भैरहवा विमानस्थल संचालनको तयारी, एरो थाईका दक्ष प्राविधिक आइपुगे

भैरहवा विमानस्थल संचालनको तयारी, एरो थाईका दक्ष प्राविधिक आइपुगे

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १३, २०७८

रूपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् । 

बुधबार सडक मार्ग हुँदै काठमाडौंबाट भैरहवा आएका प्राविधिकहरूले काम सुरु गरेका छन् । उनीहरू क्यालिब्रेसन फ्लाइट गरेर मात्र स्वदेश फर्कनेछन् । संचालनको पर्खाइमा रहेको विमानस्थल २ चरणमा आईसीबी १ र आईसीबी २ को काम सम्पन्न गरेकोे छ । 

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ मा शिलान्यास गरेको राष्ट्रिय गौरवकोे आयोजना अबको एक महिनामा क्यालिब्रेसन उडान गरी परीक्षण उडानका लागि तयार हुने आयोजनाले जानकारी दिएको छ । प्राविधिक टोली आएसँगै क्यालिब्रेसन उडान अबको केही सातामै हुने विमानस्थलको दाबी छ । 

टोलीले नै प्राविधिक काम एक महिनामा सक्ने गरी काम गरेर मात्र फर्कने र प्रशासनिकतर्फको काम पनि माघमै सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । 

एरो थाई कम्पनीका प्राविधिकहरू आइपुगेका छन् । अष्ट्रियाका प्राविधिकले नागरिक उड्डयनका १० जनालाई रोडियोसम्बन्धी तालिम दिइरहेका छन् । विमानस्थलमा हाल दर्जनभन्दा बढी चिनियाँ टोली र अन्य ५ जना विदेशी दक्ष कामदारले क्यालिब्रेसनको पूर्वतयारीसम्बन्धी काम गरिरहेका छन् । ‘सबै काम पूरा भइसकेको छ । हाम्रो जोड नै क्यालिब्रेसन गरेर परीक्षण उडान गर्नेमा छ’, आयोजना प्रमुख अधिकारीले भने । 

विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदानका लागि चहिने सबै दक्ष प्राविधिक जनशक्ति आएकाले अबको केही दिनमा नै क्यालिब्रेसन फ्लाइटको मिति तय हुन्छ । ३ वर्षभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब ८२ करोड रुपैयाँ लागतमा विमानस्थल निर्माण गरेको हो । 

विमानस्थल भौतिक रूपमा संचालनयोग्य भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका लागि १२औँ तहको अधिकृत महाप्रबन्धकको रूपमा पठाएको छ । २ माघदेखि प्राधिकरणले गोविन्दप्रसाद दाहाललाई व्यवस्थापनको जिम्मा दिएको छ । 

महाप्रबन्धक दहालले विमानस्थल संचालनका लागि तयारी अवस्थामा रहेको बताए । निर्माणाधीन विमानस्थल संचालनका लागि प्रशासकीयतर्फ १५१ जना र सेवा प्रदायकतर्फ १०३ जना जनशक्ति आवश्यक हुन्छ । 

‘हाल ३४ जना प्रशासकीयतर्फ छौँ, तत्काल नै संचालनमा आए र चाप बढ्दै गयो भने जनशक्ति पनि विस्तारै बढाउँदै जानुपर्छ । मेट्रोलोजीतर्फ १५-१६ जना कर्मचारी आएर काम गरिरहेका छन्, सुरक्षातर्फ पनि करिब ३०० जना आवश्यक हुन्छ । त्यस्तै, भन्सार, अध्यागमन, क्वारेन्टाइन, टेलिकम, राजस्वलगायतका लागि पनि ठाउँ छुट्याइएको छ । जनशक्ति व्यवस्थापनसँगै पूर्वाधार र फर्निसिङको काम भइरहेको छ', महाप्रबन्धक दहालले भने ।