । थप कागजपत्र हेरेर छानबिन गर्दै छौं ।' अख्तियार प्रवक्ता प्रदीप कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट केही कागजात अख्तियारले नियन्त्रणमा लिएको जानकारी दिँदै छानबिन चलिरहेको बताए ।

परीक्षामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी संघ/संगठन र राजनीतिक दलका पहुँचवाला नेताहरूका नातागोताको नाम निस्किएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । यस विषयमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । केन्द्रले छानबिन टोली खटाइसकेको छ । 'उजुरीपछि टोली बनाएर खटाएका थियौं,' केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले भने, 'अख्तियारले फाइलहरू लिएको जानकारी आएको छ, उसको निर्णय कुरेर बसेका छौं ।' अख्तियारको छानबिन प्रक्रिया र निर्णयपछि केन्द्रले थप निर्णय लिने उनले जनाए । आजको कान्‍तिपुर दैनिकले यो समाचार प्रकाशित गरेको छ ।