टीकाको शब्द र गायक तथा सङ्गीतकार राजेशपायलको सङ्गीतमा ‘सै हँमा सै हँपा’

टीकाको शब्द र गायक तथा सङ्गीतकार राजेशपायलको सङ्गीतमा ‘सै हँमा सै हँपा’

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ ११, २०७८

काठमाडौँ । प्रखर कवि तथा गीतकार टीका चाम्लिङको अब्बल शब्द–रचना र प्रख्यात गायक तथा सङ्गीतकार राजेशपायल राईको सङ्गीतमा ‘सै हँमा सै हँपा’ बोलको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ । गीतकार चाम्लिङको नौलो प्रयोगसहितको सुन्दर र अर्थपूर्ण शब्दहरूलाई राजेशपायलले उस्तै सुमधुर सङ्गीत भरेका छन् । गीतमा राजेशपायल र द भ्वाइस किड्स नेपाल–२०७८ की उत्कृष्ट ८ प्रतिस्पर्धीमध्ये की दार्जिलिङकी गायिका पेमा देचेन तामाङको स्वर रहेको छ । गीत निकै ओजपूर्ण छ ।

विगत तीनदसकदेखि एकपछि अर्को अब्बल शब्द रचनाका माध्यमबाट आफूलाई नेपाली साहित्यिक तथा साङ्गीतिक धरातलमा अब्बल सावित गर्दै आइरहेका एक जना स्वाभिमानी र इमानदार गीतकार टीका चाम्लिङको यो पछिल्लो रचना उत्कृष्टताको अर्को दृष्टान्त हो भन्ने कुरा सिर्जना स्वयंले सिद्ध गरेको छ ।

गीतकारले गीतमा प्रयुक्त ‘सै हँमा सै हँपा’ शब्द किराँती राई चाम्लिङ भाषाबाट लिएका हुन् । नेपाली गीत लेखन क्षेत्रमा प्रयोग भएको सम्भवतः पहिलो गीत हो– सै हँमा सै हँपा । अत्यन्तै सम्मानित व्यक्तिहरूका लागि सम्बोधन गरिने यी शब्दहरूको प्रयोगले गीतमा नयाँपन थपिएको छ ।  

यस भिडियोमा गायक राजेशपायल राई र गायिका पेमाको अभिनय पनि रहेको छ भने भिडियोलाई राजेशपायल राई म्युजिक एकेडेमी तथा राजेशपायल राई फाउन्डेसनले संयुक्त रूपमा प्रस्तुत गरेको छ । यो सिर्जनालाई नेपाली साहित्य र सङ्गीतको फाँटका लागि अर्को प्राप्तिका रूपमा लिन सकिन्छ ।