माउन्टेन फ्लाइटमा सर्वोच्च शिखर सगरमाथाको फन्को, धोको पूरा भयो मनको

माउन्टेन फ्लाइटमा सर्वोच्च शिखर सगरमाथाको फन्को, धोको पूरा भयो मनको

डा. सदानन्द कडेल  |  साहित्य  |  माघ २१, २०७८

शनिबार बिहान ब्युँझेर अनि हल्का फ्रेस भएर पनि फेरि सुत्न मनपर्छ मलाई । उठ्न खोज्दा कसैले भनेजस्तो लाग्छ, ‘आज शनिबार त तिम्रो डेडलाइन नहोला नि ? कोरानाको तेस्रो लहरको कहर छ । किन मरिहत्ते गर्छौ ?’

हुन पनि हो, २ दिनको जिन्दगीमा किन मरिहत्ते गर्नु छ र ? यस्तै सम्झेर न्यानो ओच्छ्यानमा फेरि पल्टिन्छु म । लाग्छ, शनिबार कुनै समयको पाबन्दी र चाहनाको बर्खिलापमा उभिने सकसरहितको स्वतन्त्रता दिवस हो ।  

मनमा अनेक तर्कना आउन थाल्छन्, सिनेमाको पर्दामा झैँ । यस वर्ष माघको पहिलो र दोस्रो हप्ता त अहिलेसम्म कहिल्यै नभएको जाडो महसुस भयो । सूर्यको अनुहार देख्न मुस्किल हुने, देखिइहाले पनि बादलले अठ्याएर कक्रक्क पारेजस्तो । उसैलाई नै सिरक ओढाइदिनुपर्ला जस्तो ।

अर्कातिर ओमिक्रोन भेरिएन्टको बिगबिगीले आक्रान्त पारेको मनोविज्ञान । त्यसमाथि बेलाबेलामा रुघाखोकीले घाँटी समात्न थालेपछि त सक्किगो नि !
एउटा साथीले भनेको सम्झेँ, ‘तिम्रो उमेरले बुढ्यौलीको संकेत गरिसक्यो । ठिटोझैँ सम्झेर आकाश छुन नखोज ।’ तत्काल अर्को साथीले भनेको पनि सम्झेँ, ‘तिमी बूढो हुन लागेँ भनेर नहिँड है, त्यसले कमजोर मनोविज्ञानतिर लैजान्छ । अनुभवी भएँ भन्ने गर बरु ।’

यी २ साथीहरूका भनाइबीचको अन्तरबारे सोचिरहेका बेला टुप्लुक्क हाजिर भए, भिक्टर ह्युगो, जसलाई उमेरको प्रसंग निस्किँदा बेला बखत म सम्झने गर्छु । ह्युगोले भनेका छन्, ‘बुढ्यौलीको जवानी हो ५० को दशक ।’ २० को दशकमा टेकेर हेर्दा ५० को दशकलाई ‘पाको’ ठाने पनि ५० को दशकमा ठिंग उभिएर ८० को दशकको कल्पना गर्दा त जवानी नै देखिन्छ नि !

‘होइन, केको कल्पनामा डुबुल्की मार्दै हो, बड्डो ! फेरि आज पनि केही फुर्न लाग्यो कि कसो ?’, जीवन संगिनीको यो भनाइ कानमा ठोक्किएपछि झल्याँस्स तन्द्राबाट ब्युँझेझैँ भएछु म ।

‘१ घण्टा एकैछिनमा बिते जस्तो लाग्यो’, पेटी खोल्दै यो यात्रामा बिछट्टै रमाएकी इन्दिराले भनिन् । मैले थपेँ, ‘जिन्दगीमा एकपल्ट गर्नै पर्ने यात्रा रहेछ यो । सर्वोच्च शिखर सगरमाथा तथा छरछिमेकी शैलश्रेणीलाई नजिकबाट दर्शन गर्ने धोको पूरा भएकामा उधुम मज्जा आयो ।’  

