खेतबारीमा आउने चाडपर्व र औँसीपुर्ने: आउँछ,जान्छ आफ्ना लागि आफैँ बिदा !
माघ १२, २०७८

काठमाडौंमा बिदासिदा निस्क्यो भने जाने त गाउँमै हो । हामी घीउ काँठेका लागि गाउँ जान दसैँ आइरहन पर्दैन, शुक्रबार मात्र आए पनि पुग्छ । शुक्रबार बेलुका भञ्ज्याङ काटेर आइतबार बिहान काठमाडौं छिर्ने हो । तर, त्यसरी गाउँमा जाँदा शहरिया भइटोपल्दैमा शनिबार फुत्किहाल्छ । शुक्रबार पुग्दापुग्दै रात पर्छ । शनिबार बिहान एकछिन चिया पसलमा फुटानी लगाउन परिहाल्यो । दिउँसो सागसब्जी, गुन्द्रुक, मस्यौरा जोहो गर्दै बितिहाल्छ । एकै दिन बस्ने त हो, के काम काम भन्नू ? भनेर घरमा कामै लगाउँदैनन् । त्यसैले यस्तो पटके छुट्टीमा घर जाँदा अन्त ध्यान दिन भ्याइँदैन । सारा कुरा जान्नका लागि कि त बर्खे वा हिउँदे बिदा कुर्नुपर्छ कि त यस्तै कोरोनासोरोनाको टन्टा सुरु हुनुपर्छ ।

घरमा  केही काम मेरै लागि भनेर राखिएका हुन्छन् । जस्तै: धान कुट्न या मकै पिँध्न जानु । ग्यास सिलिन्डर साटेर ल्याउनु ।

फुर्सद भयो भने शहरमा घुम्छौँ हामी या त चोकतिर रल्लिन्छौँ । दिन बिताउने मेलो त्यही हुन्छ । काम गरेर दिन बिताउन जति गाह्रो मान्छौँ हामी, त्यसभन्दा चौगुना गाह्रो त काम नगरी बस्न हुन्छ ।

आदरणीय पाठक ! यतिबेला रातको करिब ९:४० बजेको छ । सिरकभित्र गुडुँल्किएर यो आलेख तयार गर्दै गर्दा खोरबाट बाख्रा कराएको आवाज आयो । म मोबाइलको टाइपिङ बन्द गरेर कोठाबाहिर निस्केँ । आमालाई बोलाएँ । बाख्रो कराउन थाल्यो ।

हामी खोरमा पुग्यौँ । बाख्राले एउटा पाठो खसालिसकेछ । हामी गएपछि बाख्राले पाठो चाट्न थाल्यो । अरू बाख्रा र पाठा सगबगाउन थाले । अमाले खोले पकाउनुभयो । 'अब खोले खान्छ । बोकोलाई डोकाले छोपेर सुत्ने', यति भन्दाभन्दै बाख्राले अर्को पाठो पनि जन्मायो । फेरि कुर्नुपर्‍यो एकछिन । बाख्राले पाठो चाट्न थाल्यो । बाख्रालाई तेल लगाइदिनुपर्नेरहेछ । यसै बीचमा फोटो खिचेर फेसबुकमा पनि हालेँ ।

त्यसो नगरेको भए नि हुन्थ्यो तर गरियो । बल्ल बाख्राको स्याहारसुसार सकियो । बाख्राले खोर भरेको खुसियालीमा फिका चिया खाएर म फेरि टाइप गर्न थालेँ ।

कोरोनाले गर्दा भएको बिदा मनाउन गाउँ जान थालेको पनि ३ वटा हिउँद भइसक्यो ।

पहिलो कोरोनामा अलिक उत्ताउला काम गरेर 'कुख्यात' भइयो । दोस्रो लकडाउनमा शहर छाडेर गाउँ जानेको खासै सम्मान भएन । `अन्त जान नपाएर गाउँ आएका त हुन् नि !´ भनेजस्तो सस्तो आँखाले हेरे हामीलाई । त्यसै कारण लुत्रे कान लगाएर बस्नुपर्‍यो । यस वर्ष पनि कोरोनाको सुनौलो करामत सुरु भएको छ । अनलाइन कक्षाको पट्यार सुरु हुनुभन्दा अगाडि केही दिन गाउँको हावापानी किन सेवन नगर्ने ? भनेर  भञ्ज्याङ नाघेर गाउँ छिरेँ । भोलिपल्टै धानको बोरा मोटरसाइकलमा लोड गरेर मिलमा खेदाइहाले । `खानपर्ने भए धान कुटेर ले', यस्तो धम्की दिन्छन्, नगरेर सुख ?

