उदयपुरको कटारीमा बुद्ध पार्कको उद्घाटन

उदयपुरको कटारीमा बुद्ध पार्कको उद्घाटन

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २०, २०७८

उदयपुर । उदयपुरको कटारी नगरपालिका-५ स्थित भोलेमा तामाङ समुदायले मनाउने महान् चाड २८५८औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसरमा कटारीमा बुद्ध पार्कको उद्घाटन गरिएको छ । 

कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगैको पार्क उद्घाटन गरिएको हो । कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले स्थानीय सरकार संस्कृतिको जगेर्ना गर्न प्रतिबद्ध रहनुका साथै बुद्धको नगर भनेर चिनाउने बताए ।

राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो । मदन भण्डारी लोकमार्गसँगै निर्माण गरिएको पार्कले यस क्षेत्रको सौन्दर्यसमेत बढाएको स्थानीयले बताए ।

यसैबीच कटारीमा पनि सोनाम ल्होछार मनाइएको छ । नेपाल तामाङ घेदुङ्ग संघ कटारीले तामाङ समुदायको धार्मिक, एवं सांस्कृतिक महान् पर्व ल्होछारको शुभकामना आदान प्रदान गर्दै मनाएको हो । कटारी नगरपालिका-३ को राजावासस्थित श्री साङ्गे छोयलिङ्ग बौद्ध गुम्बा परिसरमा तामाङ समुदाय भेला भई यो समुदायले ल्होछार पर्व मनाएका हुन् ।