‘मिस इको इन्टरनेसनल’मा नेपालकी सोफिया

‘मिस इको इन्टरनेसनल’मा नेपालकी सोफिया

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ १६, २०७८

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल, २०२२’मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । उनलाई ‘मिस इको इन्टरनेसनल नेपाल’को ताजसहित प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाले छनोट गरेको हो ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा आयोजकले प्रतियोगी सार्वजनिक गरेको थियो । भुजेललाई ‘मिस इको इन्टरनेसनल नेपाल, २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाइदिएकी थिइन् । रायमाझीले ‘मिस इको इन्टरनेसनल, २०२०’मा ‘मिस इको एसिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन् ।

भुजेल आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेसनल, २०२२’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताका लागि भुजेल नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । भुजेललाई प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरूले ग्रुमिङ गर्नेछन् ।

भुजेलले इजिप्टबाट ‘मिस इको इन्टरनेसनल, २०२२’को शीर्ष उपाधि जित्न सक्ने विश्वास आफूलाई लागेको ग्रिन आर्ट मिडियाका सीईओ प्रवीण लाकौलले बताए । सन् २०१५ देखि ग्रिन आर्ट्स मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकका रूपमा चुनिएकी हुन् ।