राष्ट्रियसभा निर्वाचन भोलि, कहाँकहाँ मतदानस्थल ?

राष्ट्रियसभा निर्वाचन भोलि, कहाँकहाँ मतदानस्थल ?

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ११, २०७८

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ३, मधेस प्रदेशमा २, बाग्मतीमा २, गण्डकीमा ३, लुम्बिनीमा ३, कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा ३ गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन हुन लागेको हो । 

यसका लागि ८ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ । 

मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बाग्मती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा लुम्बिनी प्रदेशका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।