ओमिक्रोनको लहर: भ्याक्सिनका नामामा अनुमानित अनुसन्धान र हचुवाको खेती
माघ ११, २०७८

भारतको एउटा प्राइभेट अस्पताल 'म्याक्स हेल्थ केयर'ले गरेको अध्ययनअनुसार ओमिक्रोनको लहरमा मर्नेहरूमध्ये ६० प्रतिशत कि त भ्याक्सिनको एक डोज मात्र लगाएका अथवा भ्याक्सिन नलगाएका मानिस थिए ।

म्याक्स हेल्थ केयरका अनुसार ओमिक्रोन संक्रमणको लहरमा यसका अस्पतालमा ८२ जनाको निधन भयो । यी ८२ जनामध्ये ४९ जनाले भ्याक्सिनको पूर्ण डोज लिएका थिएनन् । मृतक ४९ जनामध्ये कति जनाले भ्याक्सिन लिएका थिए, कति जनाले भ्याक्सिन लगाएका थिएनन्, यसबारे विस्तृत उल्लेख नगरी एकमुष्ठ भनिएको छ- ६० प्रतिशतले भ्याक्सिनको एक डोज मात्र लगाएका थिए अथवा भ्याक्सिन लगाएका थिएनन् । खोइ यस्तो अनुसन्धानलाई के भन्ने ?

अस्पतालमा भर्ना हुन आएका संक्रमितले कतिवटा भ्याक्सिन लिएको अथवा कुनै पनि भ्याक्सिन नलिएको रेकर्ड हुुँदैन र ? कति जनाले एक डोज लिएका थिए र कति जनाले भ्याक्सिन लिएका थिएनन् ? निश्चय पनि अस्पतालसँग त्यसको रेकर्ड हुन्छ । तर, भ्याक्सिनको वास्तविकता सार्वजनिक नहोस् भन्ने उद्देश्यले यस विषयक रिपोर्टमा तथ्यसँग खेलवाड गरिन्छ ।

अब सर्वसाधारणलाई म्यासेज जान्छ- भ्याक्सिन नलगाएका व्यक्ति संक्रमित हुँदा मर्छन् ।

अर्को खेल पनि बडो धूर्त ढंगले गरिन्छ ।

म्याक्सको रिपोर्टअनुसार ४० प्रतिशत संक्रमितको मृत्युबारे पूर्ण मौनता छ । भनिएको छ- यी सबै जना ७० वर्षभन्दा माथिका थिए, दीर्घ रोगी थिए । के एक डोज भ्याक्सिन लिने अथवा भ्याक्सिन नलिने सबै २१ वर्षका लक्का जवान थिए ?

ओमिक्रोनको संक्रमण लहरमा म्याक्सका अस्पतालमा मर्ने कुल ८२ जनामध्ये ३३ जना 'फुल्ली भ्याक्सिनेटेड' थिए । हुन सक्छ कि बुस्टर डोज लगाएका पनि मरे । भारतमा ६० वर्षमाथि उमेर समूहलाई बुस्टर डोज दिइएको छ । बुस्टर डोजबारे अनुसन्धान मौन रहे पनि ४० प्रतिशत मृतक अर्थात् ३३ जनाले भ्याक्सिनका पूर्ण डोज लाएको स्पष्ट नै छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० माघमा नेपालका अस्पतालमा २३८ जना आईसीयू र ४३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यी २८१ जना उपचाररत संक्रमितमध्ये कति जना भ्याक्सिन नलिएका व्यक्ति हुन ? कति  जना पूर्ण खोप लगाएका र कति जना बुस्टर डोज लगाएका व्यक्ति हुन् ?

ओमिक्रोनको लहर आउँदासम्म प्रायः अधिकांश देशमा ६५-७० प्रतिशत भ्याक्सिनेसन भइसकेको थियो । कतिपय देशमा बुस्टर डोज प्रारम्भ भइसकेको थियो । ओमिक्रोन आएपछि विश्वमा झन्डै ५-६ लाख मानिसको संक्रमणका कारण मृत्यु भइसकेको छ । २०२१ अक्टोबरमा कोरोनाका कारण विश्वभर मृतक संख्या ५० लाख पुगेको थियो । अहिले यो संख्या ५६ लाख २१ हजार ९९५ पुगेको छ । ओमिक्रोन आएयता सबैभन्दा बढी मृत्यु युरोपेली देश र अमेरिकामा भएको  छ । के यी देशका सबै मृतक भ्याक्सिन नलगाएका मानिस  थिए ? यो डाटा प्राप्त हुन केही मुस्किल छैन ।