हुनत वर्ष दिनमा २-४ पटक धान कुट्न गएर मैले यस्तो फुर्ती लगाएको हो । सधैँ गर्नेले कुरा गर्दैनन् । मोटरसाइकलमा भारी लादेर बजार झरिन्छ । बजारमा वारिपारि सबैतिरका मान्छे र तिनका व्यक्तित्वको प्रतापले झलमल्ल हुन पाइन्छ ।

`नेपालाँ गतिला नेतै छैनन् ।´

`मलाई कसैले बन्दुक दिने र सिंहदर्बाराँ छिर्न दिने हो भने २-४ जना टाउकेको टाउको उडाइदिन्थेँ ।´

`ल अध्यक्ष ज्यू पनि आइपुग्नुभो । ल नमस्कार !´

यस्ता रसिला वाक्य त कति सुन्न पाइन्छ कति ।

तिनले हामीलाई नि शहरिया भनेर उडाउँछन् र हामी उड्छौँ पनि । तरकारी बेचेर आउनेहरू पनि त्यहीँ भेटिन्छन् ।

`हिजोसम्म ३५ थियो सिमी किलोको आज त ख्वात्तै घटाइहालेछन् चोरहरूले २० भन्दा आएन ।´

`यस्तै हो, किसानले दु:ख गर्छ, बिचौलियाले खान्छ । काम गर्ने कालू मकै खाने भालु ।´

बिषादी छर्किने पम्प, सिँचाइका लागि पाइप, मसला, पिठो पिन्नका लागि बिजुली घट्ट, तरकारी जोख्ने बिजुली काँटा जस्ता कृषि सामग्री पनि जनताले राज्यबाट अनुदान पाएका छन् । जनप्रतिनिधि जनताप्रति जिम्मेवार छन् भन्ने महसुस भएको छ । माथितिर अझै व्यवस्थित ढंगले कृषि सुरु भएको छ । टन्नै व्यावसायिक टनेल निर्माण भएका छन् । सामूहिक प्रयत्न सुरु भएको छ ।

`भाउ पर्ला भनेर २ दिन ढिलो टिपेको, झोलमा डुबेर आइयो ।´

यी परिवेदना पनि बजारमै भेटिन्छन् ।

`रामकिस्नेले यस पटक राम्रै चिट्ठा पार्‍यो बेलैमा फलाएर । बज्याले दाउ पार्‍यो ।´

मलाई यस्ता परिवेश स्वादिला लाग्छन् । दु:खको अभिव्यक्तिमा पनि हास्यरसको बाढी आएको यहीँ देखिन्छ ।

बजारको वस्तुस्थितिको दिव्य ज्ञान प्राप्त गरेपछि चामलको बोरा बोकेर म गाउँमा उक्लिएँ । घरमा झिना मसिना कामको कमी थिएन तर मलाई आज फाँटको अवलोकन भ्रमण गर्ने जाँगर चल्यो  । भातको गाँस टिपेर निस्किने विचार गर्दै गर्दा घरमा कुरा चल्यो, `यति मल खेतमा उकाल्न पाए फर्सीजतिलाई पुग्थ्यो ।´ मेरो त सातोपुत्लो उड्यो । मलाई लाग्यो, `पक्कै पनि यो मलाई मलको बोरा बोकाउने भयानक षड्यन्त्र हो ।´ म खाएकै ठाउँमा थाल छाडेर घरबाट उम्केँ र फाँटतिर लम्केँ ।

