केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवतीको उद्धार

केन्या र मलाबीका डान्सबारबाट  १६ नेपाली युवतीको उद्धार

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ ३, २०७६

काठमाडाैं । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो ।उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ । उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए । हालै स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले यो घटनामा अनुसन्धान अघि बढाएको छ । 

अफ्रिकाका विभिन्न देशमा सयौँ संख्यामा नेपाली युवतीको तस्करी गरिएको छ । खासगरी केन्या र युगान्डाका डान्सबारबाट विगतमा पनि त्यहाँको प्रहरीले नेपाली युवतीको पटक–पटक उद्धार गरिसकेको छ । गत वर्ष केन्याको नैरोबीबाट २१ युवतीको उद्धार गरिएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।