‘लौ, माउन्टेन फ्लाइट पनि उडिसक्यो जस्तो छ’, आकाशबाट माउन्टेन फ्लाइटकै जस्तो भिन्दै खाले आवाज आइरहेको थियो । उनको यो भनाइका मूल शब्दहरू ‘फुर्न र माउन्टेन फ्लाइट’ कानबाट पसेर मन मस्तिष्कसम्म पुगेपछि साँच्चीकै फुर्ला जस्तो पो भयो ।   
म हतारहतार गर्दै हानिएँ अध्ययन-लेखन कक्षतिर ! टेबलमा असरल्ल रहेछन् किताब र नोटबुकहरू ।  काखे कम्प्युटर खोल्न क्लिक गरेँ । भान्सामा गएर विद्युतीय भाँडोमा पानी बसालेँ ।  

टेबलमा छरिएका चिजबिजहरूले मलाई गिज्याइरहेजस्तो लाग्यो । अस्ट्रेलियाली दूतावासमा काम गर्दाको ‘क्लियर डेस्क पोलिसी’ झल्झली सम्झेँ । त्यो नीति मलाई असाध्यै मनपरेको थियो । हरेक कर्मचारीले ५ बजे अफिसबाट निस्किनुअघि आफ्नो टेबलमा एक टुक्रा कागज पनि नराखी क्लियर गर्नुपथ्र्यो । आफ्नो कोठाको झ्याल आफैँ बन्द गरेर मात्र हिँड्नुपथ्र्यो । कसैले त्यसलाई लागू नगरेमा नीतिको उलंघन भएको मानिन्थ्यो ।  

नानीदेखी लागेको होस्ल्यांगे बानीमा सुधार ल्याउन त्यस्तो पोलिसीले निकै सघाउ पुर्‍याएको थियो अफिसमा र घरमा पनि । तर, यस पटक यी छरपस्ट किताबहरूले आफू व्यवहारमा अनुत्तीर्ण भएको स्वीकार्न विवश बनाइदिए मलाई ।  

ल्यापटप खुलेपछि ध्यान वाईफाईतिर पुग्यो । ठिकै भएको देखेपछि मोडियो ईमेलतिर अर्जेन्ट केही पो छन् कि भनेर ध्यान गयो । तपशीलमा पर्ने ईमेललाई थाँती नै राखेर फेसबुक हेर्न आतुर भए नयनहरू । हिजो राती सुतिसकेपछि एउटा साथीको म्यासेन्जरमा संदेश रहेछ, ‘यो हप्ता केही लेखेनौ कि क्या हो ?’

अघिल्ला ३ हप्तामा लगातार नियात्रा पस्केर यो हप्ता खाली भएको अवस्थाले जन्माएको प्रश्न थियो त्यो । साथीलाई मनमनै आभार प्रकट गरेँ र म्यसेन्जरमा पनि केही आभारका शब्दहरू पठाएँ ।  

ग्रिन टीको भाँडोमा टन्न तातो पानी खन्याएर टेबलकै एक छेउमा राखेर अघिनैका मूल शब्दहरूलाई सम्झेँ ।  

शीर्षक लेखेर मात्र सुरुवात गर्न मज्जा लाग्छ मलाई । लेखिसक्दा पटक पटक परिवर्तन गरिरहनुपर्ने भए पनि अर्थात् कहिलेकाहीँ त सम्पादकबाटै फेरबदल हुने भए तापनि ।  

ग्रिन टीको चुस्की लगाउँदै लेख्न थालेँ, ‘माउन्टेन फ्लाइटमा सर्वोच्च शिखर सगरमाथाको फन्को ।’ तत्काल मेरो आँखा अगाडि संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नान आएर टक्क रोकिए । किनकि उनकै प्रेरणाले मैले माउन्टेन फ्लाइटमा यात्रा गरेको थिएँ, १८ वर्षअघि ।  

अफ्रिकी मुलुक घानामा जन्मिएर २ कार्यकाल संयुक्त राष्ट्रसंघका महासचिव जस्तो गरिमामय पदमा रहँदै शान्तिका लागि नोबेल पुरस्कारसमेत प्राप्त गर्न सफल अन्नानले ३ फागुन २०५७ मा नेपाल भ्रमण गरेका थिए । भोलिपल्ट बिहानै बुद्ध एयरबाट उनले माउन्टेन फ्लाइटमा यात्रा गरेर सगरमाथालगायतका हिमशृंखलाको अवलोकन गरेका थिए ।  

