राष्ट्रियसभा: ७ गुमाइ एक सिटमै एमाले खुसी, गठबन्धनलाई दुई तिहाइ पुग्न वामदेव निर्णायक !

लोकसंवाद टिप्पणी

राष्ट्रियसभा: ७ गुमाइ एक सिटमै एमाले खुसी, गठबन्धनलाई दुई तिहाइ पुग्न वामदेव निर्णायक !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १३, २०७८

राष्ट्रिय सभाका खाली भएका २० मध्ये १९ सिटमा निर्वाचन भएर परिणाम आएको छ । राष्ट्रियसभा निर्वाचनको परिणामअनुुसार १८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एमालेले एक सिट जितेको छ ।

२०७४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन हुँदै पार्टी एकता गरेका एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता भंग र एमालेको विभाजनका कारण राष्ट्रियसभा निर्वाचनको यो परिणाम अपेक्षित नै थियो ।

तर प्रदेश १ मा केही मतदाताको मत क्रस हुँदा जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी हुन पुगे । राईको पराजयले जसपाले गठबन्धनमा पाएको १ सिट गुमाएको छ ।

यसअघि राष्ट्रियसभामा एमाले र माओवादीको दुई तिहाईभन्दा बढी सिट थियो । तर जनमत बमोजिम कम्युनिस्ट पार्टीको सरकारबाट जनपक्षीय काम अघि बढाउँदै पार्टीलाई बलियो बनाउँदै लैजानुपर्नेमा केपी ओलीले पार्टीका शीर्ष नेताहरुलाई निषेध गर्दै एकलौटी सत्ता सञ्चालन गर्ने र आफू अनुकूल नहुँदा प्रतिनिधिसभा नै भंग गर्दै अघि बढेपछि नेपालको इतिहासमै पहिलो दुई तिहाई नजिकको बहुमतसहितको वामपन्थी सरकार असफल मात्रै भएन २० मध्ये १ सिट जित्दा पनि खुसियाली मनाउने अवस्थामा एमाले आइपुगेको छ । 

प्रदेश १ मा गठबन्धन नै बलियो थियो । त्यसैले क्लिन स्वीप गर्ने गठबन्धनका नेताहरुको दाबी थियो । तर त्यसो हुन सकेन । शेर्पाको विजयले एमाले राष्ट्रिय सभामा सबैभन्दा ठूलो दलको रुपमा भने कायम रहन पुग्यो  । यद्यपि एमालेले ७ सिट गुमाएपछि अब १६ सिटमा खुम्चिएको छ । 

राष्ट्रियसभामा कसको कति सिट ?

यो निर्वाचनमा गठबन्धनका सबै उम्मेदवार विजयी भएको भए राष्ट्रिय सभामा एमालेका १७ र माओवादी केन्द्रका १५ सांसद हुने थिए । तर शेर्पाको विजयसँगै एमालेका राष्ट्रियसभाका अध्यक्षसहित १७ सांसद छन् । यसअघि एमालेका अध्यक्षसहित २४ सांसद थिए । माओवादी केन्द्र राष्ट्रिय सभामा दोस्रो ठूलो दल हो । उसका १५ सांसद छन् । माओवादी केन्द्रका ४ सिट खाली भएका स्थानमा जित हात पारेको छ भने गठबन्धनको शक्तिबाट थप १ सिट पनि जितेको छ । माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशबाट जगत पार्की, गण्डकीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनुवार, कर्णालीबाट नरबहादुर बिष्ट, र मधेसबाट उर्मिला अर्याल राष्ट्रिय सभामा विजयी भएका छन् । 