नेपालबाट यसको प्रमाण बुझौँ ।

अहिले कोही एक जना संक्रमित भएर अस्पताल पुग्दा ऊसँग अथवा उसको परिवारका सदस्यसँग अस्पतालले कुन भ्याक्सिन लगाएको,  कति डोज भ्याक्सिन लगाएको सबै जानकारी लिने गर्छ । के अमेरिका-युरोपका अस्पतालमा नेपालजतिको काम पनि हुँदैन ? अनि  प्रत्येक दिन यो तथ्यांक किन प्रकाशन हुँदैन-आज संक्रमणका कारण यति जनाको मृत्यु भयो । यसमध्ये यति जनाले भ्याक्सिन लगाएका थिएनन्,  यति जनाले एक डोज भ्याक्सिन र यति जनाले दुवै डोज भ्याक्सिन लगाएका थिए ।यति संख्याका बुस्टर डोज भ्याक्सिन लिनेको मृत्यु भयो । भ्याक्सिनको चौथो खुराक पनि घोपिसकेको इजरायल जस्ता देशले आजको मृतक संख्यामा यति जना चौथो डोज भ्याक्सिन लगाएका मानिस थिए भनेर किन सार्वजनिक गर्दैन ?

नेपालमा ओमिक्रोनको लहर आएयता स्वास्थ्य मन्त्रालयका अनुसार ७ माघसम्म ३४ जनाको मृत्यु भएको थियो । ८ माघमा १६ जना, ९ माघमा ४ जना, १० माघमा ४ जना गरी माघ महिनामा ५८ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयले हचुवामा जानकारी दिएर हुँदैन, विस्तृत रूपमा जानकारी दिनुपर्छ- यी ५८ जना मृतकमध्ये ककसले कतिवटा भ्याक्सिन लगाएका थिए ? सालाखालामा अधिकांशले भ्याक्सिन लगाएका थिएनन् भन्नुको कुनै तुक छैन । भ्याक्सिनको उपयोगिता, उपादेयता, प्रमाणिकता, प्रभावकारिताबारे सबै कुरा छर्लङ्ग  हुनुपर्छ ।  कुन भ्याक्सिन नेपालमा कतिको प्रभावकारी छ, जान्नु सरकारकै लागि महत्त्वपूर्ण र उपयोगी हुन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० माघमा नेपालका अस्पतालमा २३८ जना आईसीयू र ४३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यी २८१ जना उपचाररत संक्रमितमध्ये कति जना भ्याक्सिन नलिएका व्यक्ति हुन ? कति  जना पूर्ण खोप लगाएका र कति जना बुस्टर डोज लगाएका व्यक्ति हुन् ? यसको तथ्यांक सार्वजनिक गरिदिए संक्रमण प्रसार रोक्न सहायता पुग्ने थियो । भ्याक्सिन नलगाए संक्रमण गम्भीर भएर भेन्टिलेटर आवश्यक हुन सक्छ भन्ने सन्देश प्रसार हुने थियो । साथै, भ्याक्सिन लगाए पनि संक्रमणको खतरा यथावत नै हुन्छ भन्ने सन्देश प्रसार भएर भ्याक्सिन लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमणप्रति सचेत भएर कोरोना प्रोटोकल पालना गर्ने प्रेरणा प्राप्त हुने थियो ।

नेपालमा अहिले संक्रमण 'पिक' अवस्थामा छ । यो आउने केही दिनसम्म जारी रहन सक्छ । कसैले पनि भ्याक्सिनको विरोध अथवा यस विषयमा अनावश्यक कुरा गर्नुको कुनै औचित्य छैन । भ्याक्सिनबाहेक आधुनिक विश्वसँग संक्रमणविरुद्ध लड्ने अन्य कुनै उपाय छैन । भ्याक्सिन कोरोना संक्रमणविरुद्ध रामवाण औषधि नभए पनि, संजीवनी औषधि नभए पनि मनोबल बढाउने उपाय हो ।

नेपालमा ओमिक्रोन लहर कहिलेसम्म हावी भइरहन्छ, यसको निर्भरता भारतका नेपाली छिमेकी राज्य उत्तर प्रदेश तथा उत्तराखण्डको अवस्थामाथि निर्भर गर्छ । यी दुवै प्रान्तमा चुनावको समय हो । ८ मार्चसम्म हुने चुनावले यी २ राज्यमा संक्रमणको अवस्था के कस्तो रहन्छ, त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्छ । भ्याक्सिन लिनुहोस्, सुरक्षित बस्नुहोस् साथै संक्रमण भएमा किंचित पनि विचलित नभई घरेलु तथा आयुर्वेदिक औषधि सेवन गरी संक्रमणलाई परास्त गर्ने मानसिकता विकसित गर्नुहोस् । आयुर्वेदिक पद्धतिले ३-४ दिनमै संक्रमणमुक्त बनाउन सक्छ ।


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।