विश्वकप ग्लोबल छनोटको उद्‌घाटन खेल नेपाल र ओमानबीच हुने

विश्वकप ग्लोबल छनोटको उद्‌घाटन खेल नेपाल र ओमानबीच हुने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ १४, २०७८

आईसीसी विश्वकप टी- २० ग्लोबल छनोट ‘ए’अन्तर्गतको उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आज सार्वजनिक गरेको टी- २० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमानबीच उद्घाटन खेल हुने निश्चित भएको हो ।

ग्लोबल छनोटअन्तर्गत नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स छन् । यी ८ वटा टोलीलाई पनि २ समूहमा विभाजन गरिएको छ । समूह एकमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन् भने समूह २ मा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी छन् । ओमानमा नै आयोजना हुने उद्घाटन खेल आगामी ६ फागुनमा हुनेछ । यस समूहमा फाइनल पुग्ने २ वटा टोलीले आगामी अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने टी- २० विश्वकपमा स्थान बनाउनेछन् ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल फिलिपिन्ससँग ७ फागुनमा खेल्नेछ भने तेस्रो खेल क्यानडासँग ९ फागुनमा खेल्नेछ ।

नेपालले विश्वकप छनोट खेल्नुअघि ४ वटा देश सम्मिलित टी- २० सिरिज खेल्नेछ । ओमानमा हुने उक्त सिरिजमा नेपालसहित यूएई, आयरल्यान्ड र घरेलु टोली ओमनबीच प्रतिस्पर्धा हुनेछ । उक्त सिरिज २८ माघदेखि २ फागुुनसम्म हुनेछ ।

नेपालले पहिलो खेल २८ माघमा ओमानसँग खेल्नेछ भने दोस्रो खेल २९ माघमा यूएईसँग खेल्नेछ ।

त्यस्तै, नेपालले तेस्रो खेल २ फागुनमा आयरल्यान्डसँग खेल्नेछ ।