निर्मोही व्यास अर्थात् प्रा.डा. वेदव्यास उपाध्याय न्यौपाने : पुरेतदेखि प्राध्यापकसम्म

निर्मोही व्यास अर्थात् प्रा.डा. वेदव्यास उपाध्याय न्यौपाने : पुरेतदेखि प्राध्यापकसम्म

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  माघ १५, २०७८

पिताजीको चोर औँला समातेर गएदेखि आफू एक्लै गएर विवाह तथा व्रतबन्ध गराउने पुरेत्याइँ गरेका वेदव्यास उपाध्याय न्यौपानेले पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएपछि एकाएक पुरेत्याइँ छाड्नुभयो । त्यस दिन एकै घरका ३ जना दाजुभाइको व्रतबन्ध नै उहाँको अन्तिम पुरेत्याइँ हुनपुग्यो । यो २०३५ साल चैत महिनाको कुरा हो । 

पुरेत्याइँ छाड्नुको कारण भुट्टोसँग नजोडिए पनि संयोग त्यस्तै पर्न गयो । यसको मूल कारण भने आफ्नो साहित्य सिर्जना र संवेदना ठान्नुहुन्छ न्यौपाने । भलै, यसका पछाडि अनिवार्य तथा आवश्यकता भईकन पनि पुरेतहरूप्रति गरिने व्यवहार र स्वयं पुरेतको व्यवहार पनि केही जिम्मेवार भएजस्तो लाग्छ उहाँलाई । 

कुनै बेला आफ्ना पिताजीको यही पेसाका कारण आफू हुर्किएकामा उहाँलाई पश्चात्ताप छैन बरु गर्व नै छ । तर, आफ्नो चेतना, विवेक, विचार, अध्ययन, अनुभूतिले पुरेत्याइँ छाड् भनेपछि छाडेको ठम्याइ छ वेदव्यासको ।

जजमानी गराउन जाँदा यजमानको गञ्जी नभएपछि पिताजीले आफ्नो गञ्जी फुकालेर दिएको गजबको अनुभव छ उहाँको । साथै, उहाँको संवेदनाले उहाँलाई यति भावुक बनाउँथ्यो कि दुलहीलाई सिन्दूर हालेको दृश्य हेर्न नसकेर उहाँ कतै छेलिनुहुन्थ्यो । 

कारण थियो- अब दुलहीको थर, गोत्र, सबै परिवर्तन भएर अर्काको घरमा जानुपर्दा कस्तो होला भन्ने एउटा बेग्लै संवेदना । दुलही अन्माउँदा उहाँका पनि बलिन्द्र आँसु झर्थे । 

यस्ता विविध कारण छन् उहाँको जजमानसँग ३६ को अवस्था हुनुमा । 
०००
न्यौपानेको पुर्ख्यौली थलो जुम्ला भए पनि उहाँको मूल थलो भने मकवानपुरको सिस्नेरी हो, जुन अहिले कुलेखानीमुनि हेटौँडा जाने बाटोको चिया-नास्ता बिसौनीको रूपमा चर्चित छ । अहिले उक्त विश्रामस्थल सिस्नेरीका रूपमा चर्चित भए पनि पहिले त्यसभन्दा माथिको डाँडोलाई सिस्नेरी भनिन्थ्यो । 

उहाँहरूको मूल थलो भने सिम्ले, किरे भन्ज्याङ हो । तर, किरे भन्ज्याङको विडम्बना के रह्यो भने ढुंगै ढुंगाको त्यो पहाडमा जीवन वृत्तिका लागि पनि घाँस-दाउरा अनि पानी-पँधेरो गर्नै पर्‍यो । त्यसमाथि १४ रोपनी खेतबारी, ५०-६० वटा भैँसी, ५०-६० वटा गाईका लागि पनि घाँस काट्न अक्करे भिरमा जानै पर्थ्यो । गाईबस्तु चराउन पनि मुस्किलले हिँड्न मात्र पुग्ने बाटो थियो । गोरेटो पनि नभएर डोरेटो थियो । केवल डोरिने । 

