२ युनिट बनाएर छायांकन गर्दै 'लाखे'

२ युनिट बनाएर छायांकन गर्दै 'लाखे'

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ १०, २०७८

कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरे पनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाको मापदण्ड पालना गर्दै फिल्म छायांकन गर्न सकिने चलचित्र विकास बोर्डले जनाएको छ ।

कोरोनाको तेस्रो लहरको हल्लासँगै लगानीमा जोखिम भन्दै केही फिल्मले आफ्नो छायांकन स्थगित गरेका छन् । ठूला बजेटमा निर्माण हुने भनेर धेरै अगाडिदेखि हल्ला गरिएका फिल्म ‘एक्स ९’ र ‘सत्यम्’ टिम अझै छायांकनमा निस्किन सकेको छैन । फिल्म बन्ने वा नबन्ने यसै भन्न सकिँदैन ।

यस्तैमा ठूलो बजेटमा निर्माण हुन लागेको फिल्म ‘लाखे’ भने अहिले काठमाडौंमा धमाधम छायांकन भइरहेको छ । थुप्रै स्टारहरूले भरिएको यस फिल्मको गत पुसको अत्यदेखि छायांकन सुरु भएको हो । भव्य शुभमुहूर्त गर्दै छायांकन सुरु गर्ने तयारीमा रहेको फिल्मको कोरोनाका कारण सुटुक्क छायांकन सुरु गरिएको निर्देशक सम्राट बस्नेतले बताए ।

‘भव्य शूभमुहूर्त गरेर फिल्म फ्लोरमा लैजाने तयारी हाम्रो थियो तर कोरोनाको बढ्दो संक्रमणले गर्दा सरकारले २५ जनाभन्दा बढी एकै स्थानमा सहभागी हुन रोक लगायो’, निर्देशक बस्नेतले भने, ‘कोरोनाका कारण हामीले सीमित कलाकारको उपस्थितिमा मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गर्‍यौँ ।’ 

फिल्म युनिट धेरै भएकाले अहिले २ वटा युनिट बनाएर फिल्मको छायांकन गरिरहेको निर्देशक बस्नेतको भनाइ छ । ‘एक निर्देशकले एकै समय २ युनिटसँग काम गर्नु निकै गाह्रो रहेछ’, निर्देशक बस्नेतले भने ।

एउटा फिल्म छायांकनका लागि २ वटा युनिटले फरक फरक कम गरेको नेपालको हकमा संभवतः यो पहिलो हो । यसमा फिल्मका प्राविधिकदेखि धेरै युनिटसमेत २ सेट चाहिन्छ । त्यसले निर्मातालाई समेत आर्थिक भार पर्न जान्छ । यस फिल्मका निर्माताहरू भने त्यो आर्थिक भार बेहोर्न तयार देखिएका छन् ।

‘फिल्म सुटिङका लागि २ वटा युनिट बनाउनुपर्दा आर्थिक भार बढ्नुका अलावा धेरै झन्झट पनि रहेछ’, कार्यकारी निर्माता हरि मल्ल ठकुरीले भने, ‘आर्थिक कुरो त दोस्रो हो । महत्त्वपूर्ण कुरो त कलाकार र युनिटको सुरक्षा हो ।’ सबैको स्वास्थ्य सुरक्षाका खातिर निर्माण युनिटबाट थप भर बेहोर्न राजी भएको निर्माता हरिको भनाइ छ । 

‘हामीले ५ करोड रुपैयाँभन्दा माथि बजेटमा फिल्म निर्माण गर्न लागेका हौँ । २ वटा युनिट गर्दा ५ को ठाउँमा ६ पुग्ला’, निर्माता हरिले थपे, ‘यसले कलाकारको सुरक्षा पनि गर्छ नि !’

‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनिरहेको फिल्म हो । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । गणेश मल्ल ठकुरी प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापालगायत थुप्रै कलाकारको अभिनय रहनेछ ।

निर्माण युनिटले फिल्म छायांकनका फोटो भने अहिले बाहिर ल्याएको छैन । फिल्ममा रहेको कलाकारको लुक बाहिरिने डरले तस्बीर नल्याएको हो । फिल्मका लागि सबै कलाकारको लुक्समा निकै ध्यान दिइएको छ ।