मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला संचालनको सम्झौता फिर्ता

मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला संचालनको सम्झौता फिर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १२, २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट नेपाल-भारत मैत्री पशुपति धर्मशाला संचालनको सम्झौता फिर्ता लिएको बताएका छन् । उनले भने, 'छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बतास समूहले संचालन गर्दैन ।'

पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको जनाउँदै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।

कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला संचालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महँगो मूल्य लिँदै होटेलका रूपमा धर्मशाला संचालन गर्दै आएको आरोप लागेको थियो । उक्त आरोपपछि मन्त्री आलेले उक्त धर्मशालाको अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम शय्याको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरू राखेको, कोषको स्वीकृतिबिना धर्मशालामा विभिन्न संरचनाहरू निर्माण गर्ने जस्ता कार्य गरेको पाइएको थियो ।