के भ्याक्सिन कम्पनीहरूको दायित्व भ्याक्सिन बेच्नु मात्र हो ?

के भ्याक्सिन कम्पनीहरूको दायित्व भ्याक्सिन बेच्नु मात्र हो ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  माघ १३, २०७८

भ्याक्सिनेसनको कुरा गर्दा २६ जनवरीसम्म विश्वमा ६२.२ प्रतिशत जनसंख्यालाई भ्याक्सिनको एउटा डोज लगाइसकिएको छ । यसलाई संख्यामा रूपान्तरित गर्दा  झण्डै ४ अर्ब ७७ करोड मानिसलाई भ्याक्सिनको सुई पुगिसकेको जनाउँछ ।

देशअनुसार भ्याक्सिनको एक डोज, २ डोज र थप बुस्टर डोज लिनेको संख्या फरक फरक रहेको छ । मोटामोटी रूपमा विश्वभर ६२.२ प्रतिशतलाई एक खुराक, ५४  प्रतिशतलाई २ खुराक र १२ प्रतिशतलाई भ्याक्सिनको  एडिसनल डोजका रूपमा तेस्रो सुई लागिसकेको छ ।
न्युयोर्क टाइम्सको २५ जनवरीको डाटाअनुसार विश्वमा ९ अर्ब ९५ करोड १९ लाख २ हजार ८४१ थान भ्याक्सिनको खपत भइसकेको छ ।

यूएईमा ९९ प्रतिशत जनसंख्यालाई पहिलो डोज, ९५ प्रतिशतलाई दुवै डोज र ४३ प्रतिशत जनसंख्यालाई बुस्टर डोज प्राप्त भइसकेको छ । झण्डै एक करोड जनसंख्या भएको यूएईमा २ करोड ३३ लाख ४१ हजार ३२८ थान भ्याक्सिन खपत भइसकेको छ ।

यसरी नै पोर्चुगल भन्ने देशमा ९३ प्रतिशत जनसंख्यालाई पहिलो डोज, ८९ प्रतिशतलाई २ डोज र ४५ प्रतिशत जनसंख्यालाई बुस्टर डोज प्राप्त भइसकेको छ । झण्डै एक करोडकै हाराहारी जनसंख्या भएको पोर्चुगलमा २ करोड १० लाख ५९  हजार १७७  थान भ्याक्सिन खपत भएका छन् ।

कुरा शक्तिशाली देश अमेरिका , रूस र यूकेको पनि गरौँ । अमेरिकामा ७६ प्रतिशत जनसंख्यालाई पहिलो डोज, ६३ प्रतिशत जनसंख्यालाई दोस्रो डोज र २५ प्रतिशत जनसंख्यालाई बुस्टर डोज प्राप्त भइसकेको छ । यहाँको कुल भ्याक्सिन खपत ५३ करोड ५३ लाख ७ हजार १७५ थान रहेको छ । रूसको ५३ प्रतिशत जनसंख्यालाई पहिलो डोज, ४८ प्रतिशतलाई २ डोज र ६.३ प्रतिशतलाई बुस्टर डोज प्राप्त भएको छ । 

यूकेमा ७८ प्रतिशतलाई एक डोज, ७२ प्रतिशतलाई २ डोज र ५५ प्रतिशत जनसंख्यालाई बुस्टर डोज लगाइसकिएको छ ।

ओमिक्रोन भेरिएन्टको प्रकोप, कहर र विनासलीला अमेरिका, रूस, यूकेमा जे जस्तो भयो, अझै भइरहेको छ, त्यसबारे अधिकांशलाई विदित नै छ ।

सबैभन्दा बढी भ्याक्सिनेसन भएको यूएई र पोर्चुगलको अवस्था पनि हेरौँ :

९५ प्रतिशत जनसंख्यालाई पूर्ण डोज र ४३ प्रतिशत जनसंख्यालाई बुस्टर डोज लागिसकेको यूएईमा ओमिक्रोन भेरिएन्टको संक्रमणले २६ जनवरीमा २ हजार ३६९ संक्रमित ४ जनाको मृत्यु, २५ जनवरीमा २ हजार ५०४ संक्रिमत आउनुका साथै ५ जनाको निधन भयो । २४ जनवरीका दिन २ हजार ६२९ संक्रमित आउनुका साथै ५ जना संक्रमितको मृत्यु भयो ।

अहिले दैनिक रूपमा विश्वभर संक्रमण कारण मृत्यु हुनेको संख्या १० हजार ६२४ (२६ जनवरी) पुगेको छ । गएको साता यो संख्या ५९ हजार ६२६ रहेको थियो । यसभन्दा अघिल्लो साता यो संख्या ५२ हजार १५ थियो । एक सातामा १५ प्रतिशतले मृत्यु वृद्धि भएको छ ।

यस एक सातामा त्यहाँ १९ हजार ८०३ जना संक्रमित थपिए । यसभन्दा अघिल्लो सातामा नयाँ संक्रमित संख्या  २० हजार ३३१ रहेको थियो । यस साता संक्रमणबाट मृत्यु हुनेको संख्या २६ रह्यो भने अघिल्लो साता यो संख्या २१ रहेको थियो । खोइ, त्यहाँका मानिसले भ्याक्सिनले के गरेको छ भन्ने प्रश्न किन नगरेका होलान् ?