डोरेटो मात्र भएका कारण धेरै महिलाहरूको भिरबाट लडेर निधन भयो, त्यो पनि वीभत्स तरिकाले । उहाँकी साइँली फुपू अनि जेठी आमा र उहाँका २ बच्चा, पातले पानीको खोल्सोमा घाँस काट्न जाँदा माइली फुपू तथा हजुरआमा पनि लडेरै बित्नुभयो । 

अवस्था कस्तोसम्म थियो भने, कोही घाँसपात, गोठाला वा पानी लिन गएको छ भने फर्केर नआउन्जेल घरमा खाना बसालिँदैनथ्यो । कारण- कोही सद्दे आइपुग्ने, नपुग्नेमै शंका थियो । 

त्यसपछि उहाँका पिताजी नरनाथ उपाध्याय न्यौपानेलाई अब यहाँ बसिरहियो भने सबै लडेर सकिन्छन् भन्ने लाग्यो । अनि, हजुरआमाको ६ महिनाको बरखी सकेर २-४ डोका भाँडाकुँडा, अरू २-४ डोका सरसामान बोकेर उहाँका पिताजी बसाइँसराइ गर्नुभयो बारा, कलैयामा २००४ साल माघमा । कलैया गएको ५ वर्षपछि मात्र उहाँको जन्म भएको हो । तर, पाँच पुस्ते थलाे रहेकाे कलैयालाई उहाँले २०६३ सालकाे मधेश आन्दाेलनका कारण छाेडेर काठमाण्डाैमा बसाइँसराइ गर्नुभएकाे छ । 
०००
४ भदौ २००९ मंगलबार कलैयाको भवानीपुर टोलमा भएको हो उहाँको जन्म । कुशे औँसीको दिन । अश्लेषा नक्षत्र, कर्कट राशि । डेलराज हो उहाँको न्वारनको नाम । 

औँसी, अश्लेषा नक्षत्र यी सबैलाई पिराहा मानिन्छन् सनातन हिन्दु धर्ममा । त्यसमा उहाँका पिताजी नै पुरोहित । औँसीमा जन्मँदैमा पिराहा हुँदैनन् भन्ने दृष्टान्त उहाँले महाकवि देवकोटा, मोतीराम भट्ट, भूपी शेरचन, कमलमणि दीक्षित, माधव घिमिरेलगायतका स्रष्टाहरूको जन्म औँसीमै भएकोबाट दिनुभयो । 
०००
बाल्यकाल उहाँको अत्यन्त सुखद रह्यो ।  गोठभरि गाईबस्तु र दही, दूधको कमी थिएन । खान लगाउन कुनै चिन्ता थिएन । कलैया बजार नजिकैकाे भवानीपुरमा घरबारी मिलाएर ३ कट्ठा जमिन थियाे । त्यस्तै केही बिगाहा धानखेत पनि थियाे । तर, संयाेग कस्ताे रह्याे भने यत्तिकाे सुखमय भएकाे बाल्यकाल खाेलाले खेत खाँदा अनि केही खेत काैडीकाे भाउमा बेच्नुपर्दा उहाँकाे युवाकाल भने आर्थिक हिसाबले पीडादायी भयाे । साथै वैवाहिक जीवन पनि सुखद रहेन । सुखद कुन कारणले रहेन भने विवाहकाे पाँच वर्षदेखि साढे २२ वर्षकाे अवधिसम्म श्रीमती मुटुकाे भल्भ खुम्चने राेगले थला पर्दा उहाँकाे उपचारमा शारीरिक, मानसिक तथा आर्थिक समस्या भाेग्न वाध्य हुनुभयाे । तर, यति पीडा भाेग्दा पनि उहाँले श्रीमतीलाई बचाउन सक्नु भएन । 