हाम्रो फाँट नै  छ अलौकिक ठाउँमा । माथि, तल, दायाँबायाँ गाउँ र बीचमा फाँट छ । फाँटको बीचबाट मोटरबाटो पनि कोरिएपछि फाँट सुविधा सम्पन्न भएको छ । लेकबाट मल बोकेर आएको आइसर बेँसीबाट धान पराल लिएर उकालिन्छन् । भारी पुग्ने संभावना देख्यो भने बिचौलियाहरू बोलेर घिच्याउँदै खेतमै पुग्छन् । इट्टाभट्टा जस्ता वातावरण विनाशक चिलहरूले पटक पटक झम्टिन खोजे पनि नंग्रा गाड्न भने सकेका छैनन् । त्यसैले फाँटको वास्तविक सौन्दर्यमा खिया लागेको छैन ।

भुइँचालोको मारपछि फाँटमा घर बनाएर बस्ने नयाँ प्रचलन सुरु भएकाले फाँटमा चहलपहल भने बढेकै हो । धान, गहुँ या धान, मकैको २ सरो बालीको जमाना छैन अब । मानिस वर्षमा बहुबाली खान पल्केकाले प्रायजसो खेततिरै हुन्छ ।

`के छ काका ? के गर्न लाग्नुभो ?´

`के हुनु भाइ ! अलिकति फर्सीका बेर्ना थे, थैलामा गाड्दिनुपरो भनेर लागेको ।´

काका खाल्डोमा मल र माटो फिट्दै थिए । अलिअलि गेडे मल पनि हालेको रहेछ । थैलामा भएको फर्सीको बिरुवालाई खाल्डामा सार्दै अघि बढ्दै गए बुढा ।

`पोहोर फर्सी नबिकेर बोटमै ट्याक्टर लगा'को हैन ? अहिले फेरि फर्सी नै लाउने ?´, म अलि जान्ने पल्टिन खोजेँ ।

`फर्सी नला'र के लाऊँ त- स्याउ याँ फल्दैन´, बुढाले चर्को जबाफ दिए । उनको छोरो भर्खर सारेको बिरुवामा पाइपले पानी हालिरहेको थियो । पानी मर्‍यो ।

`एक मुठी पानी ल्या'को, त्यो पनि बिर्‍या' बानलाई काल लागिगो' । त्यसको त म हातै भाँच्दिन्छु´, ऊ भुत्भुताउँदै उकालो लाग्यो । म पनि उकालै लागेँ ।

जनक सर तोरीमा पानी लाउँदै रहेछन् । यस्ता सरहरूले गर्ने खेती भनेकै तोरी, गहुँहरू नै हो । धेरै जोतिनु नपर्ने । नगदनारायण जागिरबाट आइहाल्छ, यता आफ्नो खेतबारी बाँझो नराख्ने उपाय मात्र ।

`जनक सर नमस्कार ! के गर्दै हुनुहुन्छ ?´, पानी लगाउन लागेको देख्दादेख्दै पनि मैले सोधेँ ।

`ओहो ! कहिले आयौ भाइ ? अलिकति तोरी छरेको थेँ, पानी लाइद्यूँ भनेर आँटेको´, जनक सरले तल्लो गह्रामा पानी खसाले । माथिको गह्रामा किरा टिपिरहेका बकुल्लाहरू पनि तल्लै गह्रामा ओर्लिए ।

`तोरीका बोट त मोटामोटा छन् त ! मलजल राम्रै पुग्या' जस्तो छ´, मैले तोरीको स्तुति गरेँ ।

`यो तोरी नै अर्कै जातको हो । भन्न त यसलाई पनि थैलामा उमारेर पछि खेतमा एकेक बोट सार्नु भनेको थियो तर मैलेचाहिँ त्यत्तिकै छर्देको ।´

तोरी पनि थैलामा उमार्ने पद्धति आएछ, भो त अब ?

हिँड्दै जाँदा श्यामबहादुर भेटियो । ऊ खेतको गह्रामा ट्याक्टर दौडाइरहेको थियो । मलाई देखेपछि ट्याक्टर बन्द गर्‍यो । अनि. ` ओहो´को शैलीमा हात उठायो । मैले पनि त्यही शैलीमा हात उठाएँ । ऊ र म साथी थियौँ कुनै बेला । प्रवेशिका उत्तीर्ण भएर म शहरतिर लागेँ, ऊ अनुत्तीर्ण भएर खाडीतिर लाग्यो । कहिले कता, कहिले कता आउने-जाने गरे तापनि उसको जिन्दगीले खासै चोला फेरेन । अहिले परिवारले सम्पन्न भएपछि स्वास्नीले `नछोडी जानोस् हे मेरा प्राण अकेली मलाई, मनको वनमा ननिभ्ने गरी विरह जलाई´ भन्ने मुनामदनको शैलीमा फकाई । (यसलाई 'सातो खाई'को तहमा बुझ्दा पनि हुन्छ ।)

