एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एजेन्सी  |  खेलकुद  |  माघ १३, २०७८

कतार विश्वकप- २०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ वटा खेल आयोजना हुँदै छन् । सातौँ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’का ३-३ वटा खेल आयोजना हुँदै छन् । 

समूह ‘ए’मा लेबनानले घरेलु मैदानमा दक्षिण कोरियालाई आतिथ्य दिनेछ । यही समूहको इराक इरान भ्रमणमा निस्किँदा संयुक्त अरब इमिरेटस् (यूएई) र सिरिया आमनेसामने हुनेछन् ।  

समूह ‘बी’बाट जापान र चीनले प्रतिस्पर्धा गर्दा अस्ट्रेलियाले भियतनामलाई आतिथ्य प्रदान गर्नेछ । यता, ओमान भने अपराजित साउदी अरेबिया भ्रमणमा निस्कनेछ । 

समूह ‘ए’मा ६ वटा खेलबाट ५ जीतसहित १६ अंक बनाएको इरान शीर्षस्थानमा छ । १४ अंकको दक्षिण कोरिया दोस्रो स्थानमा रहँदा यूएई ६ अंकसहित तेस्रो, ५ अंकको लेबनान चौथो, ४ अंकको इराक पाँचौँ र सिरिया २ अंकसहित पुछार तथा छैटौँ स्थानमा छ । 

यता, समूह ‘बी’मा ६ वटा खेलबाट ५ अंकसहित १६ अंक बनाएको साउदी अरेबिया शीर्षस्थानमा छ । दोस्रो स्थानको जापानको १२ अंक छ । तेस्रो स्थानको अस्ट्रेलिया ११ अंकसहित तेस्रो, ओमान ७ अंकसहित चौथो, चीन ५ अंकसहित पाँचौँ र बिना कुनै अंक भियतनाम पुछारमा छ । 

दुवै समूहका शीर्ष टोली सिधै कतार विश्वकपका लागि छनोट हुनेछन् । यस्तै, दुवै समूहका तेस्रो हुने टोलीबीचको विजेताले विश्वकपमा स्थान बनाउन दक्षिण अमेरिकी छनोटको पाँचौँ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।