टेकबहादुर थापा 'बुद्धप्रिया' | साहित्य | माघ १५, २०७८
जनताको जनादेश हाम्रो मधेस प्रदेश
फलोस्, फुलोस् मधेस प्रदेश, धनी बनोस् देश ।
पहिचानबिहीन भएका छौँ हामी आफ्नै देशमा
बल्लतल्ल पहिचान पाइयो तराई-मधेसमा ।
मधेसैमा बुद्ध जन्मे, मधेसैमा सीता
शहीदको सपना हो, हाम्रो संघीयता ।
थरिथरि भाषा हाम्रो, थरि थरि भेष
हिमाल, पहाड, तराई-मधेस कति सुन्दर देश !
संघीयता हुँदा मात्र पाइने रै'छ मान
मधेसीलाई मधेस प्रदेश भा'छ ठूलो शान ।
कोही बोल्छन् भोजपुरी, कोही मैथली
तराई-मधेसबासी हामी सबै नेपाली ।
बहुल जाति, बहुल धर्म बहुल सभ्यता
समृद्धिको पहिलो आधार गाउँमा संघीयता ।
जनताको बलिदानले आ'छ संघीयता
जनताकै सेवक बनून् हाम्रा सबै नेता !
पहिचान खोदाखोज्दै हाम्रो फुलिसक्यो केश
चाँडै बनोस् हामी सबलाई न्याय दिने देश
जनताको जनादेश हाम्रो मधेस प्रदेश
फलोस्, फुलोस् मधेस प्रदेश, धनी बनोस् देश ।
हाल, युके