'ओमिक्रोन भेरिएन्ट लामो समयसम्म छाला र प्लास्टिकमा जीवितै रहन्छ'

'ओमिक्रोन भेरिएन्ट लामो समयसम्म छाला र प्लास्टिकमा जीवितै रहन्छ'

एजेन्सी  |  समाचार  |  माघ १३, २०७८

कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन यसअघिका भेरिएन्टभन्दा लामो समयसम्म छाला र प्लास्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ । जापानका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामा जस्ता यसअघिका भेरिएन्टभन्दा ओमिक्रोन बढी समय जीवितै रहने दाबी गरिएकाे हाे । 

जापानस्थित क्वेटो प्रिफेक्चुर युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले सार्स-कोभ- २ वुहान भाइरस र सबै भेरिएन्ट अफ कन्सर्न (भीओसी)बीच भाइरल पर्यावरणीय स्थिरताको भिन्नताको विश्लेषण गरेका थिए ।

समीक्षा गर्न बाँकी रहेको सो अध्ययनले ओमिक्रोन छालामा २१ घन्टा र प्लास्टिकको सतहमा ८ दिनसम्म बाँच्न सक्ने उल्लेख छ । सोही कारण अन्य भेरिएन्टभन्दा ओमिक्रोन चाँडो फैलिन सक्ने अनुमान गरिएको छ । 

‘यी भीओसीको उच्चपर्यावरणीय स्थिरताले संसर्ग हुने र फैलाउने जोखिम बढाउन सक्छ’, अध्ययनमा सहभागीहरूले भनेका छन् । भेरिएन्ट अफ कन्सर्नमध्ये ओमिक्रोनको उच्चपर्यावरणीय स्थितरता रहेको यस अध्ययनले देखाएको वैज्ञानिकहरूले बताएका छन् ।

ओमिक्रोन प्लास्टिकको सतहमा १९३.५ घन्टा र छालामा २१.१ घन्टा रहन सक्ने अध्ययनले देखाएको छ, जबकि मौलिक संक्रमण र अल्फा, बिटा, गामा, डेल्टा जस्ता अन्य भेरिएन्ट क्रमशः ५६ घन्टा, १९१.३ घन्टा, १५६.६ घन्टा, ५९.३ र ११४ घन्टासम्म प्लास्टिकमा जीवितै रहने अध्ययनको निष्कर्ष छ ।