सँगै बस्न नमान्दा श्रीमतीमाथि एसिड प्रहार

सँगै बस्न नमान्दा श्रीमतीमाथि एसिड प्रहार

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७६

काठमाडाैं । एसिड प्रहारबाट घाइते दोलखा डाँडागाउँ माकु–४ की २० वर्षीया जेनी खड्काको स्वास्थ्य अवस्था चिन्ताजनक छ । सँगै बस्न नमानेको भन्दै काभ्रे नमोबुद्ध–४ फूलबारीका विष्णु भुजेलले जेनीलाई बुधबार साँझ कालोपुलमा एसिड प्रहार गरेका थिए । जेनी भुजेलकी कान्छी श्रीमती रहेको अनुसन्धानबाट खुलेको छ ।

एसिडबाट जेनीको अनुहार, हात र शरीरका विभिन्न भाग जलेका छन् । उनको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड वर्न सेन्टरको सघन कक्षमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जेनी बोल्न सक्ने अवस्थामा छैनन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बोल्न सक्ने अवस्था नभएपछि घटनाको विस्तृत विवरण लिन नसकिएको बताए । ‘जेनीको अवस्था चिन्ताजनक छ । उनी बोल्न सक्ने अवस्थामा छैनन् । अस्पतालको सघन कक्षमा उपचार भइरहेकाले घटना सम्बन्धमा थप जानकारी लिन सकिएको छैन । पीडकमाथि अनुसन्धान जारी छ,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।