विराट नर्सिङ होममा शल्यक्रियापछि १०० सिकिस्त

विराट नर्सिङ होममा शल्यक्रियापछि १०० सिकिस्त

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७६

विराटनगर । पुस दोस्रो साता विराट नर्सिङ होममा दूरबिनबाट पित्तथैलीको शल्यक्रिया गराएकी झापा, शान्तिनगर ७ की राधा निरौलाको घाउ अझै बिसेक भएको छैन । डा.आरके साबुले राधाको पेटमा चारवटा प्वाल पारेर दूरबिनबाट पित्तथैलीको ढुंगा निकालेका थिए ।

‘शल्यक्रिया गरेको अढाई महिना नबित्दै चारवटै प्वालमा घाउ भयो,’ राधाले भनिन्, ‘चिकित्सकलाई देखाउँदा इन्फेक्सन भयो भनेर फेरि शल्यक्रिया गरियो ।’ त्यसपछि एक महिनासम्म घाउमा ड्रेसिङ गराएको उनले बताइन् ।

‘अहिले फेरि चारवटै प्वालमा गाँठा पलाएको छ,’ उनले भनिन्, ‘चिकित्सकले गाँठामै २० वटा इन्जेक्सन लगाए । एक महिनाको खाने औषधि दिएका छन्, गाँठा हराएको छैन ।’ छातीतिर अरू गाँठा पलाउन थालेको उनले बताइन् । दुई लाख रुपैयाँ खर्च भइसक्दा रोग बिसेक हुनुको साटो झन् दु:ख पाएको उनको गुनासो छ ।

विराटनगर महानगरपालिका ३ की ५५ वर्षीया सीता बस्नेतको पनि राधाकै जस्तो समस्या छ । उनको पनि विराट नर्सिङ होममा असोजमा डा. साबुले दूरबिनबाट पित्तथैलीको ढुंगा निकालेका थिए । ‘ढुंगा निकालेको पाँच महिनापछि घाउ साह्रै दुख्यो,’ सीताले भनिन्, ‘उनै चिकित्सकलाई देखाउँदा भिडियो एक्सरे गर्न लगाए । त्यसले भित्र मासु पलाएको देखाएको छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।