सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान

सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान

लोकसंवाद संवाददाता  |  पर्यटन  |  माघ २३, २०७८

सुर्खेत उपत्यकामा आजदेखि नियमित रूपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका- १४ बयलकाँडा र वडा- १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ ।

कम्पनीका संचालक पदमबहादुर शाहीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट संचालन अनुमति प्राप्त गरिसकेको बताए । प्राधिकरणले शाही मुख्य संचालक रहेको वेलकम प्याराग्लाइडिङ प्रालिलाई १ वर्षको उडान अनुमति दिएको हो । संचालक शाहीले विश्व कीर्तिमानी  प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले उडान भर्ने जानकारी दिँदै प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको उल्लेख गरे ।

समूहमा उडान भर्नेलाई विभिन्न अफर राखिएको छ । ५ जनाको समूहलाई ३ हजार २००, १० जनाको समूहलाई २ हजार ८०० र १० जनाभन्दा बढी आउनेलाई २ हजार ५०० रुपैयाँ तोकिएको छ । उडान शुल्कबाहेक फोटो र भिडियो लिन चाहनेले भने थप १ हजार रुपैयाँ तिर्नुपर्नेछ । प्याराग्लाइडिङमा एक पटकमा २० मिनेटसम्म उड्न सकिनेछ ।

सुर्खेतमा यसअघि २०७० सालमा परीक्षण उडान भए पनि नियमित प्याराग्लाइडिङ संचालन भने हुन सकेको थिएन । अब भने नियमित सेवा प्रदान गर्ने संचालक कम्पनीले जनाएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले पोखराको बाबु एडभेन्चरसँग साझेदारी गरेर उडानका लागि १२ जना चालक सुर्खेत भित्र्याएको छ ।

कर्णालीमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले सेवा सुरु गरिएको संचालक शाहीको भनाइ छ । 'हामीले सुर्खेतमा प्याराग्लाइडिङ उडानका लागि यसअघि पनि प्रयास गरेका थियौँ, दक्ष जनशक्ति अभावका कारण नियमित संचालन गर्न सकेनौँ', उनले भने, 'सुर्खेतको भूगोल र हावापानी प्याराग्लाइडिङका लागि उपयुक्त छ, हावाको बेगमा कुनै समस्या आइपरे आपत्‌कालीन अवतरणको पनि व्यवस्था मिलाइएको छ ।'