अघिल्लो दिन साँझमा आएर भोलिपल्ट अपराह्नमा नै बंगलादेशको ढाकातर्फ लागेका अन्नानले छोटो नेपाल बसाइमा राजा वीरेन्द्र, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, परराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोला, रक्षामन्त्री महेश आचार्यसँग भेटघाट र छलफल गर्नुका साथै नेपालस्थित संयुक्त राष्ट्रसंघीय संस्थाहरू तथा माइती नेपालको कार्यालयमा पुगेर महिलाहरूसँग अन्तक्र्रियासमेत गरेका थिए । हरेक भेटमा उनले नेपालमा शान्तिका लागि पहल गर्न आग्रह गरेका थिए ।   

लेखाइलाई निरन्तरता दिन के खोज्दै थिएँ, टिंग आवाज आयो म्यासेन्जरमा । शुभबिहानीसँगै ‘अब अर्को नियात्रा कहिले पढ्न पाइन्छ ?’ भन्ने प्रश्न रहेछ नियात्रामा रुचि राख्ने एक जना साथीको । मलाई औधी नै खुसी लाग्यो । झन् उत्साह चुलिँदै गयो । हार्दिक साधुवाद दिएर पुनः लेखनलाई अघि बढाएँ ।   

कोफी अन्नानले यात्रा गरेको ३ वर्षपछि म पनि माउन्टेन फ्लाइटका लागि कस्सिएको थिएँ, जीवन संगिनीलाई साथमा लिएर । बुद्ध एयरको माइलेज सुविधाको सदुपयोग गरेर हाम्रो जोडीले हवाई टिकटको पैसा नतिरीकन नै यो अवसर पाएको थियो । यसका लागि धन्यवाद भन्नै पर्छ बुद्ध एयरलाई !

बिहानै ५.३० बजे मोटरसाइकलमा हामी त्रिभुवन विमानस्थलमा पुग्यौँ । बुद्ध एयर तथा अन्य एयरलाइन्सबाट माउन्टेन फ्लाइट जाने र लुक्ला जाने यात्रीहरूको घुइँचो नै थियो । फागुन महिना भएकाले आफ्नो घरको छातबाट नै उत्तरतर्फ हिमाल देखिने भए तापनि ‘एकछिनपछि तिनै हिमशृंखला माथिमाथि उड्दा कस्तो मज्जा आउने होला’ भन्ने कौतूहल मनमा लिएर पर्खनुको मज्जा नै बेग्लै थियो ।

विलम्ब नगरीकन भनिएकै समयमा प्लेन उड्यो बिहानको ६.३० बजे । ललितपुरमाथिको आकाशमा फेरो मार्दै झण्डै कलंकीमाथिबाट उचाइ लिन थाल्दा एक किसिमको भिन्दै आवाज आउने रहेछ, जुन आवाज पश्चिमतिरबाट काठमाडौं आउँदा ट्याङ्ला फाँट वा कीर्तिपुरमाथि देखिने प्लेनको आवाजभन्दा बिल्कुल फरक । सायद उचाइ लिँदा सकस परेको हो ।

बुद्ध एयरको सानो बिचक्राफ्ट ‘डी’ जहाजमा १८ जना यात्री थियौँ । म र इन्दिराबाहेक अरू कोही पनि नेपाली भएजस्तो लागेन । केही साउथ इन्डियनहरू थिए भने बहुसंख्यक यात्रुहरू तेस्रो मुलुकका थिए ।

गोकर्ण हुँदै सुन्दरीजलमाथि पुगेपछि उत्तरतर्फका सेता तथा बिहानको झुल्के घाममा टल्किएर सुनौला वा सिन्दूरे हिमालका ताँतीको दृश्य देखिएपछि विदेशीहरू लामालामा डीएसएलआर क्यामेरा झ्यालमा तेस्र्याउँदै फोटो खिच्न थाले । एउटा विदेशी यात्रुले चिच्याउँदै भने, ‘ह्वाट अ फ्यान्टास्टिक सिन, रियल हेभेन अन द अर्थ (कस्तो अद्भूत दृश्य, साँच्चिकै स्वर्ग पृथ्वीमा) !’

