आफैंलाई जित्दै कामिरिता

आफैंलाई जित्दै कामिरिता

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७६

काठमाडौं । संसारमा विभिन्नखाले प्रतिस्पर्धामा एकले अर्कालाई जित्ने र हराउने क्रम चलि नै रहेको हुन्छ। नेपालका एक आरोहीले भने आफैंलाई जितेर विश्वको ध्यान आफूतिर खिचेका छन्। २२औं पटक सगरमाथा चढेको आफ्नै रेकर्ड तोड्दै बुधबार बिहान ७ बजेर ५० मिनेटमा २३औं पटक सर्वोच्च शिखर चुमेका ४९ वर्षीय कामिरिता शेर्पा सबैका मनमा छाउन पुगेका हुन्।

सन् १९५३ मे २९ मा तेन्जिङ शेर्पासँगै पहिलोपटक सगरमाथा चढेका एडमन्ड हिलारीले भनेका थिए, ‘सगरमाथा दोस्रोपटक कसले चढ्यो भनेर कसैले हेक्का राख्दैन्।’ उनले त्यस्तो बताएको ६६ वर्षपछि ४९ वर्षीय कामिरितालाई धेरैले हेक्का राखे। सन् १९९४ मा पहिलोपटक सगरमाथा आरोहण गरेका सोलुखुम्बु थामे गाउँमा जन्मेका शेर्पाले यसपटक दक्षिणी मोहडाबाट शिखर चुमेको पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाल जानकारी दिए।

धेरैपटक सगरमाथा चढ्ने प्रतिस्पर्धाबाट अगाडि बढेका शेर्पाले यसपटक आफैंसँगको प्रतिस्पर्धामा विजयी भएका हुन्। २१औं पटक सगरमाथा चढेर उनीसँगै प्रतिस्पर्धामा आप्पा शेर्पा र फुर्वातासी शेर्पालाई पछि पार्दै उनी प्रतिस्पर्धाको चुचुरोमा पुगेका हुन्। उनीहरूले पहिल्यै आरोहणबाट सन्न्यास लिइसकेका कारण चाँडै उनको कीर्तिमान भंग हुने देखिँदैन। उनले कसैलाई जित्नभन्दा पनि आफ्नो रहर पूरा गर्न सगरमाथा चढ्ने गरेको बताउने गरेका छन्। २३औं पटक सरमाथाको सफल आरोहणलगत्तै संसारभरका सञ्चार जगत्मा छाएका शेर्पाले आरोहणअघि २५ पटक चुचुरोमा पुगेर मात्रै आराम गर्ने बताएका थिए। आजको नागरिक दैनिकमा खबर छ ।