तहाँ उप्रान्त उसले बाबुले उपहार दिएको खेतमै आफ्नो भाग्य अज्माउन थाल्यो । स्वास्नी पनि कम जाँगरिली छैन- तल्लो गह्रामा आली काट्दै थिई । श्यामबहादुरको आमासहितको ५ जनाको परिवार खेतीपातीबाट चलेकै छ ।

`के लाउन आँटिस् केटा ?´, मैले पुरानै शैलीमा सोधेँ ।

`काउली र बन्दाकोपीका बेर्ना तयार छन् । तिनैलाई टाँस्न पर्‍यो भनेर नि !´

`आम्दानी दह्रै छ कि क्या हो तरकारीबाट पनि ?´

`केका हुन्थ्यो ? लगानी उठे धन्न ! अझ माटो कोतरेको मेनत त काँ हो काँ ।´

हुन पनि हो, तरकारी खेती गरेर जीवन सुधार्न गाह्रो छ नेपालमा । खेतीपातीले पैसा कमाएर गाडी किनेको, शहर बजारमा घरघडेरी किनेको, पोखरा र लुम्बिनी भ्रमणमा गएको, छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाएको कसैले देखेको र सुनेको भए भन्नुहोस् । अपवाद होला कतै, भगवान् जानुन् ।

` ल च्या खाऊँ´, श्यामबहादुरले खेतमै चिया टक्र्यायो ।

`यस्तो सुविधा पनि ?´

`के गर्नु, च्या खान मन लागिहाल्छ, कता जानू ? बरु थर्मसमा हालेर ल्यायो, बेलाबेला चुस्क्यायो ।´

`अनि, यस वर्षको विकास यत्ति हो त ?´

`किन यत्ति हुन्थ्यो नि ? साग बेचिरा'कै हो । प्याजका स्याउला र हरियो धनियाँ बजार जान तयार छन् । सरकारले विदेश गएर आउनेका लागि नि:शुल्क टनेल हाल्दे'को छ । त्यसभित्र गोलभेँडा अकासिँदै छन्´, श्यामबहादुरले माथि घरबारीमा हालिएको विशाल टनेल खेतबाटै देखायो । कम्तीमा श्यामबहादुर खुसी रहेछ ।

फाँटमा पहिले पहिले धान काट्नेबित्तिकै गहुँ छर्ने चलन थियो । तरकारी खेतीको प्रचलन आएपछि गहुँ एकाध मानिसका लागि मात्र प्रिय छ । गहुँ, मकै जस्ता अन्न घरमा जोगाएर राख्न नसकिने जमाना आएको छ । घुन-पुत्लाले सकिदिन्छन् । गाईबस्तुको भागमा त छोक्राबोक्रा मात्र हो । रोटी खानका लागि ज्ञान चक्की आँटा नकिनी सुख छैन । किसानले धान रोप्न छाडेका छैनन् । कतैकतै धानसान गोली मारेर व्यवस्थित तरकारी खेती सुरु भएको छ । यो सुखद कुरा हो । शहर बजारमा घरबार गरेर बस्नेहरूको खेतले पनि सम्मान पाएको छ । जग्गा कम हुनेले पनि खनीखोस्री गर्न पाएका छन् । यसलाई पनि सकारात्मक रूपमा लिनुपर्छ ।

फाँटे बा फाँटमै ढुनुमुनु गरिरहेका थिए । यिनको नाम शम्भुकृष्ण हुनुपर्छ । जनताले 'सम्मुकिस्ने' भनेरै यिनको मन जितेका छन् । पहिला यिनको घर लेकतिर थियो । सबैभन्दा पहिला यिनी फाँटमा घर बनाएर झरे, त्यसपछि यिनको नाम फाँटे भयो ।

