एमसीसी सकस: बाबुराम र नारायणकाजीबीच चल्यो दोहोरी

एमसीसी सकस: बाबुराम र नारायणकाजीबीच चल्यो दोहोरी

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १७, २०७८

अमेरिकी सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एमसीसीको पक्ष र विपक्षमा दोहोरी चलेको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई एमसीसी पारित गर्ने पक्षमा देखिएका छन् भने श्रेष्ठले संशोधनपछि मात्र पारित गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखेपछि सत्तारुढ गठबन्धनमा २ थरी धारणा निर्माण हुन गएको छ । 

यसले नेपाली कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनमा एमसीसीको विषय पेचिलो बन्न गएको देखिन्छ । ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौँ', भट्टराईले सामाजिक संजालमा लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘सबै एक मुख भएर जनतालाई बुझाऊँ, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्, यो प्रकरण नेपालका ‘रुढीवादी कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस्, देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्, शक्ति केन्द्रहरूको चलखेलबाट देश बर्बाद नहोस् ।’

भट्टराईले निःशर्त एमसीसी पारित गरेर प्रतिगमनविरोधी गठबन्धन जोगाउनुपर्ने धारणा सार्वजनिक गरेपछि श्रेष्ठले भने त्यसको प्रतिवाद गरेका छन् । ‘कुनै भ्रममा नपरौँ: प्रमले एमसीसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन, आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन ।’ 

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं एमसीसी पारित गर्ने पक्षमा देखिएको भन्ने धारणा सार्वजनिक गरेपछि श्रेष्ठले थप प्रस्ट्याउने कोसिस गरेका हुन् ।

उनले माओवादी केन्द्रको धारणाबारे भनेका छन्, ‘गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन, कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’