यस्तै नेपाली कांग्रेस राष्ट्रिय सभामा तेस्रो दल छ । राष्ट्रियसभामा ७ सिट रहेको कांग्रेसले गठबन्धनको शक्तिबाट ३ सिट थपेको हो । कांग्रेसका ३ सिट रिक्त थिए भने गठबन्धनबाट थप ६ सिट पाएपछि १० सिट भएको छ । नेपाली कांग्रेसका तर्फबाट बाग्मतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, कर्णालीमा दुर्गा गुरुङ, लुम्बिनीमा युवराज शर्मा, प्रदेश १ मा गोपाल बस्नेत र सुदूरपश्चिममा नारायणदत्त मिश्र विजयी भएका छन् । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय सभामा चौथो ठूलो दल हो । राष्ट्रियसभा निर्वाचनमा पाएका ५ सिटमा विजयी भएको नेकपा एकीकृत समाजवादी अब ८ सिटसहित चौथो स्थानमा छ । चुनावअघि सो पार्टीका ७ सदस्य रहेकोमा ४ जनाको पदावधि सकिएको हो । गठबन्धनको भागबण्डामा नेकपा एसले ५ सिट पाएपछि एक सिट थप्न सफल भएको हो । 

नेकपा एसका तर्फबाट प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सेना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदयबहादुर बोहरा र सुदूरपश्चिमबाट   गरिमा शाह निर्वाचित भएका छन् । 

सर्वोच्चले नामको दाबीस्वरुप परेको मुद्दामा नयाँ नाम खोज्न आदेश दिनसक्नेमा एकता नै भंग भएको घोषणा गर्दा सबैभन्दा खुसी एमाले र केपी ओली पक्ष नै भएको थियो । त्यसपछि पूर्ववत अवस्थामा फर्किएको एमालेभित्र पनि माधवकुमार नेपाल समूहमाथि ओली समूहले अपमानजनक र हिंस्रक व्यवहार प्रदर्शन गर्‍यो ।जसका कारण एमाले पनि एक हुन सकेन र माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी बन्यो ।

यस्तै जनता समाजवादी पार्टीले भने २ सिटमध्ये १ सिट मात्रै थपेको छ भने एक सिटमा पराजित भएको छ । जसपाका हेमराज राई एमालेका सोनम ग्याल्जेन शेर्पासँग पराजित भएका हुन् भने मधेस प्रदेशबाट महमद खालिद राष्ट्रिय सभामा निर्वाचित भएका छन् । योसँगै जसपाका ३ सांसद भएका छन् । 

यसपटक राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाले पनि प्रवेश पाएको छ । लुम्बिनी प्रदेशबाट दलिततर्फ जनमोर्चाका उम्मेदवार तुलबहादुर विश्वकर्मा विजयी भए । राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीको एक सिट छ । राष्ट्रियसभाको बुधबारको निर्वाचनमा एमालेसँग मधेस प्रदेशमा गठबन्धन गरे पनि दुवै पार्टीका उम्मेदवार सत्ता गठबन्धनका उम्मेदवारसँग पराजित भए । 

राष्ट्रिय सभामा अब एमालेका १७, माओवादी केन्द्रका १५, कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी) का ८, जसपाका ३ तथा राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ सांसद भएका छन् । यस्तै बागमतीमा रामबहादुर थापा बादलको स्थानमा भएको उपनिर्वाचनमा विजयी भएका स्वतन्त्र सांसद डा. खिमलाल देवकोटा छन् । सरकारले मनोनित गर्ने ३ जनामध्ये वामदेव गौतम र विमला राई पौडेल छन् भने रामनारायण बिडारीको पदावधि फागुन २० गते सकिदैछ । 

वामदेव बने निर्णायक ! 

