नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘सरस्वती पूजा कार्यक्रम’काे आयोजना

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘सरस्वती पूजा कार्यक्रम’काे आयोजना

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ २४, २०७८

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा श्रीपञ्चमी (वसन्त पञ्चमी) का सन्दर्भमा आइतबार ‘सरस्वती पूजा कार्यक्रम’ आयोजना गरियो । प्रज्ञा भवन परिसरमा रहेको सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको मूर्तिमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी सरस्वती पूजा गरिएको हो ।

कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा उषा ठाकुर, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली, डा. देवी नेपाल तथा प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले सरस्वती देवीको मूर्तिमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी सरस्वती देवीप्रति श्रद्धाभक्ति प्रकट गर्नुभएको थियो । यसै गरी प्रज्ञा–प्रतिष्ठानका प्रशासन प्रमुख सुमन अधिकारी, विभिन्न महाशाखा प्रमुख, उपप्रमुख लगायतका कर्मचारी तथा साहित्यप्रेमी महानुभावहरूले सरस्वती देवीको मूर्तिमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

सरस्वती पूजा कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले विद्याकी देवी सरस्वतीको पूजा तथा आराधनाले ज्ञान आर्जनमा बल पुग्नका साथै मानिसमा सत्विचार सिर्जना हुने बताउनुभयो । उहाँले ज्ञानका क्षेत्रमा काम गर्ने कवि, साहित्यकार, कलाकार एवम् समस्त मानिसका लागि श्रीपञ्चमीको विशेष महत्त्व रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्राज्ञ परिषद् सदस्य एवम् सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्तले श्रीपञ्चमीको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । उहाँले विद्याका सबै क्षेत्रमा श्रीपञ्चमीको विशेष महत्त्व रहेको विचार व्यक्त गर्नुभएको थियो ।              

सरस्वती पूजा कार्यक्रममा योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतमले सरस्वती वन्दना पाठ गर्नुभएको थियो । सो अवसरमा कलाकार विकासनाथ योगीले भ्वाइलिन र  सुरेशराज बज्राचार्यले मादल वाद्यवादनसहित वसन्तधुन प्रस्तुत गर्नुभएको थियो ।