साढे पाँच वर्षपछि दाेस्राे विवाह गरे पनि विवाहकाे तीन वर्ष नपुग्दै  श्रीमतीकाे गाेडा बसले किचेर दुई पटक अपरेशन नै गर्नुपर्याे । तर, अझ पनि राम्ररी निकाे भएकाे छैन । उहाँका दुई छाेरा तथा एक छाेरीलाई कष्टसँग हुर्काए पनि अहिले भने उहाँ ललितपुरकाे इमाडाेलमा स्थित निजी निवासमा नातिनातिनाका साथमा रमाएर बस्नु भएकाे छ । उहाँकाे जेठाे छाेरा बैंकिङ सेवामा उच्च पदमा कार्यरत हुनुहुन्छ । कान्छाे छाेरा चाहिँ सपरिवार अष्ट्रेलियमा बस्नुहुन्छ ।  

व्रतबन्ध हुनुअघिसम्म उहाँको कपाल काटिएको थिएन । लामो थियो । दुवै कानमा सुनका टप थिए । उहाँको देब्रे कानको प्वाल बुच्चिए पनि दाहिने कानले भने अहिले पनि टप झुन्ड्याउने ल्याकत राख्छ । 

उहाँले बचपनमा गुच्चा पनि नखेलेको होइन, भकुन्डो, लट्टु, चंगा सबै उडाएको हो । तर, यीमध्ये कुनैमा पनि उहाँको दक्षता रहेन । 

एक हातमा लघु कौमुदी र अमरकोश अनि दौरा, सुरुवाल, टोपी तथा ५ औँले खराउ लगाएर उहाँ विद्यालय जानुभएको स्मृति अझै छ उहाँलाई । बस्नका लागि कुशासन भने पिताजीले बोक्नुभएको थियो । लेख्नलाई बाँसको कलम हुन्थ्यो । मसीदानीबाट मसी पोखिएला भनेर झुम्रो कोचिएर सुरक्षित बनाइन्थ्यो । 

यसमा उहाँलाई पिताजीको अलिक धक तथा डर पनि लाग्थ्यो । पिताजी नरममा फूलझैँ कोमल र कठोरमा बज्रभन्दा कठोर । त्यस कारण पनि उहाँको दक्षता भनेको केवल पढाइ तथा साहित्य रचनामा रह्यो । 

माछा मार्ने, चराचुरुंगी मार्ने अनि यस्तै काटमारमा भने उहाँको कहिल्यै पनि रुचि भएन । एक त उहाँ शाकाहारी अनि अहिंस्रक । पिताजी पनि त्यस्तै । उहाँलाई खसी, बोका काटेको देख्दा पनि झन्डै रिंगटा पो चल्थ्यो । 

पिताजी तथा माताजी दुवैको स्वर अत्यन्त मीठो थियो । दुवै जना रामायण तथा महाभारतका भीष्म पर्व, विराट पर्व आदि बेग्लै लयमा तर अत्यन्त मीठो भाकामा गाउनु पनि हुन्थ्यो । 

माताजी भगवतीदेवी न्यौपाने तथा उहाँका पिताजी आफैँमा प्रेरणा हुनुहुन्थ्यो नै । उहाँहरूको यो सुरिलो स्वरको वाचन साहित्यतर्फ लाग्ने पहिलो प्रेरणा हो भन्ने पनि लाग्छ उहाँलाई । 
०००
उहाँका पिताजी नरनाथ उपाध्याय न्यौपाने एक प्रकारले भन्दा सन्त जस्तै हुनुहुन्थ्यो । न्यौपाने बाजे भनेपछि नचिन्ने कोही थिएन । बारा जिल्लामा सबैभन्दा प्रतिष्ठित, चोखो ब्राह्मणका रूपमा कहलिनुभएको थियो पिताजी । 

चिया, चुरोट, माछा, मासु कहिल्यै छुनुभएन । बिहान ४ बजे उठेर नित्य कर्मपछि योग, भागवत, वेद, गीता पाठ, नित्य तर्पण, हवन अनि पूजाआजामै बित्थ्यो बिहानको १० बजेसम्मको समय । त्यसमाथि स्वयं पाक्य पनि । उहाँले २५ वर्ष त केवल फलफूल र दूध खाएरै बिताउनुभयो । 