पोर्चुगलको अवस्था पनि हेरौँ- पोर्चुगलमा २६ जनवरीका दिन ६५ हजार ५७८ नयाँ संक्रमित आए,४२ जना को मृत्यु भयो । २५ जनवरीका दिन ५७ हजार ६५७ नयाँ संक्रमित थपिए । मृतक संख्या ४८ थियो । २४ जनवरीमा यहाँ ३२ हजार ४५८ संक्रमित थपिएका थिए । मृतक संख्या ४४ रहेको थियो ।

गत एक सातामा यहाँ ३ लाख ६१ हजार ६२० संक्रमित आए । अघिल्लो सातामा यो संख्या २ लाख ५७ हजार २२२ थियो । गत साता मृतक संख्या २८१ थियो भने अघिल्लो साता यो संख्या २१९ थियो ।

९३ प्रतिशत जनसंख्यालाई पहिलो डोज, ८९ प्रतिशत जनसंख्यालाई दुवै डोज र ४५ प्रतिशत जनसंख्यालाई बुस्टर डोज दिइएको पोर्चुगलमा ओमिक्रोनको ताण्डव ग्राफ यस्तो छ भने ओमिक्रोनलाई कम घातक भन्ने र बुस्टर डोज भ्याक्सिनको वकालत गर्नेको बुद्धिमाथि दया लाग्छ ! साँच्चै यिनीहरू बुद्धिजीवी नै हुन् ? संदेह गर्ने बेला आएको छ ।

चिली भन्ने देशमा ९३ प्रतिशतलाई एक डोज, ८९ प्रतिशतलाई २ डोज र ६५ प्रतिशतले बुस्टर डोज लगाइसकिएको छ । २६ जनवरीमा यहाँ १८ हजार ७३६ नयाँ संक्रमित आए, ४ जनाको मृत्यु भयो । २५ जनवरीमा  १८ हजार ७९७ संक्रमित आउनुका साथै २३ जनाको मृत्यु भएको थियो ।

तेस्रो डोजपछि चौथो डोजको प्रयोग गरिरहेको इजरायलको स्थिति पनि हेरौँ- २६ जनवरीका दिन ७६ हजार १५५ संक्रमित, २५ को मृत्यु । २५ जनवरीका दिन ७३ हजार ३०७ संक्रमित, ७ को मृत्यु । सक्रिय संक्रमित संख्या २ लाख ५१ हजार ४६० एवं गम्भीर अवस्थाका ९१५ जना संक्रमितको उपचार भइरहेको छ इजरायलमा ।

नेपालमा भ्याक्सिन कार्ड अनिवार्य गरिँदै छ, कसको बुद्धि होला ? नेताहरू बुद्धिहीन छन्, चेतना र विवेकको थोपो पनि छैन यी प्राणीहरूमा । तर, विज्ञ र आफूलाई बुद्धिजीवी ठान्ने वर्गलाई के भएको हो ? तमाम देशको भ्याक्सिन डाटा  उपलब्ध छ । न यसले संक्रमण रोक्न सकेको छ, न त मृत्यु दर नै । अनि, नेपाल जस्तो देशले बुस्टर डोजको वकालत गर्नु, भ्याक्सिन कार्ड अनिवार्य गर्नुको नियत के हो, आशय के हो, उद्देश्य के हो ?

नेपालमा जुन २४ लाख खोप हराएको हल्ला छ, यसको रहस्य यति नै हो कि सरकारले बुस्टर डोज घोषणा गर्नुअघि नै ठूलाबडाले भ्याक्सिनको बुस्टर डोज प्राप्त गरिसकेका थिए । बुस्टर डोज लगाएका मानिस धेरै संख्यामा संक्रमित भएका छन् । पूरै परिवार संक्रमित भएका छन् ।

केही दिनमै नेपालमा चौथो भ्याक्सिन डोजको कुरा  उठ्छ । तर, के थाहा हाम्रा ठूलाबडाले यो पनि भ्याइसकेका छन् कि ?