उत्तर-पश्चिममा गणेश हिमाल र उत्तरमा लाङटाङ हिमालको शृंखला देखियो भने अलिक पूर्वतिर जुगल र गौरीशंकर हिमाल । अत्यन्तै मनोरम दृश्यले सबै नै एकदम रमाएका देखिन्थे । हाम्रो सिट दायाँ साइडमा परेकाले अलिक तन्किएर उत्तरतिर हेर्नुपथ्र्याे । घरिघरि पाइलटले पनि हिमालका बारेमा सबैले सुन्ने गरी बताउँथे ।

विमान परिचारिकाले पालै पालो पाइलटहरूको नजिक ककपिटमा गएर छोटो समय लिएर हेर्न अनुरोध गरिन् । हाम्रो सिट अलिक पछि भएकाले पालो पनि ढिलै आयो । आफ्नो पालो आएपछि अत्यन्तै उत्साहित भएर म ककपिटमा गएँ ।

‘अरे, आइए भाइसा’ब, देखिए माउन्ट एभरेस्ट’, भारतीय जस्तो देखेर पाइलटले यस्तो पो भने ।

‘म त नेपाली नै हुँ नि पाइलट सा’ब’ भन्ने मेरो प्रतिक्रिया सुनेर उनी अलिक लज्जित भए । अनि, ‘सरी सर’ भन्दै उनले थपे, ‘ऊ त्यो हो माउन्ट एभरेस्ट, अगल बगलका २ हिमाल हुन् चोओयू र ह्लोत्से । अलिक पर पूर्वतिरको मकालु र झन् परको चाहिँ कंचनजंघा । तपाईं लक्की हुनुहुँदो रहेछ, माउन्ट एभरेस्टलाई परिक्रमा गर्ने समयमै तपाईंको पालो पर्न गयो ।’

उनले चिनियाँ भूभाग र हिमशृंखला पनि देखाए । मित्रराष्ट्र चीनको तिब्बतमा अवस्थित भूभाग देखेपछि मैले भृकुटी र अरनिकोलाई सम्झेँ । हवाईजहाजले आफ्नै नेपाली भूभागमा चक्कर मार्दै फर्किनुपर्ने रहेछ ।     

मेरो ककपिटमा पुग्ने र प्लेनले सगरमाथामाथि पुगेर फन्को मार्ने समय उही परेकामा म अघोरै रोमान्चित भएँ । पाइलट आगाडिको सिसाबाट नजिकै विश्वको शिर सगरमाथालाई हेर्न पाउँदा निकै गौरवान्वित भएँ । हिम शिखरको चौपट्टै मनोरम तथा मनोरन्जक आकृतिले मेरो मन मझेरीमा प्रफुल्लताको बाढी नै ल्याइदियो ।  

राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लिखित ‘गाउँछ गीत नेपाली’ बोलको राष्ट्रिय गीतको सम्झना भयो । ‘नाचौँला हामी हिमालमा ज्योतिको पंख उचाली’ भन्ने सम्झिँदै नेपालको झण्डा लिएर झ्यालबाट खुत्रुक्क हाम्फालूँ जस्तो लाग्यो मलाई । त्यसपछि ‘सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली’ भन्ने पंक्ति स्मरण गरेर मनमनै नमन गरेँ तेन्जिङ नोर्गे शेर्पा, एड्मण्ड हिलारी र पासाङ ह्लामु शेर्पालाई ।  

त्यहीँ अझै उभिएर पृथ्वीमा बसाइँ सरेको स्वर्गको टुक्रालाई हेरूँहेरूँ लाग्दालाग्दै २ मिनेट चिप्लिएको पत्तै भएनछ । परिचारिकाले अर्का यात्रुलाई पालो दिन संकेत गरिन् । मैले इन्दिरालाई क्यामेरा हस्तान्तरण गरेर आफ्नो सिटमा फर्किएँ, किनकि म पछिको पालो उनकै थियो ।   

फोटोमा हेरेजस्तो सगरमाथा देखिएन । माथिबाट हेर्दा फरक हुने रहेछ । सगरमाथाको दक्षिण मोहडा हेर्दा मलाई पासाङ ह्लामु शेर्पाको सम्झना आयो । ३ पटक सगरमाथा चढ्ने प्रयास असफल भए पनि हिम्मत नहारेर उनी चौथो प्रयासमा यही दक्षिणी मोहडाबाट नै २०५० सालको वैशाख १० गते सगरमाथामा नेपालको झण्डा गाढ्ने पहिलो महिला तथा माउन्ट एभरेस्टको शिखर चुम्ने विश्वकै १७औँ महिलाको कीर्तिमान राख्न सफल भएकी थिइन् ।  