पिताजी एकदमै अध्ययनशील हुनुहुन्थ्यो । यो त उहाँको कर्मले देखाउँथ्यो नै । त्यसका अतिरिक्त उहाँ गोठालो जाँदा पनि संस्कृतका कुनै न कुनै पुस्तक हातमा लिएरै जानुहुन्थ्यो । प्रायः पुस्तक वेदान्त तथा दर्शनका हुन्थे । दर्शन उहाँको रुचिको विषय पनि थियो । 

गाउँघरमा कोही सिद्ध महापुरुष, सन्त, महन्त, महात्मा आएका छन् भने पिताजी प्रवचन सुन्न तथा सत्संग गर्न जानुहुन्थ्यो । घरमा बोलाएर स्वागत पनि गर्नुहुन्थ्यो । 
०००
उहाँ पिताजीभन्दा ४९ वर्ष कान्छो । तर, छोरोको रूपमा भने जेठो छोरो । त्यस कारण पनि छोराप्रति अगाध प्रेम थियो पिताजीको । छोरो संस्कृतको धुरन्धर विद्वान् होस भन्ने चाह पनि थियो । त्यो कति पूरा भयो, उहाँलाई थाहा छैन । तर, पिताजी सन्तुष्ट हुनुहुन्थ्यो उहाँसँग । उहाँले आफ्नो घरमा पढ्न सिक्न आउने केही ठूला पण्डितहरूलाई मात्र पढाएकाे नभइ क, ख देखि  पिएचडी सम्मका विद्यार्थीलाई समेत पढाउनु भएकाे छ । एक पटक गाउँका ठूलाबडा पण्डितहरूलाईलाई समेत घरमा उहाँले पढाएको देख्दा पिताजीका अश्रु गर्वले छचल्किएका थिए रे !

त्यस्तै उहाँकाे घरमा केदारमान व्यथित, माधव प्रसाद घिमिरे, मदनमणि दीक्षित, विजय मल्ल, भवानी घिमिरे, रमेश विकल, श्याम प्रसाद, पारिजात, केशव प्रसाद उपाध्याय, वासुदेव त्रिपाठी, आनन्ददेव भट्ट, चूडामणि वन्धु, राजेन्द्र सुवेदी, घनश्याम कँडेल लगायतका थुप्रै साहित्यकारहरू पुग्दा पनि उहाँका पिताजीकाे छाती गर्वले फुलेकाे थियाे । 

उहाँ आफ्नो प्रथम गुरुका रूपमा पिताजीलाई नै मान्नुहुन्छ । कारण थियो, साढे २ वर्षको उमेरमा २०११ साल माघको श्रीपञ्चमीको दिनमा उहाँलाई पिताजीले पुर्ख्यौली सिलोटमा अदेखि ज्ञसम्म लेख्न लगाएर 'जिउ गर बाबू' भनेर अक्षरारम्भ गर्नुभएको उहाँको स्मरणमा अझ पनि ताजै छ । 

श्रीपञ्चमीको दिनमा उक्त सिलोटमा अक्षरारम्भ गराउने उहाँको पिताजीको परंपरा नै थियो । उक्त सिलोटमा संभवतः उहाँको पिताजी स्वयंदेखि काका, दिदी अनि उहाँका छोरा, नातिसम्मले अक्षरारम्भ गरे । अहिले उक्त पुर्ख्यौली सिलोट कलैयाबाट बसाइँसराइ गरेपछि पनि उहाँले सँगै लिएर आउनुभएको छ चिनो र परंपराको विरासतको रूपमा । 

३ वर्षको उमेरमा उहाँको हातमा सचित्र नेपाली ठूलो वर्णमालाको पुस्तक परेको थियो । ‘अमला रूखमा हेर फलेको आँप उडायोदेखि कमल फूल भमराले छायोदेखि खटियामाथि बस’ जस्ता अदेखि ज्ञसम्मका सरल स्मरण विधि उहाँको मानसपटलमा अहिले पनि ताजा छ ।  

