गोर्खाली-अंग्रेज फौज युद्धको कथामा वीरताको गाथासहितको ‘सिन्धुलीगढी’ चलचित्र बन्ने

गोर्खाली-अंग्रेज फौज युद्धको कथामा वीरताको गाथासहितको  ‘सिन्धुलीगढी’ चलचित्र बन्ने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ १३, २०७८

काठमाडौँ । वि.सं. १९२४ ताका सिन्धुली जिल्लाको आडभञ्ज्याङमा भएको गोर्खाली र अंग्रेज फौजबिचको युद्धमा आधारित ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ । गोर्खाली फौजले अंग्रेजी फौजलाई पराजित गरेको उक्त युद्धमा आधारित चलचित्र विश्वदीप (विश्वमणि) घिमिरेको निर्देशनमा बन्ने भएको हो । निर्देशक घिमिरेकै पटकथा तथा संवाद रहेको चलचित्रको निर्माता सास अधिकारी रहेका छन् । चलचित्र सास इन्टरटेन्मेन्ट सिनेमा प्रा.लि.को ब्यानरमा बन्न लागेको हो ।

निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान गरेर चलचित्रको पटकथा तथा संवाद तयार पारेको बताए । उनले नेपालको सार्वभौमिकताको रक्षामा कोशेढुंगा सावित भएको उक्त वीरतापूर्ण युद्धको कथालाई ‘सिन्धुलीगढी’ चलचित्रमार्फत् वाचन गरी गोर्खाली (नेपाली) वीरताको गाथा संसारलाई सुनाउने उद्देश्यले चलचित्र ‘सिन्धुलीगढी’ निर्माण गर्न लागेको सुनाए । 

निर्माता अधिकारीले ‘सिन्धुलीगढी’ चलचित्रलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले प्राविधिक सहयोग गर्ने वचन दिएको जानकारी गराए । उनका अनुसार सिन्धुली, काभ्रे र काठमाडौँमा छायांकन हुने यस चलचित्रको पोष्ट प्रोडक्सन भारतको मुम्बईमा हुनेछ । चलचित्रलाई हिन्दी र अंग्रेजी भाषामा समेत स्वराङ्कन गरिने छ । उनले चलचित्रका लागि मुख्य कलाकार अडिसन प्रक्रियाबाट छनोट गर्ने कार्य भइरहेको बताए ।

निर्माण संस्थाले नेपाल सरकार प्र्रतिलिपि अधिकार रजिस्टारको कार्यालयबाट प्रतिलिपि अधिकार सुरक्षित गर्नुका साथै चलचित्र विकास बोर्डबाट चलचित्र छायांकनको इजाजत प्राप्त गरिसकेको छ । चलचित्रको निर्माण टोली कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा रहेको निर्माण टोलीका जापान संयोजक शुक्रराज राईले बताए । निर्माण संस्थाका अनुसार चलचित्र ‘सिन्धुलीगढी’ हालसम्मकै उच्च लगानीमा बन्ने छ ।