दुर्भाग्यवश, शिखरबाट श्रीमान्सँगै फर्किरहँदा बाटैमा ३५ वर्षको उमेरमा उनको असामयिक तथा अकल्पनीय देहावसान भएको थियो । काठमाडौंमा भएको उनको अन्त्येष्टिमा म पनि सामेल भएको थिएँ । अहिले पनि चुच्चेपाटीमा रहेको उनको शालिक अगाडि पुग्दा अनायासै भावुक भइहाल्छु म ।      

फर्किंदा आफ्नो सिट पनि उत्तरी दिशातर्फ नै फर्किसकेको हुनाले झन् सजिलो भयो । जति हेर्‍यो, हेरूँहेरूँ लाग्ने मनमोहक शैलकुट ! घरिघरि बादलले छोपिने अनि फेरि देखिने, लुकामारी खेलेजस्तो लाग्दा झनै आनन्दानुभूति हुने । धरतीको आँगनमा सेताम्मे हिउँको बिस्कुन सुकाएजस्तो लाग्ने मनोहर दृश्य !

‘असाध्यै रमाइलो दृश्य देख्न पाइयो । जिन्दगीकै अविष्मरणीय यात्रा हुने भयो यो’ भन्दै इन्दिरा आफ्नो सिटमा आएर बसिन् । त्यसमा सही थाप्दै मैले क्यामेरा लिएर फोटो खिच्न थालेँ । आफ्नो जोडीसँगै यात्रा गर्दा हुने मिठासको महिमा बेग्लै थियो ।  

फर्किंदा दोलखामा पर्ने गौरीशंकर हिमाललाई बाईबाई गरेपश्चात प्लेन अलि तल ओर्लन थाल्यो । क्रमशः सिन्धुपाल्चोकको चौतारा, काभ्रेको धुलिखेल, नगरकोट, भक्तपुर र अन्त्यमा ललितपुर हुँदै प्लेनले विमानस्थलमा अवतरण गर्‍यो ।  

‘१ घण्टा एकैछिनमा बिते जस्तो लाग्यो’, पेटी खोल्दै यो यात्रामा बिछट्टै रमाएकी इन्दिराले भनिन् । मैले थपेँ, ‘जिन्दगीमा एकपल्ट गर्नै पर्ने यात्रा रहेछ यो । सर्वोच्च शिखर सगरमाथा तथा छरछिमेकी शैलश्रेणीलाई नजिकबाट दर्शन गर्ने धोको पूरा भएकामा उधुम मज्जा आयो ।’  

प्लेनबाट बाहिर निस्किने बेलामा बुद्ध एयरका एक कर्मचारीले हरेक यात्रुलाई माउन्टेन फ्लाइट गरेको प्रमाणपात्र हातमा थमाइदिए । हामी दंग पर्‍यौँ ।

सरकारले पनि राष्ट्रिय पर्यटन रणनीतिक योजना बनाएर माउन्टेन फ्लाइटप्रति अझ धेरै बाह्य तथा आन्तरिक पार्यटकहरूको ध्यान आकृष्ट गर्न सकेमा झनै राम्रो हुने थियो ।

डोमेस्टिक एयरपोर्टको पार्किङ लटमा पर्खिरहेको हिरो होन्डा प्यासनको पानीपेटमा केही लात दिएर हामी एयरपोर्टबाहिर निस्किँदै घरतर्फ हुइँकियौँ । बाइकमा गुडिरहेका भए तापनि हामी आकाशमै उडिरहेका छौँ कि जस्तो भान परिरहेको थियो । नेपथ्यमा नारायाण गोपाल र अरुणा लामाको गीत गुन्जिरहेझैँ लाग्योः

‘हिमालसरि म अग्लिरहेछु, समात समात समात मलाई
बादलसरि म पग्लिरहेछु सम्हाल सम्हाल सम्हाल मलाई ।’