उहाँको व्रतबन्ध साढे ६-७ वर्षको उमेरमा भएको हो । त्यस बेला उहाँले चण्डी, अमरकोश प्रथम काण्ड पढिसक्नुभएको थियो । त्यस बेला एसएलसीका लागि उमेरको बन्धन थिएन । उहाँभन्दा २-४ वर्ष जेठा पढाइमा २-४ वर्ष कान्छा थिए । उहाँको उमेरका साथीहरू पढाइमा भाइका साथी थिए । 

अक्षरारम्भपछि उहाँलाई पिताजीले अमरकोश पढाउन थाल्नुभयो । संस्कृतमा थुप्रै अन्य कोश भए पनि अमरसिंहले तयार पारेको अमरकोशलाई संस्कृतको सबैभन्दा उच्च शब्दकोश मानिन्छ । 
०००
उहाँको औपचारिक शिक्षा भने २ भदौ २०१६ मा सिद्धेश्वर संस्कृत महाविद्यालय ब्रह्मचर्य आश्रमबाट प्रारम्भ भएको हो । 

त्यस बेला विद्यालयको खास भवन थिएन भने बस्ने डेस्क-बेन्च पनि थिएनन् । भवनका नाममा अग्लो २ पाखे फुसको घर थियो, जसलाई मठिया भनिन्थ्यो । 

विद्यालय आबाल ब्रह्मचारी योगीराज गोपाल ब्रह्मचारीले विद्यालय स्थापना गर्नुभएको थियो । सिद्धेश्वर महादेवको पनि स्थापना उहाँले गर्नुभएको थियो । त्यसैले विद्यालयको नाम सिद्धेश्वर रहन गएको हो । 

मठिया विद्यालयको कार्यालय, प्रधानाचार्य बस्ने ठाउँ तथा सबै थोक थियो । मठियाको आँगन, पिँढी जहाँ बसेर पनि पढाइ हुन्थ्यो । आफ्नो आसन आफैँले बोकेर ल्याउनुपर्थ्यो । ब्रह्मचर्य आश्रम भएको हुनाले महिलाको सहभागिता रहने कुरै भएन । 

एक हातमा लघु कौमुदी र अमरकोश अनि दौरा, सुरुवाल, टोपी तथा ५ औँले खराउ लगाएर उहाँ विद्यालय जानुभएको स्मृति अझै छ उहाँलाई । बस्नका लागि कुशासन भने पिताजीले बोक्नुभएको थियो । लेख्नलाई बाँसको कलम हुन्थ्यो । मसीदानीबाट मसी पोखिएला भनेर झुम्रो कोचिएर सुरक्षित बनाइन्थ्यो । 

छात्राबास तथा भोजनको निःशुल्क व्यवस्था थियो । घर नजिकै भएको हुनाले सुरुमा उहाँ घरबाटै खाना खाएर जानुहुन्थ्यो । पछि भने छात्रवृत्ति खाएर पढ्न थाल्नुभयो । 

त्यहाँ भूटान, रामेछाप, सोलुखुम्बू, धादिङ, नुवाकोट, गोरखासम्मका विद्यार्थी पढ्न आउँथे । तर, विडम्बना ! उहिलेको आचार्यसम्मको पढाइ हुने महाविद्यालय २०२१ सालपछि भने माध्यमिक विद्यालयमा मात्र सीमित छ । 

उहाँले संस्कृत व्याकरणको शास्त्रीसम्मको अध्ययन त्यहाँ गर्नुभयो भने पछि १० वर्ष उक्त विद्यालयमा पढाउनु पनि भयो । 

उहाँले २०२४ सालमा एसएलसी गर्नुभएको हो । 

पछि उहाँले नेपालीमा एमए तथा ‘नेपाली यात्रा साहित्यको प्रवृत्तिगत विश्लेषण र मूल्यांकन’ विषयमा पीएचडीसमेत गर्नुभयो । 
०००
जनता हाइस्कुल उमजन बाराबाट सुरु भएको उहाँको अध्यापनको पाटो पनि निकै लामो छ । मासिक १३० रुपैयाँ तोकिएको तलबमा उहाँले करिब ६ महिना पढाउँदा १३० रुपैयाँ पाउनुभयो । 

