इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजलाई अग्रता

इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजलाई अग्रता

एजेन्सी  |  खेलकुद  |  माघ १३, २०७८

रोभम्यान पोवेलको शतक प्रेरित वेस्ट इन्डिजले तेस्रो टी- २० क्रिकेट खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको छ । बिहीबार बिहान भएको खेलमा २२५ रनको विजयी लक्ष्य पाएको इंग्ल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०४ रनमा समेटियो । 

इंग्ल्यान्डका टम ब्यान्टनले सर्वाधिक ७३ रन बनाए । फिलिप साल्टले ५७ रन बनाउँदा अन्य खेलाडीले उल्लेखनीय योगदान गर्न सकेनन् । वेस्ट इन्डिजका रोमारियो सेफर्डले सर्वाधिक ३ विकेट लिए । यस्तै, कप्तान काइरन पोलार्डले २ विकेट लिए । 

यसअघि भ्रमणकारी टोली इंग्ल्यान्डले टस जितेर घरेलु टोली वेस्ट इन्डिजलाई ब्याटिङ निम्तो दिएपछि निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२४ रनको विशाल योगफल तयार पार्‍याे । वेस्ट इन्डिजका रोभम्यान पोवेलले सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले । यस्तै, निकोलस पुरनले ७० रनको योगदान गरे । 

यससँगै ५ टी- २० शृंखलामा घरेलु टोली वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ । यसअघि पहिलो खेलमा वेस्ट इन्डिज ९ विकेटले विजयी हुँदा दोस्रो खेलमा भ्रमणकारी टोली इंग्ल्यान्ड १ रनले विजयी भएको थियो ।