कांग्रेसले भन्यो ‘तीन विधेयक फिर्ता गर’

कांग्रेसले भन्यो ‘तीन विधेयक फिर्ता गर’

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७६

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानका प्रावधानविपरीत सरकारले तीन विधेयक ल्याएको भन्दै फिर्ता नगरे प्रतिवाद गर्ने चेतावनी दिएको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐन–०६८ लाई संशोधन गर्न बनेको विधेयक र राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य तथा अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–०७५ लाई कांग्रेसले संविधानको प्रावधानविपरीत भनेको छ । 

कांग्रेस संसदीय दलको बैठकले विवादित तीन विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको हो । फिर्ता नलिए सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण  खाणले बताए । ‘सरकारले विवादित तीन विधेयक जबर्जस्ती सदनमा पेस गर्न खोज्यो भने कांग्रेसले सदनभित्र र बाहिर सडकमा विधेयकविरुद्ध शक्ति परिचालन गर्नेछ,’ खाणले भने, ‘अब बस्ने सदन बैठकमा स्थिति सहज बनाउन ती विधेयकहरू संयमतापूर्वक फिर्ता गर्न हाम्रो सरकारलाई आग्रह छ ।’ उनले संविधान प्रतिकूल हुने गरी सरकारले विधेयक ल्याएको र त्यसले प्रेस स्वतन्त्रता, मानवअधिकार तथा नागरिक हक हनन गर्ने दाबी गरे । 

संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संविधानको प्रस्तावना, धारा (१७) को स्वतन्त्रताको हक, उपधारा २ (क) मा विचार र अभिव्यक्तिको स्वतन्त्रता, एवं धारा १९ मा सञ्चारको हक, उपधारा (१) मा रहेको विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायत जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन भन्ने प्रावधानसँग बाझिने कांग्रेसको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।