५९० रोपनी सरकारी जग्गा श्रीमतीसहित आफन्तको नाममा

५९० रोपनी सरकारी जग्गा श्रीमतीसहित आफन्तको नाममा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७६

जुम्ला । गुठीचौर गाउँपालिका–४ बाउलीगाउँका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले पाँच सय ९० रोपनी सरकारी जग्गा श्रीमतीसहित आफन्तको नाममा पास गरेका छन् । अवकाशप्राप्त कर्मचारी न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठीचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको तीन लाख वर्गमिटर अर्थात् पाँच सय ९० रोपनी जग्गा पत्नी गोमा, छोरी पार्वतीसहित १३ जना आफन्तको नाममा दर्ता गराएका हुन् ।

राष्ट्रिय भेडाबाख्रा अनुसन्धान फार्मको विभिन्न कित्ताको २२ लाख वर्गमिटर जग्गा नापनक्सा भएको छ । साबिक गुठीचौर गाविस–६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५ सय २५ वर्गमिटर जग्गा फिल्डबुकमा कायम छ । त्यसैमध्येको तीन लाख वर्गमिटर (५९० रोपनी) जग्गा तत्कालीन मालपोत अधिकृत न्यौपानेले निजी बनाएका हुन् ।

रुद्रप्रसाद पण्डित जुम्लाको प्रमुख जिल्ला अधिकारी बनेर आएपछि न्यौपानेले हडपेको सरकारी जग्गा पत्ता लगाएका थिए । गुठीचौरको सरकारी जग्गा व्यक्तिको बनाएको सूचना पाएपछि उनले अनुसन्धान थालेका थिए । प्रतिवेदनअनुसार, न्यौपानेले ३५ हजार एक सय ५० वर्गमिटर जग्गा श्रीमती गोमा र ३४ हजार आठ सय ५० वर्गमिटर छोरी पार्वतीको नाममा दर्ता गराएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।