काठमाडौँलाई खबर

काठमाडौँलाई खबर

अभागी थेगुवा  |  साहित्य  |  माघ १५, २०७८

काठमाडौं आखिर काठमाडौं नै रहेछ
ऊसँग एकपल्ट भेट्ने रहर
दोहोरो चिनजान गर्ने इच्छा
मसँग नभएको कहाँ हो र ?
तर, गुनासाका बिस्कुन लगाउन
चारभञ्ज्याङ काट्न सकिएन
उसले पक्कै चिन्दैन होला
मलाई नचिनोस्, नचिने पनि
त्यो काठमाडौंलाई सलाम छ
हाउ लुङ्गा यो कुरा !
नबिर्सी सुनाइदिनुहोला ।

लखन र काङ्सोरेहरूलाई
इतिहासमा भेटिनुपर्छ
भगत, सर्वजित र बिसे नगर्चीहरूले
शिर उठाउन पाउनुपर्छ
इतिहास जित्नेहरूकै लेखिए पनि
जिताउनेहरू नबिर्सौँ भनेको हुँ
यता उभिएको फक्ताङ्लुङसँगै
उता दोधारा र चाँदनी पनि त
हाम्रो नै हो- भन्न खोजेको हुँ
तर, चार घेराभित्र हराएर
आफूले थाहा पाएको धरहरा मात्र
अन्तिम उचाइ हो ठानेर
उसले अन्यथा सोच्दै होला
जे सुकै सोचोस्, सोचे पनि
त्यो काठमाडौंलाई सलाम छ
पक्कै लुङ्गा !
सम्झेर सुनाइदिनुहोला ।

रोदी र बालनसँगै
पालाम र घाटु सरी गाइनुपर्छ  
हुर्रा र देउडासँगै
साकेला र झिझिया नाचिनुपर्छ
शक्तिकै पूजा गरिए पनि
निमुखा नमिचिऊन् भनेको हुँ
सगरमाथाको उचाइसँगै
केचनाको गहिराइले
पशुपतिको भजनसँगै
सिलौतीको एकतारेले
दाँजिन पाऊन् भन्न खोजेको हुँ
तर, आधुनिकताको खोल ओढेर
आफूमाथि देखेको खुला भाग मात्र पो
आकाश हो ठानेर
उसले गवाँर-पाखे मान्दो होला
जस्तोसुकै मानोस्, माने पनि
त्यो काठमाडौंलाई सलाम छ
साँच्चै लुङ्गा !
यो खबर काठमाडौंलाई सुनाइदिनुहोला ।