`के गरिरा'को बुढा ? खेतमा ढलान गरेर के गर्न खोजेको ?´, यिनीजत्तिको रसिलो र मिजासिलो मान्छे जगत्‌मै देखेको छैन ।

`आफूलाई मात्र ढलान गरेको घर बना'र हुन्छ बौन ? द्यौतालाई घर चाइएन ?´, बुढा कुल देवतालाई मन्दिर बनाउँदै रहेछन् । मान्छेका दु:ख पनि अनेक छन् । आफ्ना लागि मात्र घर बनाएर नहुने, बस्तुभाउका लागि गोठ, देउताका लागि मन्दिर, सबै  चाहिने ।

माथिल्लो सेरामा मसिने कार्कीको परिवार नै थैला भरिरहेको थियो । पहिले पहिले ठूला मान्छेले थैला भर्दैनथे । भुराहरूको मात्र थियो त्यो काम । सयवटा थैला भरेपछि २ रुपैयाँ पाइन्थ्यो । पछि ५ रुपैयाँ पुग्यो । हामीले त्यही इलम गरेर जात्रामात्राका लागि खर्च जुटाउँथ्यौँ । अहिले भुराले ५-१० रुपैयाँलाई पैसा मान्नै छाडे । त्यसमाथि पहिले जस्तो बग्रेल्ती भुरा गाउँमा कहाँ पाउनू ? त्यसैले थैला भर्ने काम जसले भ्याउँछ, उसैले गर्नेमा परिवर्तन भयो । तर, आजकाल स्कुल बन्द भएकाले कार्कीको परिवार डल्लै थैला भर्ने कर्ममा व्यस्त भएको थियो ।

`केको तयारी हो मसिने दाइ ?´, मैले मसिनेको खेतमा उपस्थिति जनाएँ ।

`काँक्रो रोप्नुपर्‍यो भनेर लागेको । बच्यो भने सिमी पनि हाल्नुपर्ला । पालिकाले हाफ मूल्यमा बिउ दे'को छ । रोप्न त पर्‍यो नि !´,  मसिने कार्कीले बेलिबिस्तार लगाए । पालिकाले किसानलाई सम्बोधन गरेको रहेछ भन्ने बुझ्नुपर्‍यो अब । ५० प्रतिशत अनुदानमा ट्याक्टर पोहोरै लिएको हो हामीले पनि । बिषादी छर्किने पम्प, सिँचाइका लागि पाइप, मसला, पिठो पिन्नका लागि बिजुली घट्ट, तरकारी जोख्ने बिजुली काँटा जस्ता कृषि सामग्री पनि जनताले राज्यबाट अनुदान पाएका छन् । जनप्रतिनिधि जनताप्रति जिम्मेवार छन् भन्ने महसुस भएको छ । माथितिर अझै व्यवस्थित ढंगले कृषि सुरु भएको छ । टन्नै व्यावसायिक टनेल निर्माण भएका छन् । सामूहिक प्रयत्न सुरु भएको छ ।

प्याज लगाउनेहरूको व्यस्तता फाँटमा उस्तै रहेछ । मलका बोराले खेत सिँगारिएको छ । बोक्नेहरूको लर्कोले बाटो पाइँदैन । डोकामा भन्दा बोरामा मल बोक्न सजिलो मान्न थालेका छन् मान्छे  । कुनै न कुनै काममा मान्छे लागेकै छ । बिरुवा सारेर मात्र धर छैन, वनमाराको भाटा ल्याएर खुर्किनुपर्छ । त्यसलाई गाडेर पलास्टिक ओढाउनुपर्छ । आफ्नै सन्तानलाई जसरी स्याहार नगरी फसल लाग्दैन ।

निष्कर्षमा, मुखमा माड लाग्दैन । खेतमा शनिबार आउँदैन, कोरोना लाग्दैन । धान दिवस पनि मन्त्रालयमा मात्र आउने हो । खेतबारीमा चाडपर्व आउँछ, औँसीपुर्ने आउँछ तर आफ्ना लागि आफैँले बिदा मिलाउनुपर्छ ।


वेदमा आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर अलङ्कार सामाजिक, वैदिक र साहित्यिक विषयमा लेख्न रुचाउनुहुन्छ ।