डा. देवी नेपाल: ५० भन्दा बढी विधा चिनाउने ‘लेखन शिल्प’ प्रकाशित

डा. देवी नेपाल: ५० भन्दा बढी विधा चिनाउने ‘लेखन शिल्प’ प्रकाशित

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ १२, २०७८

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ, कवि तथा समालोचक डा. देवी नेपालको ‘लेखन शिल्प’ नामक कृति प्रकाशन भएको छ । यसभन्दा अगाडि नै कविता लेखनका लागि मार्गदर्शक मानिएको लोकप्रिय कृति ‘छन्द–पराग’ लेखेर चर्चामा आएका स्रष्टा नेपालको प्रस्तुत ‘लेखन शिल्प’ कृतिमा सिर्जना, समालोचना, अनुसन्धान र व्यावहारिक लेखनसँग सम्बन्धित ५० ओटाभन्दा बढी विधा र उपविधाहरूको लेखन सिपसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक जानकारी प्रस्तुत गरिएको हुनाले यो थप उपयोगी हुने अनुमान गरिएको छ । 

प्रस्तुत कृतिमा कविताका लघुतम रूपअन्तर्गत पर्ने हाइकु लेखन, मुक्तक लेखनलगायतका पुरानादेखि नवप्रवर्तित गरी ३१ ओटा प्रकारको उदाहरणसहित चर्चा गरिएको छ । साथै कविताका शास्त्रीय छन्द, मुक्त छन्द र बाल कविता लेखन, गीत लेखन, गजल लेखन, खण्डकाव्य लेखन, लामो कविता लेखन, महाकाव्य लेखन, बृहत्तर महाकाव्य लेखन आदि सबै रूपको सिद्धान्त र लेखन शिल्पका बारेमा जानकारी दिइएको छ । 

यस कृतिमा आख्यानात्मक संरचनाका लघुकथा, कथा, उपन्यास, आत्मकथा आदि, निबन्धात्मक संरचनाका निबन्ध, प्रबन्ध, नियात्रा, जीवनी, निवार्ता आदि, नाट्य संरचनाका एकाङ्की, नाटक, गीतिनाटक आदि लेखनसम्बन्धी सैद्धान्तिक चर्चा गरिएको छ । यसरी नै सिर्जनात्मक लेखनभन्दा अलि बढी प्राविधिक कार्य मानिने चलचित्र लेखनका क्रममा आउने मूल कथा लेखन, पटकथा लेखनदेखि लिएर चलचित्र निर्माण कार्यसँग जोडिएका विविध सिर्जनात्मक एवम् प्राविधिक चरणहरूका बारेमा पनि जानकारी दिइएको छ । 

यस कृतिले सिर्जनात्मक लेखनभन्दा फरक अनुसन्धान कार्यसँग सम्बन्धित सामग्रीहरूलाई पनि समेटेको छ । यस क्रममा समालोचना के हो ? पुस्तक समीक्षा कसरी गर्ने ? अनुसन्धानात्मक लेख कसरी लेख्ने ? शोध प्रस्ताव कसरी बनाउने र सिङ्गो शोध प्रबन्धको ढाँचा कस्तो हुन्छ भन्ने बारेमा पनि उदाहरणसहित जानकारी दिइएको छ । यसरी नै नेपाली साहित्यका क्षेत्रमा लोकप्रिय मानिएका तर सैद्धान्तिक चर्चा कम भएका भूमिका लेखन, पत्र साहित्य लेखन, दैनिकी (डायरी) लेखन, सम्पादकीय लेखनदेखि लिएर नेपाली पाठ्यक्रममा समावेश भएको तर सबैका लागि नौलो मानिने रिपोर्ताज लेखनसम्मका सबै कुराहरूलाई तिनको उत्पत्तिदेखि लिएर प्रयोगात्मक सन्दर्भ र उदाहरणसहित यस कृतिमा समावेश गरिएको कुरा लेखक डा. नेपालले दिनुभएको छ ।

यस कृतिभित्र लेखकलाई शुभकामना दिने क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यो कृति लेखन क्षेत्रमा लाग्न चाहनेहरूका लागि गुरु ग्रन्थ नै बन्ने र स्थापित लेखकहरूका लागि पनि उपयोगी आधार सामग्री बन्ने विचार व्यक्त गर्नुभएको छ भने पुस्तकको पृष्ठ भागमा प्रसिद्ध गीतकार तथा समालोचक प्रा.डा. कृष्णहरि बरालले विश्व साहित्यमा यस प्रकारका कृतिहरू भए पनि नेपालीमा रहेको अभावलाई यसले पूर्णता दिएको कुरा उल्लेख गर्नुभएको छ ।  

प्रस्तुत कृति अनलाइन साहित्यिक पत्रिका ‘साहित्य पोस्ट’मा हरेक शनिवार प्रकाशन हुने ‘सिर्जना पाठशाला’ स्तम्भमा प्रकाशन भएका सामग्रीहरूमा केही थप गरी कृतिको रूप प्रदान गरिएको जानकारी लेखक डा. नेपालले दिनुभएको छ ।  

ऐरावती प्रकाशनबाट प्रकाशित ४४० पृष्ठको ‘लेखन शिल्प’ कृतिको मूल्य रु. ५००/- राखिएको छ । प्रकाशनअगाडि नै पाठकहरूको अत्यन्त धेरै माग भएको प्रस्तुत कृति यही हप्ता मेचीदेखि महाकालीसम्मका ४५ भन्दा बढी पुस्तक पसलमा पुगिसक्ने कुराको जानकारी ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेले दिनुभएको छ ।