यात्रा

यात्रा

मदन राई 'लामाखुले'  |  साहित्य  |  माघ १५, २०७८

थो...रै भए पनि जिन्दगीलाई
अलिकति सुगन्ध चाहिँदोरहेछ
गमलामा तुलसीको बोट रोपेको छु
मेरा रंगनि मनहरू सम्हाल्न
आँगनमा रंगिन फूलका बिरुवाहरू रोपेको छु
कस्तो हुने हो जिन्दगीको यात्रा
यिनै फूलहरूले बिदाइ गर्नू भनेर
परिवारलाई अह्राएको छु ।

जीवन न हो, भोक त लाग्छ नै
झोलामा
एक मानो चामलको व्यवस्था गरेको छु
उकाली-ओराली, लेक-बेँसी
तय गर्नुपर्ने यात्रामा जाडो त हुन्छ नै
दुई गज कपडा पनि पट्याएर राखेको छु
यत्ति हो ...
यात्रामा कतै भूल भएको रहेछ भने
दुनियाँसँग मैले प्रायश्चित गर्दै
माफ गरिदिनू है भनेको छु ।