किन घोचपेचमै उत्रिए दाहाल र पोखरेल ?

किन घोचपेचमै उत्रिए दाहाल र पोखरेल ?

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७६

काठमाडौं । एकताको झन्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै नेकपाभित्र विवाद बढेको छ । नेताहरूबीचको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको छ । आउँदो शुक्रबार एकता दिवस मनाउने तयारीमा रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्य ईश्वर पोखरेलबीच बुधबार युवासंघको मञ्चमा चलेको घोचपेचले आन्तरिक विवादलाई सतहमा ल्याइदिएको छ ।

नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाललगायतले पार्टीको कार्यशैली र वैचारिक कार्यदिशामाथि यसअघि नै पटकपटक प्रश्न उठाएका थिए । पार्टी सञ्चालन शैलीप्रति आन्तरिक रूपमा असहमति राख्दै आएका उपप्रधानमन्त्री पोखरेलले बुधबार सार्वजनिक मञ्चबाटै वैचारिक रूपमा पार्टी स्पष्ट नहुने हो भने तासको महलझैं ढल्न सक्ने चेतावनी दिए ।

‘विचारमा स्पष्ट नभएको कम्युनिस्ट पार्टीले दुनियाँमा दुर्भाग्यको स्थिति भोग्नुपर्‍यो, हामी त्यो दुर्भाग्य भोग्न चाहन्नौं, हामीले विचारमा स्पष्ट भएको कम्युनिस्ट पार्टी चाहेका हौं,’ उनले भने, ‘हामीले संसारभर देख्यौं, कम्युनिस्ट पार्टीेहरूले ठूल्ठूला बलले राज्यसत्ता कब्जा गरे । शासनसत्ता सञ्चालन गरे । कुनै पनि पुँजीवादीको एउटा पनि गोली नलागी तासको महलझैं ढले । हाम्रो कम्युनिस्ट पार्टी कुनै हालतमा त्यस्तो हुनुहुन्न । हामी सबैले खबरदारी गर्नुपर्ने जरुरी छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।