दोस्रो पटक आईसीसी टी- २० विश्वकप खेल्नेमा विश्वस्त नेपाली टिम

दोस्रो पटक आईसीसी टी- २० विश्वकप खेल्नेमा विश्वस्त नेपाली टिम

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २५, २०७८

फिनिसर शरद भेषवाकरले आईसीसी टी- २० विश्वकपको ग्लोबल छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ‘कमब्याक’ गर्दै छन् । यही अवसरमा शरद नेपाली टोलीलाई दोस्रो पटक विश्वकपमा छनोट गराउने योजनामा छन् । उनकै शब्दमा भन्ने हो भने, ‘दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली विश्वस्त छ ।’ 

यसअघि नेपाली टोलीले सन् २०१४ मा ढाकामा विश्वकप खेलेको थियो । त्यसयता टोलीले त्यतिको ठूलो उपलब्धि हासिल गर्न सकेकाे छैन । तत्कालीन कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका छन् । यस पटक टोलीको कप्तानी गर्दै छन् युवा लेग स्पिनर सन्दीप लामिछाने । 

यता, प्रशिक्षकसमेत उनै पुबुदु दासानायके नै छन् । उनकै प्रशिक्षणले तत्कालीन समयमा नेपालले विश्वकप खेलेको थियो । सोही टोलीमा रहेका ज्ञानेन्द्र मल्ल र शरद हाल टोलीकाे साथ छन् । 

प्रशिक्षक पुबुदुले १६ सदस्यीय खेलाडी यसअघि नै घोषणा गरिसकेका छन् । अनुभवी खेलाडी शरद प्रतियोगिताका २ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा हात पार्न सके विश्वकपमा पुग्ने आशावादी छन् । ‘दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली विश्वस्त छ । २ खेलमा हामीले हाम्रो उत्कृष्ट प्रदर्शन दियौँ भने पक्कै छनोट हुनेछौँ’, ३३ वर्षीय दायाँ हाते ब्याटर शरद भन्छन्, ‘यो खेल कमब्याकभन्दा पनि अर्को एउटा खेल खेलेको जस्तो लागेको छ । टिम पनि सन्तुलित छ । सबै खेलाडीहरू युवा छन् । सबै तयार छन् ।’

नेपालले आगामी अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्दै छ । ग्लोबल छनोटमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसहित क्यानाडा, ओमान र फिलिपिन्स छन् । समूह ‘बी’मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन् । 

नेपालले ६ फागुनमा आयोजक ओमानसँग, ७ फागुनमा फिलिपिन्ससग र ९ फागुनमा  क्यानाडाविरुद्ध खेल्नेछ । दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन् । १२ फागुनमा हुने फाइनल खेलका २ प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछन् ।

ग्लोबल छनोटअघि नेपालले २८ माघदेखि ३ देश सम्मिलित टी- २० शृंखला खेल्दै छ, जसअन्तर्गत २८ माघमा ओमान, २९ माघमा संयुक्त अरब इमिरेट्स् (यूएई) र  २ फागुनमा आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

'टाेलीकाे तयारी याेजनाअनुसार नै भइरहेकाे छ'

नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके नेपाली टोलीको तयारी योजनाबद्ध तरिकाले भएको र टोली विश्वकप छनोटका लागि आशावादी रहेको बताउँछन् । ‘अभ्यास योजनावद्ध रूपमा भइरहेको छ । सुरुमा केही चुनौतीको सामना गर्नुपर्‍याे । अहिले सबै ठिक छ । टोलीको तयारी सबै राम्रो छ । मैले चाहेको जस्तै भएको छ ।’ दोस्रो पटक नेपाली टोली हेरिरहेका पुबुदु भन्छन् । 

पावर हिटर लोकेश बम र अलराउन्डर विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । पछिल्ला वर्षहरूमा नेपालले बलिङमा राम्रो प्रदर्शन दिँदै आए पनि ब्याटिङ सुखद् रहन सकेको छैन । तर, यस पटक टोलीले युवा खेलाडीको साथमा राम्रो प्रदर्शन दिँदै आएको छ । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख जस्ता खेलाडी यसका उदाहरण हुन् । 

टोलीका कप्तान सन्दीप सन् २०१४ मा पूर्वकप्तान पारसले खडा गरेको विरासतलाई अगाडि बढाउने जिम्मेवारी आफूसहित टोलीलाई रहेको बताउँछन् । ‘पारस दाइले आफ्नो नेतृत्वमा खेलाएर एउटा विरासत खडा गरेर छाड्नुभएको छ । त्यो विरासतलाई अगाडि लिएर जाने जिम्मेवारी मेरो मात्र होइन, सबै टिममाथि छ । त्यो  सन् २०१४ को विश्वकप खेलेको क्षणलाई फेरि फिर्ता ल्याएर फेरि विश्वकप खेल्ने मेरो मात्र होइन, पूरा नेपाली जनताको चाहना छ ।’ पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी सम्हाल्न लागेका २१ वर्षीय सन्दीप भन्छन् । 

नेपाली टिम 
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम, प्रदीप ऐरी ।