भ्याक्सिन बाध्यकारी हुन सक्दैन । आफ्नो खुसीसाथ जसले भ्याक्सिन घोप्न रुचाउँछ, सरकारको दायित्व उसलाई भ्याक्सिनको सरल, सहज, सुगम आपूर्ति गर्ने हो । सरकारले कसैलाई पनि भ्याक्सिन लिन बाध्य गर्न मिल्दैन । सरकार र विज्ञहरूसँग हिम्मत छ भने डाटा लिएर आउन् । नेपालमा ओमिक्रोनको लहर आएयता (२२ मंसिरपछि) ७१ जना संक्रमितको मृत्यु भएको तथ्यांक स्वास्थ्य मन्त्रालयले दिएको छ ।

नियत सफा राखी मन्त्रालयले यी ७१ जना मृतकको 'भ्याक्सिन स्टाटस' सार्वजनिक गरोस् । यीमध्ये कति जना 'ननभ्याक्सिनेटेड' व्यक्ति थिए, कति जना दुवै डोज लगाएका व्यक्ति थिए ? के कुनै बुस्टर डोज लगाएको मानिस त थिएन यी ७१ जना मृत्यु हुनेहरूमा ?

सरकारसँग के कुरा गर्नु ! बुद्धि-विवेक-चेतनाको त कुरै छाडौँ, सरकारसँग त सामान्य चर्मचक्षु पनि नभएको प्रमाणित भएको छ । देशमा कोरोना संक्रमण दर ५० प्रतिशतभन्दा माथि पुग्दा पनि परीक्षणको दायरा बढाउन सकेन बरु जोर-बिजोर प्रणाली लागू गरेर संक्रमणलाई झनै निमत्यायो । सडकमा गाडीको संख्या आधा हुँदा झनै भीड बढ्छ भन्ने सामान्य कुरासम्म थाहा रहेनछ सरकारलाई र प्रशासनलाई ।

देशमा सक्रिय संक्रमितको संख्या ९० हजारभन्दा बढी र अस्पतालमा भर्ना हुनेको संख्या आईसीयूमा २५१ जना संक्रमित र भेन्टिलेटरमा भर्ना संक्रमितको संख्या ४८  गरेर गम्भीर संक्रमितको संख्या २९९ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यी २९९ जना संक्रमितको 'भ्याक्सिनेसन स्टाटस' पनि सार्वजनिक हुनुपर्ने हो । यीमध्ये कति जना 'ननभ्याक्सिनेटेड' हुन् र कति जनाले २ खोप र कतिले बुस्टरसमेत लिएका हुन् ? गम्भीर संक्रमित अथवा मृतकको भ्याक्सिनेसन स्टाटस सार्वजनिक नहुनु भ्याक्सिनबारे ढाकछोप गर्नु हो ।

अहिले दैनिक रूपमा विश्वभर संक्रमण कारण मृत्यु हुनेको संख्या १० हजार ६२४ (२६ जनवरी) पुगेको छ । गएको साता यो संख्या ५९ हजार ६२६ रहेको थियो । यसभन्दा अघिल्लो साता यो संख्या ५२ हजार १५ थियो । एक सातामा १५ प्रतिशतले मृत्यु वृद्धि भएको छ ।

नेपालमा गएको साता (६ माघदेखि १२ माघसम्म) ४४ जना संक्रमितको मृत्यु भएको छ । गएको साता (२९ पुसदेखि ५ माघसम्म) नेपालमा मृतक संख्या १९ रहेको थियो । २२ पुसदेखि २८ पुसमा मृतक संख्या ८ रहेको थियो । प्रत्येक साता मृत्यु दर दोब्बर हुँदै गइरहेको छ । के भ्याक्सिन कम्पनीहरूको दायित्व भ्याक्सिन बेच्नु मात्र हो ? संसारभर मृत्यु हुनेमा कति प्रतिशत भ्याक्सिन लगाएका मानिसको मृत्यु भइरहेको छ, यसबारे यिनीहरूले डाटा संगृहीत गर्नुपर्ने होइन ? कुन भ्याक्सिनको प्रदर्शन राम्रो छ, यो डाटा नआएसम्म त केही थाहा हुँदैन ।

थाहा पाई राख्नुहोस्, भ्याक्सिनको व्यापक वितरण नहुँदा खतरनाक मानिएको डेल्टा भेरिएन्टको प्रकोपताका विश्वमा एकै दिनमा सर्वाधिक मृत्यु हुनेको संख्या १६ हजार रहेको थियो । अहिले व्यापक भ्याक्सिनेसन हुँदा कमजोर भनिएको ओमिक्रोन संक्रमणले विश्वमा दैनिक मृतक संख्या १० हजार नाघिसकेको छ। 'स्टे सेफ, स्टे होम' नै एक मात्र सुरक्षित हुने उपाय हो ।