फिट रहन के गर्छन् ३९ वर्षीय क्रिस गेल ?

फिट रहन के गर्छन् ३९ वर्षीय क्रिस गेल ?
फाइल तस्बिर

लक्ष्मण ओझा  |  खेलकुद  |  जेठ २, २०७६

काठमाडौं । वेस्टइण्डिजका प्रारम्भिक ब्याट्सम्यान क्रिस गेल आगामी मे ३० देखि इग्ल्याण्ड र वेल्समा हुन लागेको एकदिवसीय विश्वकप क्रिकेटमा खेल्दैछन् ।
उनी आक्रामक ब्याटिङका लागि विश्वभर चर्चित छन् । त्यसैले उनको खेल हेर्न क्रिकेटप्रेमी लालयित हुन्छन् ।

३९ वर्षीय गेलका पछिल्ला खेल हेर्दा लाग्छ- उनको फिटनेस युवा खेलाडीभन्दा कम छैन । उनको लय पनि राम्रो छ । इग्ल्याण्डविरुद्धको पछिल्लो एकदिवसीय सिरिजमा उनले सानदार प्रदर्शन गरेका थिए ।

भर्खरै सकिएको आइपिएलको १२ औं संस्करणमा किंग्स इलेभन पञ्जावको तर्फबाट उनले ४१ को औशतमा ४९० रन बनाएका थिए ।

यसले उनको फिटनेस र लय कायम छ भन्ने देखाउँछ । तर, बढ्दो उमेरका कारण फिट र लय कायम राख्न उनलाई चुनौती छ ।

यस्तोमा गेलले आफूलाई कसरी फिट राख्छन् त ?

योगा र शरीर मसाज गरेर आफूलाई फिट राख्ने उनी बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो केही समययता म जिममा पनि गएको छैन । बरु आराम र मसाज गरिरहेको छु । यसले मलाई फ्रेस बनाउन मद्दत मिलिरहेको छ ।’ 

बढ्दो उमेरको असर खेलमा परे पनि आफ्ना लागि मानसिक स्थिति सबैभन्दा महत्वपूर्ण रहेको गेल बताउँछन् । उनी भन्छन्, ‘पछिल्ला दुई महिनामा मैले आफ्नो फिटनेसमा त्यति ध्यान दिएन । खेलमा आफ्नो अनुभव तथा मानसिक दृढता उपयोग गरेँ ।’

उनले प्रशंसकका लागि खेलिरहेको बताएका छन् । उनी भन्छन्, ‘केही वर्षअघि सन्यास लिने सोचेको थिएँ । तर, प्रशंसकले मलाई खेल्न आग्रह गरे । त्यसपछि म उनीहरूका लागि खेलिरहेको छु ।’

आफ्नो खेलबाट प्रशंसकले मनोरञ्जन पाउने उनको आशा छ ।

गेलले वेस्टइण्डिजका लागि २८९ म्याच खेलेका छन् ।

– एजेन्सीको सहयोगमा