सदस्य सचिवको विषयमा ३ संघले शान्तिपूर्ण आन्दोलन गर्ने

सदस्य सचिवको विषयमा ३ संघले शान्तिपूर्ण आन्दोलन गर्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ १९, २०७८

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईइपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन् ।

सदस्य सचिवको विचाराधीन मुद्दामा छिटोभन्दा छिटो सुनुवाइ गर्न दबाब बढाउन भन्दै बिहीबार संयुक्त रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने विज्ञप्तिमार्फत जनाएका छन् । 

विज्ञप्तिमा एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यष दीपक विष्ट र राखेप कर्मचारी संघबाट रंजन थापाले हस्ताक्षर गरेका छन् । सरकारले तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको नियुक्ति खारेजीको माग गर्दैै दायर गरेको मुद्दामा सर्वोेच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

२८ माघमा सर्वोच्चले यस विषयमा सुनुवाइको पेसी तोकेको छ । राखेपमा सदस्य सचिव नहुँदा यसै वर्ष चीनमा हुने एसियन खेलकुुद, नवौँ राष्ट्रिय खेलकुद, १४औं दक्षिण एसियाली खेलकुद (साग)का साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रभावित भएको विज्ञप्तिमा बताइएको छ ।

यस विषयमा छिटो निकास निस्किएमा खेलकुद गतिविधि पुनः चलायमान बनाउन सकिने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको एनएनआइपीए, नेपाल ओलम्पियन संघ र राखेप कर्मचारी संघले संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।