जय किसान हाई इंग्लिस स्कुलमा मासिक २०० रुपैयाँमा २०२९ सालदेखि २०३१ सालसम्म २ वर्ष पढाउनुभयो । 

राम चरित्र हाइस्कुल चिउँटाहा, बारामा ४ महिना । आफूले पढेको सिद्धेश्वर माविमा करिब १० वर्ष पढाउनुभयो । कलैयाको रामराजा (मोहनविक्रम शाह) रात्रि क्याम्पसमा करिब १४ वर्ष पढाउनुभयो । रात्रि क्याम्पसको अध्यापनलाई भने उहाँले आफ्नो अध्यापनको समयमा जोड्न रुचि राख्नुभएन । 

दुर्गा मावि वरेवामा करिब साढे २ वर्ष पढाउनुभयो अनि वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा करिब २१ वर्ष र ललितकला क्याम्पसमा ४-५ महिना,  कीर्तिपुरकाे अनुसन्धान महाशाखामा उहाँले ७ वर्ष १५ दिन सेवा गर्नु भएकाे थियाे । आरआर क्याम्पसमा करिव २ वर्ष, उहाँको अध्यापनको फेहरिस्त निकै लामो छ । माध्यमिक विद्यालय र महाविद्यालयमा गरी उहाँले ४ दशक लामो, ४३ (त्रिचालीस) वर्षसम्म अध्यापन गर्नुभई केही समय अगाडि सेवा निवृत्त हुनुभएको हो । 

संयोग कस्तो रह्यो भने उहाँको पहिलो जागिरको हाजिरी १ भदौ २०२९ मा भने जागिरको अन्तिम हाजिरी पनि १ भदौ २०७२ साल । 
०००
करिब ८ वर्षको उमेरदेखि उहाँले कविता लेख्न थाल्नुभएको हो । पहिलो कविता गाईको बारेमा हुनुपर्छ भन्ने लाग्छ उहाँलाई । 

उहाँको प्रथम प्रकाशित रचना ‘सम्झना’ नियात्रा, ‘सगरमाथा’, नेपाली छात्रसंघ पञ्चपुरी हरिद्वार (भारत)को मुखपत्रमा सन् १९७० मा छापिएको थियो । त्यसपछि हालसम्म उहाँका विभिन्न विधाका गरी १७ वटा प्रकाशन भएका छन् भने ३ वटा पुस्तक प्रकाशनको तयारीमा छ । 

प्रकाशित १७ वटा पुस्तकमा उहाँका ५ वटा कविता तथा ५ वटा नियात्रा साहित्य छन् । उहाँ कविताबाट भन्दा पनि नियात्राका कारण बढी चिनिनुहुन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानले छापेको 'नौ पाइला' नियात्रासंग्रहबाट उहाँ साहित्यमा स्थापित हुनुभएको हो । 

उहाँका प्रकाशित पुस्तकमा 'बेहुली अन्माएको घर' (कवितासंग्रह) २०३३, 'सरिता' (काव्य) २०३६, (‘प्रतिनिधि’ पूर्णांक २ मा प्रकाशित), 'एल्बमका पानाहरू' (उपन्यास), साझा प्रकाशन, २०४३ । 'नौ पाइला' (नियात्रासंग्रह), काठमाडौं ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०४६ । 'स्वयम्भूका आँखाहरू' (कथासंग्रह), २०४७ । 'ठोरीको एल्बम' (नियात्रासंग्रह), २०४८ । 'झलझली आँखामा' (नियात्रा), साझा प्रकाशन, २०५१ । 'सम्भवामि युगेयुगे' (संस्मरणसंग्रह), २०५३ । 'सेरोफेरो सबै मेरो' (नियात्रा), २०६१ । 'साँचेको सम्झना' (संस्मरण), साझा प्रकाशन, २०६८ । 'बोधीवृक्षको छायामा' (कवितासंग्रह), २०६९ । 'यात्रा साहित्यको सिद्धान्त' (सैद्धान्तिक समालोचना), २०७० । 'विकीर्ण समालोचना' (समालोचना), २०७० । 'बग्दाबग्दै'  (कवितासंग्रह), २०७४ । 'तस्बीर तिम्रै' (मुक्त-काव्य), २०७५ । 'माया महल' (संस्मरण), २०७७ । 'आवारा बादल' (नियात्रा), २०७८ ।

