बुर्किना फासोका राष्ट्रपति काबोर सैनिकको ‘हिरासतमा’

बुर्किना फासोका राष्ट्रपति काबोर सैनिकको ‘हिरासतमा’

एजेन्सी  |  विदेश  |  माघ १०, २०७८

बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई विद्रोही सैनिकहरूले ‘हिरासतमा’ लिएका छन् । सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाहरूले राष्ट्रपति काबोरेलाई विद्रोही सिपाहीहरूले हिरासतमा लिएको जनाएका छन् । 

द्वन्द्वग्रस्त देश कुर्किना फासोमा केही दिनदेखि केही सैनिकले ब्यारेकभित्रै विद्रोह गरिरहेका थिए । यसैबीच यहाँ सैनिक ‘कु’को हल्ला पनि चलिरहेको थियाे । आइतबार पनि राष्ट्रपति काबोरेको ओआगाडौगुस्थित घर नजिकै गोली चलेको थियो । सोमबार बिहानैदेखि उनको निवास आसपास हतियारले भरिएका सशस्त्र गाडीहरू देखिएको समाचार संस्थाहरूले जनाएका छन् । त्यहाँ रगतले लतपतिएको अवस्थामा एक जना मानिससमेत देखिएको उनीहरूले उल्लेख गरेका छन् । 

यहाँको सुरक्षा स्रोत र पश्चिम अफ्रिकी एक कूटनीतिज्ञले काबोरलाई सैन्य शिविरमा हिरासतमा राखेको जनाएका छन् । तर, सरकारले भने आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन । साथै, ‘कु’सम्बन्धी विषय पनि अस्वीकार गरेको छ । ‘हामीले भर्खरै सैन्य अड्डा पार गर्‍यौँ, जहाँ काबोरलाई बन्दी बनाएको आरोप लगाइएको छ’, पत्रकार हेनरी विल्किन्सले सोमबार औगाडोगुबाट भनेका छन्, ‘शहरको सवारी व्यवस्थापन समान्य छ । तर, राष्ट्रपति भवन वरपरको सडकमा उच्च संख्यामा सैन्य कर्मचारीहरू छन् ।'