कतारमा रहेका नेपालीले अब दूतावासबाटै ई-पासपोर्ट पाउने

कतारमा रहेका नेपालीले अब दूतावासबाटै ई-पासपोर्ट पाउने

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २४, २०७८

कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) सफलतापूर्वक छापिएको छ । आइतबार यसको सफल परीक्षण गरिएको हो । 

विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो ई-पासपोर्ट भएको राहदानी विभागले जनाएको छ । 

सफल परीक्षण भएसँगै ई-पासपोर्टका लागि कतारस्थित नेपाली दूतावासले बुकिङ खुला गरेको छ । ‘सुरुको एक हप्ताका लागि सीमित मात्रामा बुकिङ खोलिएको छ’, विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

अन्य खाडी मुलुक र मलेसियामा रहेका नेपाली नियोगहरूमा ई-पासपोर्टका लागि आवश्यक पर्ने उपकरणहरू पठाइसकिएको विभागले बताएको छ । उक्त सामानहरू जडान हुनासाथ ती दूतावासबाट केही दिनभित्रै ई_पासपोर्ट सेवा सुरु गरिनेछ । 

विभागका अनुसार अहिले अन्य मुलुकहरूमा रहेका नेपाली नियोगहरूमा पनि उपकरणहरू पठाउने कार्य भइरहेको छ । 

नेपालभित्र ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी ४१ स्थानबाट विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ । अन्य जिल्लाहरूमा ३ वटा प्राविधिक टोलीहरूले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालिम प्रदान गर्ने कार्य भइरहेको छ ।