साथै, विभिन्न पत्रपत्रिकामा लेख, समालोचना, कविता, गीत, कथा, निबन्ध, संस्मरण र नियात्रा गरी ३०० जति फुटकर रचनाहरू पनि प्रकाशन भएका छन् । 
०००
उहाँद्वारा सम्पादित कृतिमा प्रधानसम्पादक, भारती, सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालय, कलैया, बाराको मुखपत्र, वर्ष– १, अङ्क–१, २०३६ साउन ।  

सम्पादक, प्रतिनिधि, साहित्यिक संकलन, पूर्णांक १ देखि ४ सम्म (२०३६-२०३७), साहित्य समिति बारा, कलैया,  सम्पादन, महाकवि देवकोटा स्मारक व्याख्यान माला, कलैया, देवकोटा स्मृति सभा,२०५९ ।

संयुक्त सम्पादन, मधुपर्क प्रतिनिधि नियात्रा, काठमाडौँ: गोरखापत्र संस्थान, २०६७ । 

सम्पादन संयोजक, मृत्यु पराजित छ (स्वर्गीय साहित्यकार चिरञ्जीवी ‘नेपाली’ (राजु मौद्गल्य)का कविता, आख्यान र लेख-निबन्धहरूको संयुक्त ग्रन्थ) भरतपुर: चितवन साहित्य परिषद्, (२०७०) 
०००

पुरस्कार, सम्मानका हकमा उहाँले प्राप्त गर्नुभएका केही चर्चित पुरस्कार यस्ता छन् । 

देवकोटा स्मृति पुरस्कार (२०३५) । उत्तम पुरस्कार (२०४६) । केवलपुरे साहित्य प्रतिभा पुरस्कार (२०५३) । यती फाइनान्स पुरस्कार (२०६२) । सैनध्वज नन्दकुमारी विद्वत्पुरस्कार (२०६९) । कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार (२०७०) । नेपाल विद्या भूषण पदक ‘क’ श्रेणी (२०६८) । त्रिभुवन विश्वविद्यालय दीर्घसेवा पदक (२०६९) । ‘प्रतीक’ रजत जयन्ती सम्मान (२०६९) । भैरव वाङ्मय पुरस्कार (२०७०) ।

साथै, त्रि.वि.अन्तर्गत केन्द्रीय क्याम्पसलगायत विभित्र क्याम्पसका स्नातकोत्तर तहका अनेक शोधार्थीहरूबाट जीवनी, व्यक्तित्व र कृतित्व विषयक एवं विधापरक र कृतिपरक शोध कार्य । 

त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको स्नातक तहमा नेपाली विषयको पाठ्य सामग्रीका रूपमा संस्मरण र नियात्रा रचना समावेश । 
०००
उहाँको संस्थागत संलग्नताका बारेमा कुरा गर्दा संस्थापक सचिव: साहित्य समिति बारा, कलैया, २०३६ । संस्थापक सचिव: बारा साहित्य परिषद्, कलैया, २०४४ । सचिव: महाकवि देवकोटा प्रतिमा स्थापना समिति, कलैया (२०४६-२०४८) । अध्यक्ष,  देवकोटा स्मृति सभा कलैया, २०५३ कात्तिकदेखि २०७० जेठसम्म । अध्यक्ष: चिरञ्जीवी ‘नेपाली’ स्मृति साहित्य प्रतिष्ठान, गीता नगर, चितवन (२०७१ देखि) । सल्लाहकार: नियात्रा समाज नेपाल, काठमाडौं । उहाँले कलैया र त्यसकाे सेराेफेराेमा करिब ३० वर्षसम्म संस्थागत रूपमा समेत साहित्यिक नेतृत्व गर्नुभयाे ।