राष्ट्रियसभामा सत्ता गठबन्धनको दुई तिहाइ पुग्न एक सिट कम भएको छ । यस्तो अवस्थामा वामदेव गौतम  निर्णायक बन्ने भएका छन् । गौतम एमालेबाट राजीनामा दिएर बसेका उनी कुनै पार्टीमा गएका छैनन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका कारण दल परित्याग गर्दैमा उनको सांसद पद जाँदैन ।मनोनित सांसदलाई सरकारले फिर्ता बोलाउने व्यवस्था पनि नभएका कारण उनी ६ वर्ष निरन्तर सांसद हुनेछन् ।

यस्तै तत्कालका लागि स्वतन्त्र सांसद डा.खिमलाल देवकोटा पनि सत्ता गठबन्धनको पक्षमा हुनेछन् । उनी नेकपा एकीकृत समाजवादी समर्थित हुन् । तर उनले स्वतन्त्र उम्मेदवारका रुपमा बागमती प्रदेशमा रामबहादुर थापालाई उपनिर्वाचनमा हराएर विजयी बनेका हुन् । 

ओली अहमको अर्को पराजय 

राष्ट्रिय सभा निर्वाचनले एमाले र सो पार्टीका अध्यक्ष केपी ओलीको अहमतामा अर्को पराजय थपिदिएको छ । पार्टीको करिब दुई तिहाई बहुमतसहितको सरकारको नेतृत्व गरेका ओली अन्ततः लगातार पराजय भोगिरहेका छन् ।


संघीय सरकारदेखि चार वटा प्रदेश सरकार, राष्ट्रिय सभाको उपनिर्वाचनदेखि यो निर्वाचनसम्म एमालेले गठबन्धनसामू लगातार पराजय भोगिरहेको छ । २०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा एमालेले २९ सिट जितेको थियो । पछिल्लो पटक १२ सिट गुमाएको छ । जसमध्ये ७ सिट त बुधबार भएको निर्वाचनबाट गुमाएको हो ।

कांग्रेसले १३ र माओवादी केन्द्रले १० सिट जितेका थिए । कांग्रेसले ७ सिटमा झरेर फेरि १० सिट पुर्‍याउँदा माओवादी केन्द्रले १५ सिट पुर्‍याएको छ । एमाले र माओवादीको एकीकरणपछि बनेको नेकपाको राष्ट्रियसभामा स्पष्ट बहुमत थियो । २०७६ को निर्वाचनपछि नेकपाको दुई तिहाई पुगेको थियो भने मनोनित समेत सांसद गरी राष्ट्रिय सभामा नेकपाका ५० सांसद पुगेका थिए ।

यदि नेकपा सग्लो अवस्थामा रहेको भए यो निर्वाचनमा आइपुग्दा कांग्रेस राष्ट्रिय सभामा ३ सिटमा खुम्चिने अवस्था थियो । तर केपी शर्मा ओलीको अहमताका कारण वामपन्थीहरु वैधानिक संस्थामा बलियो बन्न चुकेका छन् । ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको विवाद उत्कर्षमा पुग्यो । सोही मौकामा सर्वोच्च अदालतले २३ फागुन, २०७७ मा नेकपाको एकता भंग गर्ने राजनीतिक प्रकृतिको फैसला गर्‍यो ।

सर्वोच्चले नामको दाबीस्वरुप परेको मुद्दामा नयाँ नाम खोज्न आदेश दिनसक्नेमा एकता नै भंग भएको घोषणा गर्दा सबैभन्दा खुसी एमाले र केपी ओली पक्ष नै भएको थियो । त्यसपछि पूर्ववत अवस्थामा फर्किएको एमालेभित्र पनि माधवकुमार नेपाल समूहमाथि ओली समूहले अपमानजनक र हिंस्रक व्यवहार प्रदर्शन गर्‍यो ।जसका कारण एमाले पनि एक हुन सकेन र माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी बन्यो ।

सो पार्टीसहित कांग्रेस, माओवादी, जसपा र जनमोर्चासहितको गठबन्धन बनेपछि एमाले हरेक राजनीतिक मोर्चामा फिक्का साबित हुँदै आएको छ । बुधबारको निर्वाचनले एमालेलाई अर्को धक्का दिएको छ । आगामी निर्वाचनसम्म गठबन्धन कायम रहेको अवस्थामा एमाले निकै कमजोर बन्दै जाने  संकेत   देखिन थालेको छ  ।