उत्तर कोरियाले एक महिनामा गर्‍याे ६ वटा मिसाइल प्रहार

उत्तर कोरियाले एक महिनामा गर्‍याे ६ वटा मिसाइल प्रहार

एजेन्सी  |  विदेश  |  माघ १३, २०७८

उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाइल प्रहार गरेको हो । यससँगै उत्तरले जनवरीमा मात्र ६ वटा मिसाइल प्रहार गरेको छ । उसले ५ र ११ जनवरीमा हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो भने १४ र १७ जनवरीमा व्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो । 

उत्तरले पूर्वी तटको हामहुंग क्षेत्रमा २ वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ । उत्तरका मिसाइल प्रहारलाई लिएर अमेरिकाले ऊमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । तर, उत्तरसँग वार्ता थाल्न कुनै दुविधा नभएको बाइडेन प्रशासनले जनाएको छ । 

उत्तरका आणविक हतियार बन्द गर्ने विषयमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सन् २०१९ मा सम्पन्न वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । आफ्ना आणविक कार्यक्रमलाई निरन्तता दिन अडानबाट किम पछाडि नहटेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको थियो ।

आफ्नो रक्षाका लागि मिसाइल परीक्षण गरेको उत्तरले दाबी गर्दै आएको छ । उत्तरका मिसाइल परीक्षणले कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । तर, उसले विगत ५ वर्षदेखि आणविक हतियार परीक्षण गरेको छैन । यद्यपि, कोरियाली प्रायद्वीपमा तनाव बढिरहे पुनः आणविक परीक्षण गर्ने उसले धम्की दिँदै आएको छ ।

उत्तर कोरियाले आगामी महिना किम जोङ उनका पिता किम  जोङ इलको ८० औँ वार्षिकी मनाउँदै छ ।